मोदीले टेकेको नेपाली भूभागमा के गर्ला भारतले
नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग गुञ्जीलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउन माग गरेका छन् । असार ७ गते गुञ्जीक्षेत्रको अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी भएका धामीले दिल्ली पुगेर असार ११ गते मोदीसँग भेटवार्ता गरेका हुन् ।
एक दिनअघि हेलिकोप्टरमार्फत गुञ्जी पुगेका धामीले असार ६ गतेको रात नाभीगाउँको होमस्टेमा बिताएका थिए । अतिक्रमित नेपाली भूमिमा रहेका कुटी, नाभी र गुञ्जी गाउँको वस्तुस्थितिबारे ब्रिफिङ लिएका मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसँग तत्कालै भेटेर यसक्षेत्रको विकासका लागि छलफल गरेका छन् । ‘पिथौरागढ जिल्लास्थित सीमावर्ती गाउँ गुञ्जी (आदि कैलाश क्षेत्र)लाई अन्तर्राष्ट्रिय पर्यटन डेस्टिनेशनको रूपमा विकास गर्न मोदीसँग छलफल गरिएको’ भारतीय पत्रिका हिन्दुस्तान दैनिकले लेखेको छ । असार ११ गते भएको मोदीसँगको भेटमा धामीले उत्तराखण्ड राज्य सरकारले गुञ्जीक्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना तयार गरिसकेको जानकारी पनि दिएका छन् ।
नेपालले लिम्पियाधुरासम्मको क्षेत्रलाई आफ्नो भूमि भएको दाबी गर्दै नयाँ नक्सा प्रकाशित गरेको छ । तर, नेपालले दाबी गरेको समग्र क्षेत्रलाई भारतले अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने तयारी थालेको छ । लिम्पियाधुरा नजिकको आदि कैलाश पर्वत र पार्वती सरोवरसम्म अहिले दैनिक हजारौं तिर्थयात्रीले भ्रमण गरिरहेका छन् । गत असोज २५ गते मोदी यसक्षेत्रमा आएका थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी त्यतिबेला पनि मोदीसँगै गुञ्जीक्षेत्र पुगेका थिए ।
मोदीकै निर्देशनमा गुञ्जीक्षेत्रको पर्यटकीय विकास गर्न गुरुयोजना तयार गरिएको चर्चा छ । कहाँ, कस्तो संरचना बनाउनेसम्मको सुझाव र निर्देशन मोदीले दिएका छन् । सन् १९९० को दशकमा कैलाश–मानसरोवर यात्रा गर्ने क्रममा मोदीले यसक्षेत्रको पैदल भ्रमण गरेका थिए । कालापानीभन्दा केहीमाथि नाभीढाँगबाट दर्शन गर्न सकिने ॐ पर्वतको पर्यटकीय विकासलाई पनि गुरुयोजनामा समेटिएको छ । गुञ्जीबाट २२ किलोमिटरको सडक दूरीमा नाभीढाँग पर्दछ । व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकर गाउँको सिरानक्षेत्रमा रहेको ॐ पर्वतसम्म भारतीय सुरक्षाकर्मीले अतिक्रमण गरेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले कुमाउँ मण्डलमा रहेका ४८ वटा मन्दिरहरूको संरक्षण र विकासका लागि १ हजार करोड रुपैयाँँ उपलब्ध गराउन केन्द्र सरकारसंग माग गरेका छन् । मानसखण्ड क्षेत्रमा पर्ने ४८ वटा मन्दिरमध्ये १६ मन्दिरमा संरक्षण र विकासको कार्य थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आदि कैलाश र ॐ पर्वत दर्शनका लागि हेलिकोप्टर सेवा सञ्चालनको गृहकार्य पनि राज्य सरकारले गरेको छ । धारचुलादेखि गुञ्जी हुँदै जोलिङकाङसम्मको १ सय २५ किलोमिटर लामो सडक निर्माण सम्पन्न भइसकेको छ । अधिकांश ठाउँमा सडक कालोपत्रे भएसँगै अहिले दैनिक ३ सयभन्दा बढी पर्यटक गाडी जोलिङकाङ र ॐ पर्वत दर्शनका लागि पुगिरहेका छन् ।
टनकपुर नजिकको पूर्णागिरी मन्दिरदेखि कुमाउँ क्षेत्रका सबैजसो प्रमुख मन्दिरहरूको एकीकृत विकास गर्ने राज्यसरकारको योजना छ । चीनको तिब्बतमा अवस्थित कैलाश–मानसरोवरसम्मको तिर्थयात्रा २०१९ देखि बन्द छ । कोभिड महामारीले लिपुलेक नाका बन्द भएपछि हालसम्म खोलिएको छैन । चीन र भारतबीच सीमाक्षेत्रको तनाव र सैन्य टकरावले पनि कैलाश मानसरोवर यात्रा खुल्न सकेको छैन । पवित्र कैलाश मानसरोवर यात्राको विकल्पमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुञ्जी क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन थालेका छन् । गुञ्जीसहित सीमाक्षेत्रका आधा दर्जन गाउँहरूलाई समेटेर भाइब्रेन्ट भिलेजको रूपमा विकास गरिँदैछ । सडक, सञ्चार, हवाइ सेवा, खानेपानी, शौचालय, होमस्टे लगायतका क्षेत्रमा भारत सरकारले लगानी गरिरहेको छ ।
गुञ्जी र जोलिङकाङ क्षेत्र जोड्नेगरी उच्च हिमालय क्षेत्रमा सुरुङ निर्माणको अध्ययन पनि थालिएको छ । धारचुला तहसिलअन्तर्गत बुँदी गाउँदेखि गुञ्जीछेउमा नपलच्यु गाउँ जोड्ने करिब ५ किलोमिटर सुरुङ निर्माण हुने चर्चा छ । त्यसैगरी, व्यास घाटी र दारमा घाटी जोड्ने गरी बेदांगदेखि जोलिङजाङसम्मको सुरुङमार्ग निर्माणका निम्ति गृहकार्य भइरहेको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू