ओलीको गाली, भण्डारीको मल्हम

ओलीको गाली, भण्डारीको मल्हम

एमाले अध्यक्ष केपी ओलीले नाम नलिइकन शब्दद्वारा काभ्रे जिल्ला अधिवेशनको उद्घाटनका बेला जेठ २८ गते झापड हानेका गोकुल बाँस्कोटालाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मल्हम लगाएकी छन् । मदन जयन्तीका अवसरमा असार १४ गते धुलिखेलमा आयोजित कार्यक्रममा भण्डारीले बाँस्कोटाको खुलेरै प्रशंसा गरिन् । 

ओलीले केही वर्षअघिसम्म धर्मपुत्रझैँ ठानेर बालकोटको घर जिम्मा लगाएका, आफू प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय सदस्यसमेत नहुँदै पहिलो पटक संसद प्रवेश गरेका बाँस्कोटालाई मन्त्री बनाए । धेरैले त्यतिबेला भनेका थिए– केपी ओलीको भण्डारे । बाँस्कोटाको उचाइ एकाएक उक्सियो । मन्त्री भएपछि उनको कडा बोली, सरकारको प्रतिरक्षा गर्ने शैली तथा कामबाट खुशी नै थिए ओली । धुलिखेल नगरपालिकाको स्थापना दिवसका दिन आएर भने पनि, ‘एकातिर सबै मन्त्री, अर्काेतिर गोकुल बाँस्कोटा ।’

त्यसो भनेकै केही दिनमै बाँस्कोटाले छाडा बोलेको र ७० करोड बार्गेनिङ गरेको टेप कांग्रेसनिकट पत्रकारले सार्वजनिक गरे । र, उनले नैतिकता देखाउँदै राजीनामा दिए । प्रचण्ड र सभामुख अग्नि सापकोटा उनका विरोधी थिए । यसर्थ उनी संसद नपुग्दै  सभामुखले राजीनामा आइसक्यो भनिदिए । अघिल्लो मन्त्रिपरिषद्का केही मन्त्री भ्रष्टाचार आरोपमा पटक–पटक मुछिएका प्रमाण सार्वजनिक हुँदा पनि नैतिकता देखिएन । एमालेका शेरबहादुर तामाङ त्यस्तै बोलीको शिकार बन्न पुगे । बाँस्कोटालाई सिध्याउन सके मात्रै आफ्नो राजनीति सहज देखेका कांग्रेस नेता अहिले चुपचाप छन् । तर, ओली–बाँस्कोटा सम्बन्धमा आएको दरार छरपष्ट भएसँगै जिल्लामा खासखुस बढेको छ । विद्यालाई ल्याएर तुजुक देखाएको भन्दै बाँस्कोटाको आलोचना शुरु भएको छ । 

‘एमाले मिलाउन सकिन’

धुलिखेलमा आयोजित जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती समारोहमा विद्यादेवीले राजनीतिलाई व्यवसायका रूपमा नलिन आग्रह गरिन् । ‘मैले राष्ट्रपति हुँदा एमालेभित्रको विवाद मिलाउन प्रयत्न गरेँ । त्यो एमालेका लागि थिएन, राष्ट्रका लागि थियो । तैपनि सम्भव भएन । किन झगडा गर्नु ? घरभित्रको झगडा । पार्टीभित्रको झगडाले देशलाई फाइदा पुर्‍याउँदैन । राजनीति कुनै व्यवसाय नभएकाले जनताद्वारा अनुमोदित हुनुपर्ने व्यवस्था छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘आत्मकेन्द्रित भएर नसोचौँ । राष्ट्रकेन्द्रित भएर सोचौँ । एमाले पटक–पटक विभाजन भएर देशलाई घाटा लागेको छ ।’ 

‘मदनको बिर्सिएको बर्थडे’

४१ वर्षको हुनुहुन्थ्यो मदन । ०४८ साल असार १५ गते । दही–चिउरा खाने दिन । अहिले सरकारले त्यस दिनलाई धान दिवसका रूपमा मनाउने गरेको छ । कान्छी छोरी निशाकुशुम भण्डारीको जन्मदिन असार १५ गते हो । छोरी कराउँदै आइन् र भनिन्– मेरो जन्मदिन मनाइदिनुपर्‍यो । त्यतिबेलासम्म जन्मदिन मनाउने चलन थिएन । भर्खरै निर्वाचन सकिएको थियो । मदनले काठमाडाैँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र ५ बाट जित्नुभएको थियो । पहिला काठमाडाैँमा ५ वटा क्षेत्र थिए । अहिलेको संरचनाले पहाडमा निर्वाचन क्षेत्र घटेर तराई र काठमाडाैँमा बढेको छ । निर्वाचनमा लामो समय खटेका कार्यकर्ता र स्वयंसेवकलाई घरमा बोलाएर एक दिन खाजा खुवाउनुपर्छ भन्ने सोचेको थिएँ । त्योभन्दा अघि कहिल्यै मदनको जन्मदिन थाहा थिएन । नागरिकता पनि हेरेको थिइन । मागिविवाह हो । खास सोधखोज पनि गरिएन ।

चुनावका बेला नागरिकताको फोटोकपी पेश गर्नुपर्ने रहेछ । तैपनि, जन्मदिन कहिले हो ? थाहा थिएन । न्वारानको नाम मोतीलाल भण्डारी रहेछ । पछि थाहा पाएँ । मैले छोरीको जन्म दिनको अवसर पारी एकै दिन सबैलाई साँझ घरमा बोलाएँ । हामी सबै खुशी थियौं, यस्तैमा मदनले जिस्कँदै व्यंग्य गरेर भन्नुभयो– ‘मेरो पनि हिजो जन्मदिन थियो, कसैले मनाइदिएन ।’ साथीहरू नेपालमै पहिलो पटक ब्रह्माको मूर्ति बनाएका छौं, आइदिनुप¥यो भन्न थाल्नुभयो । सहभागी भएँ । भूकम्पताका पार्टीले दिएका विभिन्न जिम्मेवारीमा सक्रियतापूर्वक काम गरेको थिएँ । मैले दायित्व भुलेको छैन । भर्खरै एमालेको निर्वाचन भएको थाहा पाएँ । निर्वाचितहरूलाई बधाई । एमालेविरुद्धको गठबन्धन हुँदा पनि गोकुल बाँस्कोटाले जित्नुभयो । उहाँलाई बधाई । बाँस्कोटाले जिल्लाका लागि पुर्‍याएको योगदान धेरै छ । 

२०५० असार १४ गते पहिलो पटक मदनको जन्मजयन्ती मनाइयो । बाँचुञ्जेल जन्मोत्सव नमनाएको मदनको जन्मजयन्ती त्यही बेलाबाट शुरु भयो । काठमाडाैँ महानगरपालिका–१ मा गमलामा ४१ वटा विरुवा रोपण गरियो । पछिल्लो वर्ष बल्खुस्थित एमाले केन्द्रीय कार्यालय निर्माणका लागि खरिद गरिएको जमिनमा ईश्वर पोखरेल र प्रदीप नेपालसहितको व्यवस्थापनमा वृक्षरोपण गरिएको थियो । यस अवसरमा विविध कार्यक्रम आयोजना गरेकोमा काभ्रे जिल्लालाई धन्यवाद !

एमाले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा असार १४ गतेलाई राष्ट्रिय दिवस घोषणा गरी हरेक वर्ष वृक्षरोपण गर्न थालिएको छ । मदन भण्डारीको जन्मजयन्तीसँग यसको सम्बन्ध छ कि ? जस्तो लाग्छ । हुन त यस विषयमा कुराकानी भएको छैन तर मेरो मनले त्यही भन्छ । असार १४ राष्ट्रिय वृक्षरोपण । उहाँको निधनपछिको पहिलो वर्ष वृक्षरोपण गरेर मनाउन शुरु गरिएको थियो । 

केन्द्रीय सदस्य रेशम लामाको समूह कार्यक्रममा सहभागी भएन । तर, अध्यक्षमा उठेर पराजित भएका चन्द्र लामाको सबै समूह सामेल थियो । 

टिप्पणीहरू