एउटा हातमा विदेशको राहदानी, अर्काेमा नेपालकाे आम्दानी
यौनकाण्ड, दोहोरो नागरिकता प्रकरण, भाडामा बसेको घरै जलाइदिएका पर्वतारोही निर्मल पुर्जा (निम्स) फेरि अर्काे बदमासीमा मुछिएका छन् ।
विश्वका १४ वटा उच्च हिमाल आरोहण गरेर कीर्तिमान राखेका पुर्जाले गत १३ जेठमा सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक सञ्जाल इन्स्ट्राग्राममा भिडियो पोष्ट गरे । उक्त भिडियोमा बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको दाबी गरिएको छ । ‘टाँगिएको डोरी बाल्कोनी र साउथ समिटबीचको भाग काटियो, जसले गर्दा आरोहणमा समस्या भयो ।’ उक्त सन्देश क्षणभरमै भाइरल भयो । अनि, आरोहणको तयारी गर्दै आधार शिविरमा रहेका मात्र होइन, क्याम्प टुसम्म पुगेकाहरु पनि तनावमा फसे । उनले सोही कारण आरोहीहरु फिर्ता हुनुपरेको उदाहरणसमेत दिए ।
पुर्जाले आरोप लगाएलगत्तै अर्थात् १३ जेठको १२ बजेर ४५ मीनेटमा पायोनियर एड्भेञ्चर प्रालिको टोलीले सफल आरोहण गरेको थियो । पर्वतारोही र पर्यटन विभागले पुर्जाको उक्त दावीप्रति विज्ञप्ति निकालेर आपत्ति जनायो, १४ जेठमा । पुर्जामाथि कारवाही माग गर्दै पर्वतारोहण सञ्चालक संघले कारवाहीको माग गर्यो । शेर्पाहरूले आपत्ति जनाउँदै छानबिनको माग गरे । यसपछि विभागले महानिर्देशक रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनायो । उक्त समितिले दुई पटक स्पष्टीकरण सोध्यो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि प्रहरीसामु बयान गरायो । अनुसन्धानबाट शेर्पाहरूले नभई निम्स पुर्जा आफैँले काटेको पत्ता लागेको छ । विभागले उनलाई पर्वतारोहणमै बन्देज लगाउने गरी सिफारिस गरेको भए पनि उक्त फाइल अगाडि बढाउनबाट रोक्नका लागि पुर्जाले शक्तिकेन्द्र प्रयोग गरिरहेका छन् ।
पर्वतारोहीहरूका अनुसार उनकै लहैलहैमा लाग्दा एक जना क्याप्टेनले जागिरबाट हात धुनुपरेको छ । सगरमाथाको बेस क्याम्प (क्याम्प टु) मा परमिट नलिई हेलिकप्टर लैजान निषेध छ तर पुर्जाले जबर्जस्ती लैजाँदा ती पाइलट निलम्बित छन् । केही वर्षअघि आमदब्लम हिमाल आरोहणका क्रममा पुर्जाले कुवेतको झण्डा फहराएको विषयसमेत विवादित बन्न पुगेको थियो ।
डेढ वर्षदेखि कपनमा टंक घिसिङको घर भाडामा लिएर एलाइट्स एक्सपिडिसन सञ्चालन गर्दै आएका थिए । त्यहाँ हिमाल आरोहणका क्रममा प्रयोग हुने अक्सिजन ग्यासलगायत संवेदनशील सामग्री थिए । उक्त सामग्री बिष्फोट हुँदा कामदारको ज्यान गयो । घर पूर्णतः क्षतिग्रस्त ।
पीडित पक्ष न्याय खोज्दै काठमाडाैँ जिल्ला अदालत पुग्यो । अदालतले पुर्जालाई साढे दुई करोड क्षतिपूर्ति र २० महिनाको घरभाडा १५ दिनभित्र भराउन आदेश दिए पनि आलटाल गर्दै आएका छन् । नेपालको कानुनमा दोहोरो राहदानी प्रतिबन्धित छ तर रवि लामिछानेलाई माथ खुवाउने गरी ०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएको र उक्त पासपोर्ट निष्क्रिय नपारी ०१६ मार्च १५ मा नेपाली पासपोर्टसमेत निकालेको समेत उनलाई चिन्ने र जान्नेहरूले बताएका छन् ।
पुख्र्यौली घर म्याग्दी भएका यिनलाई जोगाउन माओवादी सांसद सुरेश आलेमगर र कल्पना मियाँले संसदमै अभिव्यक्ति दिएको भिडियो हेर्न सकिन्छ । यस्तै सोनाम लाक्पा शेर्पाले केपी ओलीलाई भेटेरै निर्मल पुर्जालाई जोगाउन पहल गरिरहेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनलाई पछ्याउनेको संख्या १ लाख ३४ हजार छ । कसैलाई फलो नगर्ने उनले गंगा दाहाल, नेपाल प्रेससहित आफ्नै कम्पनीका तीन वटा एकाउण्ट मात्रै फलो गरेको देखिन्छ । शेर्पाहरूले भने निम्सलाई कम्तीमा दश वर्ष नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउने माग गर्दै आएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू