किनेर पाइने यस्तो सम्मानको के काम ?
कुनै पनि क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेलाई सम्मानस्वरूप ‘अवार्ड’ दिइन्छ । अवार्ड दिनुको उद्देश्य त्यस क्षेत्रमा थप योगदान पुर्याउन प्रोत्साहन गर्नु हो । तर, पछिल्लो समय अवार्ड दिने होडबाजी नै चलेको छ । मुलुकमा बर्सेनि दर्जनौं ‘अवार्ड शो’ आयोजना गरिन्छ । चलचित्र, शिक्षा, बैंक तथा वित्तीय संस्था, पर्यटनसम्बद्ध अवार्ड सबैभन्दा धेरै आयोजना हुने गरेको छ ।
अवार्ड समारोह बढिरहेको छ तर अवार्ड पाउनेले गर्व गर्न सक्ने स्थिति छैन । पैसामा अवार्ड बाँडेको विषय पनि सतहमा आइरहेका छन् । यता, सरकारले बाँडेको अवार्डमा समेत सन्तुष्ट हुन सक्ने अवस्था छैन ।
अवार्ड किनबेचको विषयलाई लिएर बेलाबखत प्रश्न उठ्ने गर्छ । केही वर्षअघि एउटा विदेशी कम्पनीले नेपालमा अवार्ड समारोह आयोजना गरेको थियो । एउटै विधामा दुइटा कम्पनीले अवार्ड पाएपछि विवाद भयो । अनुसन्धान गर्दै जाँदा किनेको खुल्यो ।
हालै मात्र भृकुटीमण्डपमा आयोजित अवार्ड समारोह सरकारले बन्द गराएको छ । स्वीकृतिबिना गर्न लागिएकाले हस्तक्षेप गरिएको हो । विदेशमा आयोजित अवार्ड समारोहमा पनि नेपालीहरू सहभागी हुँदै आएका छन् । शिक्षालय राष्ट्रिय मासिकले केही दिनअघि शिक्षासम्बन्धी अवार्ड समारोह गरेको थियो ।
'यहाँबाट कम्बाेडिया जाँदा पाँच लाख रूपैयाँ बराबर खर्च हुन्छ । एउटा अवार्ड लिन त्यत्राे खर्च गरेर जानु त विदेशबाट पार्सल ल्याउनुसरह भएन र ।'
एक साताको ‘थाइल्याण्ड एण्ड कम्बोडिया एजुकेशन टुर’ र ‘थर्ड इन्टरनेशनल एजुकेशन अवार्ड, २०२४’ मा सहभागी हुन यहाँबाट २८ जनाको टोली त्यता गएको थियो । ३१ जेठमा गएको टोली फर्किएको छ । टुरमा गएकामध्ये २५ जनालाई सम्मान गरिएको जनाइएको छ । शिक्षालयका प्रधानसम्पादक श्याम तण्डुकारका अनुसार तीन वटा विषयलाई ध्यानमा राख्दै अवार्डका लागि योग्य व्यक्ति छनोट गरिएको हो । कुनै पनि अभियोग नलागेको, एउटै पेशामा आबद्ध र शिक्षाप्रति समर्पित व्यक्तिलाई सम्मान गरिएको उनले जानकारी दिए । त्यसका लागि राज्यले नमुना घोषणा गरेका विद्यालयलाई आधार लिइएको उनको भनाइ छ । त्यस्तै, प्याब्सनका पदाधिकारीलाई पनि सम्मान गरिएको उनी बताउँछन् ।
सबै जना आफ्नै खर्चमा गएको तण्डुकारले बताए । ‘हाम्रो साथीहरू हुनुहुन्थ्यो । उहाँहरूले नै टुरको व्यवस्थापन मिलाउनुभएको हो । त्यहाँका विद्यालयमा नेपाली विद्यार्थी पनि अध्ययन गर्नुहुन्छ । थाइल्याण्डमा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीको भ्रमण गर्यौँ । उहाँहरूले त्यहाँ खाने–बस्ने व्यवस्थापन मिलाउनुभएको थियो । टुरको खर्च सबै जनाले आफैं व्यहोर्नुभएको हो’, उनले भने ।
सो टोलीमा नेपाल सरकारका उपसचिव गेहनाथ गौतम पनि थिए । त्यस्तै, कम्बोडियाका फ्यासिलिटेटर प्रोफेसर डा. श्रीरामभगत् माथे, कम्बोडियाका एनआरएनए अध्यक्ष लालसिंह खड्कालगायत भ्रमणमा सहभागी थिए । उपसचिव गौतमले भने आफू औपचारिक रूपमा नगएको बताए । ‘म फर्मल्ली सहभागी भएको होइन । आफ्नै खर्चमा गएको हुँ’, उनले भने । यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अवार्ड समारोहबारे केही जानकारी नभएको जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारी भन्छन्, ‘अवार्ड समारोहबारे मन्त्रालयलाई कुनै जानकारी गराइएको छैन । गौतम जानुभएकोबारे पनि थाहा भएन ।’ विदेशी भूमिमा भव्य रूपमा भएको अवार्ड समारोहको विषयमा सरोकारवाला निकायलाई नै जानकारी नहुनु आश्चर्यजनक छ । जसकारण सो अवार्ड समारोह पनि अवैधानिक त होइन ? भन्ने प्रश्न खडा भएको छ ।
समारोह सञ्चालनको मापदण्ड के ?
