भाउजूको भनसुन त कति हो कति !

भाउजूको भनसुन त कति हो कति !

मर्मतका लागि पठाइएको नेपाली सेनाको एउटा हेलिकप्टर ( एनए– फिफ्टी सिक्स) मुम्बईको बन्दरगाहमा वर्ष दिनदेखि अलपत्र छ भने फिफ्टी सेभेनलाई पनि त्यसरी नै कुदाउन ठिक्क पारिएको छ । रुसनिर्मित एम आई १७ हेलिकप्टर भारतमा लगेर मर्मत गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजुले विशेष भूमिका निभाएको चर्चा छ ।

निर्माता रुसी कम्पनीको आफ्नो कुनै जिम्मेवारी नरहने चेतावनीका बाबजुद हेलिकप्टर खोलखाल पारी ट्रकमा हालेर लगिएको थियो । सो हेलिकप्टर मर्मत कार्यको रेखदेख गर्न गएका सेनाका हवाई इञ्जिनियर चिफ राजेश शाह र सुमितजंग शाहलाई होटेलमा राखेर तिमीहरूको ड्युटी सकियो भन्दै फर्काइएको थियो । उनीहरूलाई मर्मत गर्ने कारखानामा सेक्युरिटी रिजनले गर्दा लैजान नसक्ने, जान नमिल्ने भन्दै हेर्न जान नदिइएको बताइन्छ ।

हेलिकप्टर निर्माता रसियन कम्पनीले भने मर्मतका लागि सम्झौता गरिएको भारतीय कम्पनी रबिन्सन आफ्नो आधिकारिक एजेन्ट नभएकोले केही तलमाथि भए जिम्मेवारी नहुने पत्र पठाएको थियो । पहिलो खेपमा लगिएको भारतीय कम्पनी रबिन्सनमा विवाद आयो भन्दै भोल्गा कम्पनी खडा गरी थप हेलिकप्टर लैजाने प्रयास भइरहेको बताइन्छ । अब त झन् गठबन्धन फेरिएपछि यसरी सेनालाई सिध्याउन सहज हुने नै भयो । हेलिकप्टर मर्मत गर्ने भनिएको भारतीय भोल्गा कम्पनीले मार्केटिङ् मात्रै गर्ने अथोरिटी राख्छ । अघिल्लो रबिन्सन कम्पनीसँग पनि अथोरिटी नभएकाले अर्कै कम्पनीलाई मर्मतको जिम्मा दिइएको थियो । यसरी एउटा गलत कामलाई लुकाउने र ढाँट्ने क्रममा अझ धेरै गलत हर्कत नेपाली सेनाभित्र देखिन थालेका छन् ।

अहिलेका रक्षामन्त्री हरि उप्रेतीले रोक्ने प्रयास गरे पनि पहिलेकै क्याबिनेटले निर्णय गरेको कारण रोक्न सक्ने अवस्था नरहेको उनैको कथन छ । पहिलो खेपमा पठाइएको हेलिकप्टर मर्मत गर्न ४२ करोड रुपैयाँमा सम्झौता भएको थियो भने अहिले खोलखाल गरी पठाउने तयारी गरिएको हेलिकप्टरका निम्ति ७५ करोड भारतीय रुपैयाँमा सम्झौता भएको बुझिएको छ । 

यो सम्झौताको विरोधमा जर्नेल अशोक सिग्देल देखिएकाले पनि उनीमाथि दवाव सिर्जना गर्न अहिले जन्ममिति प्रकरण सतहमा ल्याइएको एक थरीको टिप्पणी छ । चारैतिरबाट दवाव बढ्दै गएपछि प्रधानसेनापति प्रभुराम शर्मा अबको नेतृत्व लिन तयार अशोकसँग मैले जति गर्न सक्थेँ गरेँ, अब तिमी आफैँं फेस गर भनी टक्टकिएको अवस्था छ । कथंकदाचित सिग्देल प्रधानसेनापति हुन नसक्ने अवस्थामा निर्मल थापा पनि विवादमा तानिने पक्का छ । उनको शैक्षिक प्रमाणपत्र बिहारबाट ल्याइएको हो । नेपालमै अध्ययन रहेको बखत उनले भारतको बिहारबाट इन्टरमिडियट कक्षा पास गरेको प्रमाणपत्र पेश गरेको अवस्था छ । २०३९।२०४० सालतिर उनी अमृत साइन्स क्याम्पसमा अध्ययरत थिए । त्यसैबखत भारतमा पनि अध्ययनरत रहेको देखिन्छ । थापाको शैक्षिक प्रमाणपत्र सञ्जयसिंह भण्डारीको जस्तै हो । 

भण्डारी एनडिसीमा छनोट हुने बखत पूर्णचन्द्र थापा सेनाका ट्वाइसी र छनोट समितिका अध्यक्ष थिए । उनले भण्डारीको अनलाइन डिग्री भएको आरोप लगाउँदै छनोट गर्न अस्वीकार गरे । यस्तो आरोप लागेपछि उनले त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयबाट पत्र लेखाएर डिग्री फर्जी नभएको दाबी गरे । यो दाबीपछि थापा रिसाए । र, बढुवाको सिफारिस गरेनन् । त्यसपछि आफ्नै पल्टन कालीबहादुरका पुराना हाकिम रमिन्द्र क्षेत्रीलाई दुखेसो पोखे । भण्डारीको कुरा सुनेपछि क्षेत्रीले आफ्ना भाइ तत्कालीन प्रधानसेनापति राजेन्द्रलाई नाम थप्न लगाए । बढुवा बोर्डले सिफारिस नगरेको नाम पनि थपिएर आएपछि थापा झनै आगो भए । यसैको इख साँधेर बसेका उनले आपूm प्रधानसेनापति हुनासाथ भण्डारीलाई घरतिरको बाटो तताइदिए । 

थापाले जागिरबाट निकालेपछि सोल्टी होटलमा आयोजित एक कार्यक्रममा जम्काभेट हुँदा भण्डारीले ‘सलाम’ नगरेर रिस फेरेको बताइन्छ । बढुवा समितिको अध्यक्ष आफूं हुने, आफैँं सिफारिस गर्ने तर पत्र लेख्न लगाउने गौरवसमशेर जबराले आफू प्रधानसेनापति हुनेबित्तिकै सैनिक सचिव प्रेमप्रकाश थापा मगरलाई बर्खास्त गरेका थिए । जबकि त्यसको भागीदार त सिफारिस गर्ने बढुवा समिति वा त्यसको अध्यक्ष हुनुपर्ने थियो । त्यसको मुख्य कारण छत्रमानसिंह गुरुङ प्रधानसेनापति भएको बेला प्रेमप्रकाश सैनिक सचिव .हुनु हो । त्यसबेला नटेरेको भन्दै इगो राखेर थापा मगरलाई बर्खास्त गरिएको चर्चा अहिले पनि चल्ने गरेको छ । उनी बर्खास्तमा नपरेको भए सेनापति हुने लाइनमा थिए । यस्ता असंगत कामले गर्दा आजकल नेपाली सेनाभन्दा बढी प्राइभेट आर्मी भन्दै व्यङ्ग्य कस्न थालिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू