रुसी राष्ट्रपतिको अर्को विदेश यात्रा, चिनियाँ समकक्षीसँग भेटवार्ता

रुसी राष्ट्रपतिको अर्को विदेश यात्रा, चिनियाँ समकक्षीसँग भेटवार्ता
सुन्नुहोस्

चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच कजाखस्तानको राजधानी अस्तानामा स्थानीय समयअनुसार हिजो छलफल भएको हो । 

भेटमा उहाँहरुले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप कसिलो बनाउँदै विकास रणनीति र अन्तर्राष्ट्रिय रणनीतिक समन्वयकारी भूमिकालाई अघि बढाउने सहमति गरेको सिसिटिभी प्लसले जनाएको छ ।

उहाँहरु सांघाई सहयोग संगठनको २४ औं शिखर सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएको हो । भेटको क्रममा चिनियाँ राष्ट्रपति सिले रुसलाई ब्रिक्सको आगामी अध्यक्ष मुलकको नाताले निर्वाह गर्नुपर्ने भूमिकामा पूर्ण सहयोग दिने वचन दिनुभएको जनाइएको छ । नयाँ शीतयुद्धबाट विश्वका साना तथा कम विकसित मुलुकहरुलाई जोगाउने कार्यमा दुबै मुलुकले सहकार्य गर्ने जनाइएको छ । रुस यो वर्ष ब्राजिल,रुस,भारत,चीन र दक्षिण अफृका सम्मिलित संगठन ब्रिक्सको अध्यक्ष मुलुक हुँदैछ ।

उहाँहरुबीच यसअघि चीनको राजधानी बेइजिङ र रुसको राजधानी मस्कोमा पनि भेट भएको थियो । पुटिनले गत मेमा चीनको राजकीय भ्रमण गर्नुभएको थियो भने सिले अघिल्लो वर्षको मार्चमा मस्कोको ।

पुटिन गत महिना उत्तर कोरियाको राजकीय भ्रमणपछि भियतनाम पुग्नुभएको थियो । 

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू