मगज खुस्केको मान्छेलाई जथाभावी छाड्दा

मगज खुस्केको मान्छेलाई जथाभावी छाड्दा

कहिलेकाहीँ समाजमा अनपेक्षित घटना घट्छन्,  जसलाई नियन्त्रणमा लिन निकै संवेदनशीलता अपनाउनुपर्ने हुन्छ । त्यस्ता घटनाको परिणाम हाँस्यास्पद भयो भने के होला ? 

हिजाे यस्तै देखियो धादिङबेशी बजारमा । अपरान्ह तीन बजेतिर नीलकण्ठ नगरपालिका–३ का नारायणकुमार श्रेष्ठ आफ्नै पसलको काममा व्यस्त थिए । उनले लामो समयदेखि त्रिपुरा पुस्तक पसल चलाउँदै आएका छन् । नारायणको एउटा रातो रङको गाडी (बा १६ च ९१७२) पनि छ,जुन प्रायः आफ्नै पसलअघि पार्किङ गर्छन् । 

हिजो उनी पसलभित्र अत्याधिक व्यस्त भएकोले पार्किङ गरेको गाडीमा खासै ध्यान दिइरहेका थिएनन् । यत्तिकैमा एक जना अज्ञात मान्छेले त्यसभित्र सुटकेश राखेर गायब भए । 

यो कुरा नारायणले करिब आधा घण्टापछि मात्रै थाहा पाए । त्यसपछि अत्तालिँदै प्रहरीलाई बोलाए । 

प्रहरीले पनि टाढाबाटै हेर्यो मात्रै,खोलेन/छोएन । सुटकेश कसले राखेको हो ? किन राखेको हो ? सबैको मनमा प्रश्न उब्जिरहेको थियो । अझ त्यो भन्दा पनि तनाव बढाउने प्रश्न थियो,आखिर सुटकेशभित्र के छ ? हल्ला फैलिएपछि बजारभरिका मान्छे जम्मा हुने नै भए । 

सुटकेशको आवरण शंकास्पद लागेपछि प्रहरीको एउटा टोलीले सेनालाई खबर गर्यो,अर्को टोलीले सुटकेश राख्ने मान्छे पत्ता लगाउन वरिपरिको सिसिटिभी फुटेजहरु हेर्न थाल्यो । 

‘तिमी कहाँबाट आएको हो ?’ 

‘इण्डियाबाट ! ’, ती व्यक्तिले भने । 

डिएसपी मिश्रले फेरि सोधे, ‘यो सुटकेशमा के छ  ?’ 
‘जे पनि हुनसक्छ । गन,पेस्तोल !’, उनकाे यस्ताे जवाफले प्रहरीलाई झन् त्रसित बनायाे।

करिब तीन घण्टापछि सेनाको डिस्पोजल टोली घटनास्थल पुग्यो । त्यतिन्जेल प्रहरीले उक्त क्षेत्र सिल गरिसकेको थियो । स्थानीयलाई टाढा रहेर सतर्क रहन आग्रह गरिएको थियो । बजारका हजारौँ मान्छे त्रसित बनेका थिए। 

यत्तिकैमा गाडीभित्र सुटकेश राख्ने मान्छेलाई पनि प्रहरीले टुप्लुक्क उपस्थित गरायो । ती व्यक्तिलाई मलेखु नजिकै फुर्खेखोलाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । उनले जनआस्थासँग भने,‘उसको नाम र ठेगाना थाहा थिएन, सिसिटिभिमा देखिएको हुलियाको आधारमा तुरुन्त राजमार्गका चौकीहरुमा खबर गयौँ,त्यसैले पक्राउ गर्न सजिलो भयो ।’  

सेनाले डिस्पोजको लागि घटनास्थलको अवलोकन र आवश्यक तयारी गरिरहेको थियो । अलि पर डिएपी मिश्रले सुटकेश राख्ने ती व्यक्तिसँग सोधे, ‘तिमी कहाँबाट आएको हो ?’ 

‘इण्डियाबाट ! ’, ती व्यक्तिले भने । 

डिएसपी मिश्रले फेरि सोधे, ‘यो सुटकेशमा के छ  ?’ 
‘जे पनि हुनसक्छ । गन,पेस्तोल !’, उनकाे यस्ताे जवाफले प्रहरीलाई झन् त्रसित बनायाे।

डिएसपी मिश्रले नरम स्वरमा सोधे, ‘साँच्ची भन त, यो सुटकेशमा के छ ?’ 

‘तपाईंहरुले किन ढिलो गर्नुभएको ? छिटो निकाल्नुस् न सुटकेश,सुटिङ गर्ने ढिला भएन ? मलाई छिटै जानु छ’, ती व्यक्तिले बांगो जवाफ दिए । हाउभाउबाट प्रहरीले अनुमान गर्यो कि उनी मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । 

डेढ घण्टाको अथक प्रयासपछि सेनाले सुटकेश गाडीबाट बाहिर निकालेर डिस्पोज गर्न सफल भयो । अन्ततः सुटकेशभित्र भेटियो,गन्हाउने मैला कपडा, मकैको खोस्टा र चिजबलको खाली खोल । 

यो देखेपछि त्रसित बनेका प्रहरी र सेनाको हाँसो छुट्यो । त्रसित बनेका स्थानीय ढुक्क भए । 

यतिञ्जेलसम्म रातीको ८ बजिसकेको थियो । त्यसपछि प्रहरी ती व्यक्तिको नाम र ठेगाना पत्ता लगाउन कस्सियो । उनी रहेछन्,धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय सुनिल तिमल्सिना । मानसिक सन्तुलन गुमाएर सडकमा यत्तिकै हिँड्ने गरेको । डिएसपी मिश्रका अनुसार उनको घरमा वृद्ध भएका बुबा-आमा पनि छन्,तर हिँडडुल गर्न सक्दैनन्।प्रहरीले सम्भावित घटना र क्षतिलाई नियन्त्रणमा लिन प्रोटोकलको लागि सेनाको डिस्पोजल टोलीलाई बोलाएको मिश्रले बताए । तर अहिले उक्त घटनालाई सम्झिदा आफै पनि बेवकुफ बनेको उनी ठान्दछन् । ‘हुन त हाम्रो कर्तव्य हो,अवस्था निकै भयभित थियो,प्रोटोकलको लागि डिस्पोजल टोली बोलायौँ’, उनले घटनाको समीक्षा गर्दै भने, ‘तर त्यो मान्छेले हाम्रो पसिना छुटायो ! के गर्नु, हान्नु भएन,पिट्नु भएन त्यस्तो मान्छेलाई !’

 

टिप्पणीहरू