काम गर्नलाई हौसला प्रदान गर्ने भएकाले अवार्ड समारोह हुनु सकारात्मक छ । अवार्ड वितरण सधैँ पारदर्शी हुनुपर्छ । पहिले–पहिले अवार्डको निकै मान्यता हुन्थ्यो । रौनकता पनि आउँथ्यो । अवार्ड पाउनेको चर्चा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा हुन्थ्यो । अवार्डले मानसम्मान दिलाउँथ्यो ।
अहिले अवार्ड पाउनेले नै त्यसको कदर गरेको पाइँदैन । जसकारण अवार्ड देखावटी फेसन बनेको महसुस हुन्छ । राम्रोलाई भन्दा पनि हाम्रोलाई अवार्ड दिने गरेको गुनासो बढेको छ ।
यता, अवार्ड समारोह सञ्चालनको मापदण्ड कहीँ–कतै उल्लेख भएको पाइँदैन । जसले गर्दा यो कार्यक्रम अमर्यादित र बद्नाम बनेको छ । मापदण्ड नहुँदा आयोजकले अवार्ड समारोहको नाममा मनोमानी गर्न थालेका छन् । अवार्ड पाउने ‘क्राइटेरिया’ के ? उसले अवार्ड पाउन कस्तो योगदान पुर्यायो ? समाजमा त्यसले कस्तो खालको प्रभाव पार्यो ? यी विषयमा अध्ययन नगरिकन हचुवाको भरमा अवार्ड वितरण भइरहेको छ ।
एक सरकारी अधिकारीका अनुसार अवार्ड समारोहका लागि सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । ‘यसका लागि ठ्याक्कै यो मापदण्ड भन्ने त छैन । अवार्ड के सम्बन्धमा हो, सम्बद्ध मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । शिक्षा हो भने शिक्षा मन्त्रालय, पर्यटनसम्बन्धी हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आइटीसम्बन्धी हो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्छ’, ती अधिकारीले भने ।
मानव तस्करीको भय
सांगीतिक कार्यक्रमको बहानामा विदेशी भूमिमा लगेर बन्धक बनाएको खबरहरू बेलाबखत सार्वजनिक भइरहेको हुन्छ । अवार्ड कार्यक्रमको नाममा पनि त्यस्तै बेथिति मौलाउने त होइन भनेर चिन्ता प्रकट गर्न थालिएको छ । कम्बोडिया र थाइल्याण्डमा नेपालीलाई बन्धक बनाएको घटना धेरै आइरहेको हुन्छ । आकर्षक रोजगारीको प्रलोभनमा भिजिट भिसामा कम्बोडिया र थाइल्याण्ड पुर्याएर नेपालीलाई बन्धक बनाउने गरिन्छ । कम्बोडियाको आगलागी घटनामा परेर गत वर्ष एक जना नेपालीको ज्यान गएको थियो । नेपाली युवालाई भिजिट भिसामा कम्बोडिया पुर्याएर ‘मानव दास’ का रूपमा बिक्री गरिन्छ । त्यसैले विदेशमा यस्ता कार्यक्रम गर्दा प्रश्नको ओइरो लाग्ने गरेको छ ।
अवार्ड कि पार्सल ?
अवार्डको नाममा ठगीधन्दा मौलाएको व्यापक गुनासो छ । अवार्ड विदेशबाट पार्सल ल्याउनुसरह भएको जानकारहरू बताउँछन् । विदेश जाँदा हुने लाखौंको खर्चले मोल तिरेर अवार्ड किनेझैं भएको उनीहरूको जिकिर छ ।
‘अवार्ड भन्ने कि पार्सल ! यहाँबाट कम्बोडिया जाँदा पाँच लाख रूपैयाँ बराबर खर्च हुन्छ । एउटा अवार्ड लिन त्यत्रो खर्च गरेर जानु त विदेशबाट पार्सल ल्याउनुसरह भएन र !’, एक अधिकारकर्मीले भने । त्यस्तै, अवार्ड लिन जानेले रकम कताबाट जुटाए ? यसको पनि छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
भारतीयको सिको सिक्दै नेपाली
बलिउडमा अवार्ड खरिदबिक्री भएको व्यापक सुनिन्छ । यता, शिक्षासम्बद्ध अवार्डसमेत किनबेच हुने गरेको बताइन्छ । भारतमा दर्ता नभएको एक विश्वविद्यालयले ५१ हजार नेपाली रूपैयाँ लिएर ‘मानार्थ पिएचडी’ बाँड्न लागेको खुलेपछि शिक्षा मन्त्रालयले रोक लगाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले सो कार्यक्रममा प्रतिबन्ध लगाएकी हुन् । पर्यटन बोर्डको हलमा गर्न लागिएको उक्त कार्यक्रममा अनपढलाई पनि मानार्थ पिएचडी दिन लागिएको थियो । यता, सो विश्वविद्यालयले शिक्षा मन्त्रालयबाट पनि स्वीकृति नलिएको पाइएको छ । नेपालका विभिन्न निजी संघसंस्थाले पनि सो सिकिरहेको देखिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू