कृषि मन्त्रालयको दैलोमा कर्मचारीको धर्ना

कृषि मन्त्रालयको दैलोमा कर्मचारीको धर्ना

आफूहरुको वृत्ति विकासमा व्यवधान खडा गरिएको जनाउँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन् । 

असार १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले आज पाँचौँ दिन पनि त्यसलाई निरन्तरता दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासमा अवरोध गरिएको उनीहरुको आरोप छ । 

नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोधस्वरुप धर्नामा बसेको धर्नाकारी कर्मचारीहरुले बताएका छन् । मन्त्रालयका कृषि अधिकृत माधव पौडेलकाअनुसार समायोजित प्राविधिक कर्मचारीहरूले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बताए । 

‘हाम्रो कर्मचारीको वृत्ति विकासको हिसावले उपसचिवहरु खासगरी राजपत्राङ्कित द्वितीय श्रेणीका प्राविधिक उपसचिवहरु खालि भइसकेपछि राजीनामा वा अवकाश भइसकेपछि राजपत्राङ्कित तृतीय श्रेणीकाले स्वतः बढुवा हुने अवसर प्राप्त गर्नुपर्ने थियो', पौडेलले भने, 'तर, त्यो अवसर हामीले पाएनौँ । लोकसेवा नियमित रुपमा खुलेन र यसका लागि हाम्रो वृत्ति विकासलाई निरन्तरताका लागि दबाबका लागि आन्दोलनमा छौँ ।'

२०७५ सालको समायोजनपछि कर्मचारीहरुले पटक-पटक आन्दोलन गर्दै आएका छन् । पछिलो समय असार १४ देखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । अदालतले संख्या नै तोकेर बढुवा खोल्न परमादेश दिए पनि कार्यान्वयन नभएको आन्दोलनरत कर्मचारीको गुनासो छ । 

अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि पौडेलले बताए ।
 

टिप्पणीहरू