माओवादीलाई सत्ताको बोसो घटाउने अवसर

माओवादीलाई सत्ताको बोसो घटाउने अवसर

– मनऋषि धिताल

अन्ततः एमाले नेता ओलीले धोका दिए । त्यो हामीलाई अनौठो र आश्चर्य लाग्ने कुरा थिएन । जुनसुकै अवस्थामा पनि उनले क्रान्तिकारी शक्तिलाई दुर्घटनाको नजिक पुर्‍याउँछन् भन्ने प्रष्टै थियो । केही वर्षअघिको पार्टी एकता र भुइँ तहका कार्यकर्तासम्म पुगेको सद्भाव पछिल्लो गठबन्धनबाट बढेको थियो । इमान्दार कम्युनिष्ट समर्थक, शुभचिन्तक र कार्यकर्ता फेरि एउटा बिन्दुमा एमालेसहित एकीकृत कम्युनिष्ट पार्टी निर्माण होस् र दुई तिहाइभन्दा बढी  नेपाली वामपन्थी जनमतले देशको शासन सञ्चालन गर्ने अवसर आओस् भन्ने कामना र प्रतीक्षा गर्दै थिए ।

तर, शीघ्र सत्तामोह भएका र ०६२/६३ सम्मको क्रान्तिका केही उपलब्धिलाई जसरी हुन्छ सखाप पार्ने कसम खानुभएका नेता ओलीले जे गर्नुभयो त्यो कुनै नयाँ काम होइन । अब हामी क्रान्तिकारीहरूले अर्को आन्दोलन, त्याग र बलिदानको लागि तयार हुनुपर्ने प्रष्टै देखियो । पहिले नै गर्भाधान भएको र सोमबारदेखि सतहमा आएको नयाँ (खासमा नयाँ होइन)समीकरणपछि अब माओवादी अध्यक्ष प्रचण्डले रोल्पा गएर केही दिन चुपचाप बसी सोमबारको प्रभातकालीन चियापानसम्मको सम्यक् समीक्षा गर्नुपर्छ र क्रान्तिकारीबीचको एकता, ध्रुवीकरण वा नयाँ आन्दोलनको खाका कोर्नुपर्छ ।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनु र क्रान्तिका उपलब्धि मास्ने गरी संविधान संशोधनको योजनासमेत बनाउनु नयाँ परिवेशको ०५२ अघिको जस्तै परिस्थिति आउनु पनि हो । र , यो हाम्रालागि पूर्णतः प्रतिक्रान्ति थोपर्ने अन्तिम परियोजना हो । उनीहरूले अब जनयुद्धको तयारी तथा जनयुद्धकालका मुद्दासमेत उठाएर फेरि दमनको नीति लिन्छन् र परिस्थिति प्रतिकूल भएको हिसाब गरेर शान्ति प्रक्रियाका बाँकी कामलाई झन् बल्झाउँदै जानेछन् । बल्झाउने मात्रै होइन दमन र प्रतिशोधको नीति लिनेछन् । अब जनयुद्ध र पछिल्ला सबैखाले जनआन्दोलनको उपलब्धिको सार तत्वलाई ‘सेबोटेज’ गरेर नाम मात्रको ‘गणतन्त्र’ राख्ने र क्रान्तिकारी राजनीतिक नेता र जनतामाथि षड्यन्त्र र दमनको नीति लिइने पक्का छ ।

उनीहरूले जनयुद्ध, जनआन्दोलन र नयाँ संविधान बनेपछिको डिजिटल जागरणबाट पैदा भएका नयाँ राजनीतिक शक्तिलाई राजनीतिको मूलप्रवाहबाट किनारातर्फ धकेल्ने मात्रै होइन, सिध्याउने योजना बुन्नेछन् । ०६२÷६३को राजनीतिक परिवर्तन अघिल्ला विभिन्न मोडमा कहिले आ–आफैँ त कहिले सामन्ती राजतन्त्रसँग मिलेर जनदमन गर्ने अनुभव भएका दुई ठूला पार्टीको अबको राजनीतिक मार्गचित्र फेरि त्यही पुरानै हुने निश्चित छ ।

यो एमाले–कांग्रेस गठबन्धनको परिस्थिति निर्माण प्रचण्ड सरकारको सुशासन र विकासको अभियान नै हो । विशेष गरी सुशासनमा भ्रष्टाचारविरुद्धको अभियान उनीहरू दुवैको दैलोमा पुग्नै आँट्दा यो गठबन्धन निर्माण भएको छ । सत्तामोह र आफ्ना काण्डैकाण्डबाट बच्न रवि लामिछाने पनि उनीहरूसँगै हुन्छन् । राजनीतिमा गहिरो सैद्धान्तिक अन्तर भएको बताउन चाहने संसदका पहिलो र दोस्रो दल मिलेर तथाकथित ‘स्थिर’ कार्यपालिका गठनको तयारी गर्नु, क्रान्तिअघिको न्यायपालिकाको मुख्य भूमिकामा रहेर क्रान्तिका उपलब्धिलाई स्वीकार नगर्ने व्यक्तिलाई संविधान संशोधन गर्ने आयोगको संयोजक बनाउने तयारीसमेत हेर्दा फेरि देशलाई द्वन्द्वतिरै लैजाने षड्यन्त्रका साथ यो गठबन्धन बनेको प्रष्टै छ ।

अहिलेको जटिल, कठिन र अविश्वासको परिस्थितिमा क्रान्तिकारीले जनतामा गएर सत्य बोल्ने साहस गर्नुपर्छ र यस बीच सरकारमा रहँदा आफूले गरेका कमजोरी र गर्न नसकेका कामबारे पनि आत्मालोचनासहित जनतामा जानुपर्छ । सत्तामा रहँदा बढेको बोसो घटाउने र नयाँ परिस्थितिअनुसार जनतालाई जागृत गर्ने यो नयाँ अवसर पनि हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू