कमरेडहरूका प्रत्येक हिसाब बालकोटमा

कमरेडहरूका प्रत्येक हिसाब बालकोटमा
सुन्नुहोस्

एमाले अध्यक्ष केपी ओलीलाई कसरी मान्छे मन पर्न छाड्छ ? यसका रोचक प्रसंग छन् । जतिबेला झलनाथ खनाल एमाले अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला ओली–झलनाथ तिक्तताले चरम रूप लिएको थियो ।

त्यहीबेला सुरेन्द्र पाण्डेले ओलीविरुद्ध १२ बुँदे अभियोगपत्र केन्द्रीय कमिटी बैठकमा पेश गरे । ओली नेतृत्वको मदन भण्डारी फाउण्डेशनले भारतीय सहयोगको पैसा ल्याएकोलगायत बुँदा त्यसमा थियो । ओलीविरुद्ध लगाइएको आरोप सुनेपछि ‘हाट्टहुट्टे’ स्वभावका केन्द्रीय सदस्य कर्ण थापाले सहनै सकेनन् । हिर्काऊँ, बैठकमै मिल्दैन । नहिर्काऊँ, सहिसक्नु भएन । यसपछि ‘ग्वाँ–ग्वाँ’ रुन थाले ! यसबापत पुरस्कृत पनि भए । र, (०७०) को चुनावमा अनेकन दावेदार हुँदाहुँदै एक सीट रहेको बाजुराबाट टिकट पाए । उद्योगमन्त्री नै भए ।

बैठकमा ओलीका निम्ति ‘ग्वाँ–ग्वाँ’ रुँदै र उहाँकै निम्ति अनेकन मानिससँग धक्कामुक्का गरेर हासिल भएको उक्त अवसर धेरै टिकेन । अर्थात्, ओलीलाई मान्छे मन पर्न छाडेपछि के हुन्छ भन्ने कुराको उदाहरण पनि कर्ण थापा नै हुन् । एकदिन टेलिभिजनको समाचार सुनेर थाहा पाए, आफू मन्त्री पदबाट बर्खास्तीमा परेको । त्यसपछि उक्त मन्त्रालयमा ओलीको रोजाईअन्तर्गत छिरे महेश बस्नेत । जहाँ गयो, त्यहीँ हुलका हुल युवा जम्मा पारी मोटरसाइकल र्‍याली निकालिदिने, ‘ओली बा– हाई हाई’ भन्दै नारा घन्काइदिने । त्यसो त यही प्रसंगमा झलनाथ पनि कम्ती व्यक्तिवादी देखिएनन् । कर्णसँगै पर्यटन मन्त्रीबाट झलनाथका बहिनी ज्वाइँ नाता पर्ने केन्द्रीय सचिव भीम आचार्य हटाइए, उनको सट्टा स्वकीय सचिव दीपक अमात्य मन्त्री बनाइए । 

ओलीले काखैमा च्याप्नुभएका कर्णलाई मन्त्रीबाट हटाउनुको कसुर थियो, पैसामा आशक्ति । मन्त्री भएपछि भेट्न गए जति व्यापारीसँग सीधै माग्ने । छोरालाई आठ–दश मान्छेको साथमा अमेरिका पठाई प्रतिव्यक्ति २५ लाख रूपैयाँ लिएको सुनेपछि ओलीको मन भाँडियो । फलतः अपमानजनक शैलीमा मन्त्रीबाट हटाइए ।

अब ओलीको कोपभाजनमा पर्नसक्ने अर्का पात्र हुन्, भर्खरै राष्ट्रियसभा अध्यक्षको ६ वर्षे कार्यकाल सिध्याएका गणेशप्रसाद तिमल्सिना । इतिहास पल्टाउँदा बेनीबहादुर कार्की, डा.मोहम्मद मोहसिनजस्ता दिग्गज राजनीतिज्ञलाई पदासीन गराइँदै आएको राष्ट्रियसभा अध्यक्षजस्तो पदमा पर्वत जिल्लाको जिविस सभापति भएका गणेशलाई माया गरेरै ओलीले अध्यक्ष बनाउनुभयो । तर, अहिले शंकर पोखरेल र विष्णु रिमालसँग खुलेरै ओलीले भन्ने गर्नुभएको छ, ‘उसले केही तल–माथि गरेको छ । मैले थाहा पाइसकेँ ।’ संवैधानिक अंगमा नियुक्त भएका र अहिलेसम्म सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकै सन्दर्भसँग हो, गणेशको मामिला गाँसिएको । नाम समावेशी आयोग, आयुक्तचाहिँ बाहुनै बाहुन कसरी भए ? यस्तो प्रश्न पनि व्यापक रूपमा उठ्यो ।

यसैमा हो, गणेशले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेरसँग मिलेर हँमा हँ मिलाएको । सर्वोच्चका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिम्सिना गणेशका नाता पर्ने, उनी अध्यक्ष र सहोदर भाइ पुष्प तिमिल्सिना पनि समावेशी आयोगको सदस्य । यति त भयो, भयो– पार्टी काममा समेत ओलीले चाहेभन्दा विपरित गर्दै हिँडेपछि गणेशका दिन खराब हुने भएका हुन् ।

ओलीले पर्वतको पार्टी अध्यक्षमा हाल कानुन मन्त्री रहेका पदम गिरी पक्षधर गोविन्द पहाडीलाई जिताउने भूमिका खेल्न अह्राउनुभयो । तर, पर्वत पुगेर गणेशले पदमपाणिलाई उठाइदिए । जित्न त पदम गिरी पक्षका गोविन्दले अर्को पक्ष क्लिनस्वीप नै हुने गरी जिते, तर गणेशको भूमिका ओलीको निर्देशनविपरित हुँदा अहिले आगोमा घ्यु थपेझैँ भएको छ । संवैधानिक पदमा रहँदा पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएका थिए । अब पार्टी काममा फर्किएका छन् । त्यसैले उनलाई केन्द्रीय सदस्य हुँदै कम्तीमा पोलिट्व्युरो सदस्य बनाउनुपर्ने हो । तर, ओली अहिले यसरी रिसाउनुभएको छ कि, मामुली केन्द्रीय सदस्य पनि बन्लान्जस्तो देखिन्न । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू