प्रचण्डलाई जिल्याएर ओली-देउवालाई जे ले जिताउँदैछ

प्रचण्डलाई जिल्याएर ओली-देउवालाई जे ले जिताउँदैछ
सुन्नुहोस्

नेपालको आन्तरिक राजनीतिमा लामो समयदेखि भारतीय चासो र हस्तक्षेप रहँदै आएको छ । कुनै समय भारतीय प्रतिनिधिलाई क्याबिनेट बैठकमा सिधै सामेल गराउने तहको हस्तक्षेप स्वीकार गर्दै आएको नेपाली राजनीतिका निर्णायक मोडहरुमा अहिले पनि उसको  भूमिकालाई जोडेर चर्चा हुने गर्छ । सत्ता परिवर्तनको पछिल्लो शृंखलामा पनि भारतको हात हुनसक्ने आशंका र अनुमान भैरहेको छ । 

इतिहासलाई फर्किएर हेर्दा नेपालको आन्तरिक मामिलामा भारतले जहिल्यै दोहोरो भूमिका खेल्दै आएको पाइन्छ । एउटा उदाहरण- १० वर्षे जनयुद्धकालमा प्रचण्डलगायत माओवादीका शीर्ष नेताहरु अधिकांश समय भारतमै बसे । टाउकाको मूल्य तोकिएका माओवादी नेताहरुलाई सुरक्षा दिएको भारतीय संस्थापनले यता सरकारलाई पनि ढाडस दिइरहन्थ्यो । अर्को, २०६२/६३ को जनान्दोलनका बेला भारतीय सेनाले खुलेरै राजाका पक्षमा आवश्यक सबै सहयोग गर्ने विश्वास पनि दिलाए । तर, विदेश मन्त्रालय भने शान्ति सम्झौतामार्फत माओवादीलाई मूलधारको राजनीतिमा अवतरण गराउने र लोकतन्त्र बहालीका लागि चलेको आन्दोलन सफल बनाउने पक्षमा उभियो । नेपालको कर्मचारी संयन्त्रदेखि नेताको ओछ्यानसम्म पहुँच राख्ने गुप्तचरी संस्था 'रअ' पनि राजाकै निरन्तरताको पक्षमा थियो । तर, विदेश मन्त्रालयको चाहनाअनुसार यहाँको राजनीति अघि बढ्यो । 

जानकारहरु भन्छन् - नेपालको सन्दर्भमा भारतका यी तीनथरी शक्ति बेलाबेला यसरी परस्पर बाझिने गरेका छन् । सत्ता उलटफेरको पछिलो घटनामा पनि यस्तै देखिएको बताइन्छ । विभिन्न स्रोतहरुले दाबी गरेअनुसार भारतको विदेश मन्त्रालय कांग्रेस-माओवादी गठबन्धनको पक्षमा थियो । प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणका क्रममा त्यहाँका सुरक्षा सल्लाहकार अजित डोभालले 'ओलीलाई बाहिर राखेर अर्को गठबन्धन बनाउन' सल्लाह दिएको भनिन्छ । तर, माओवादीप्रति अनुदार रहँदै आएको त्यहाँको सेना र 'रअ' भने कांग्रेस र एमाले मिल्नुपर्ने पक्षमा रहेको बताइन्छ । 

भूराजनीतिक जटिलतामा रहेको मुलुकमा शक्ति राष्ट्रहरु यसरी घुस्छन् नै, तर निर्णायक फ्याक्टर चैँ राजनीतिक दलहरु नै हुन्/हुनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रममा पनि आन्तरिक शक्ति संघर्ष नै मुख्य कारण हो । कांग्रेस र एमालेलाई पालैपालो घुमाएर प्रधानमन्त्रीमा टिकिरहन सकिने अति आत्मविश्वासमा रहेका प्रचण्डले हाकाहाकी 'म्याजिक नम्बर' भनेकोमा एमालेहरु इरिट्रेट भैरहेका थिए । त्यसैबीच भारतबाट फर्केपछि एयरपोर्टमै उहाँले 'आफू पाँचै वर्ष प्रधानमन्त्री हुने' घोषणा गरिदिनुभयो । यसले प्रधानमन्त्रीको पर्खाइमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई चस्का पस्ने नै भयो । दक्षिणको अति भरोशा गर्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि 'भारत गएर के मिलाएर आए' भन्ने पर्यो । 

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परे । बूढानिलकन्ठ र बालकोट दुबैतिर पहुँच राख्ने र क्याबिनेटको निर्णयसमेत उल्ट्याउन सक्ने भनिएका उनको पक्राउले राजनीति तरंगित हुन्थ्यो नै,भयो । बेचन समातिएको भोलिपल्टै असार १५ गते कांग्रेसका शीर्ष नेताहरुको दौडादौड चल्न थाल्यो । पत्नी आरजुलाई लिएर शेरबहादुर एकाएक केपी ओलीकहाँ पुग्नुभयो । त्यसपछि सत्ता फेरबदलको सुषुप्त खेलले थप तीब्रता पाएको दाबी धेरैले गरिरहेका छन् । संसदमा समेत यो विषयले महत्वका साथ चर्चा पाइरहेको छ ।

नेपालको कर्मचारीतन्त्रले अहिले पनि उहाँलाई भन्दा देउवा र ओलीलाई विश्वास गर्छ । सरकारका गोप्य सूचनाहरु सचिव,सहसचिवहरुले सजिलै बुढानिलकण्ठ र बालकोट पुर्याईदिन्छन् । जबकि त्यही तहमा प्रचण्ड र माओवादीका नेताहरुलाई उनीहरुले कुरा खोल्दैनन् । 

तर, प्रश्न उठ्छ- यतिबेलै भारतले बेचनलाई समातेर किन बुझायो ? स्मरणीय तथ्य के छ भने- यसअघि उनलाई पक्राउ गरेर नेपाल ल्याउँदै गर्दा हाजिपुर पुगेपछि 'रअ'का मान्छेले फोन गरेसँगै फेरि फर्काएर दिल्ली लगिएको थियो । यसकारण पनि शंकास्पद छ कि नेपालबाट भागेर भारत पुगेका अभियुक्तलाई यहीँबाट नेपाल प्रहरीको सिआइबी वा विशेष ब्यूरोको टोली उता गएर ल्याउने चलन रहँदै आएको छ । तर, बेचनको हकमा उनलाई भारतीय प्रहरीले समातेर कन्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकामा तैनाथ सशस्त्र प्रहरी प्रमुख डिएसपी रामेश्वर श्रेष्ठलाई बुझाइदियो । भोलिपल्ट काठमाडौँबाट नेपाल प्रहरीको टोली पठाएर गल्छी नजिकै हस्तान्तरण गरियो । अझै शंकास्पद कुरा चैं,सिंहदरबार प्रहरीको हिरासतमा रहेका बेचनको अझै बयान लिइएको छैन । म्याद थप गर्दै थुनामा राख्ने काममात्र भैरहेको छ ।   

एकातिर 'म्याजिकल नम्बर' देखाएर प्रधानमन्त्रीले राजनीतिक रुपमा तर्साउने, अर्कोतिर गृहमन्त्री रवि लामिछानेको बारम्बारको फाइल खोल्ने धम्की । पहिलो र दोस्रो पार्टी भएर पनि यसरी तर्सिएर बस्नुपरेको पीडाले कांग्रेस र एमालेलाई जबर्जस्ति एक ठाउँमा उभिन बाध्य बनाएको ठान्नेहरु धेरै छन् । 'पटक-पटक गठबन्धन फेरेकोमा कांग्रेस रिसाएकै थियो,एमालेले शुरुमै मन्त्रीहरुको कमजोर टिम पठाएर सरकार र प्रधानमन्त्रीमाथि विश्वास नरहेको सन्देश दिएकै हो', माओवादी स्रोत भन्छ, 'तर, प्रधानमन्त्रीले यी सबै घटनालाई सामान्य रुपमा बुझ्नुभयो ।' 

भनिन्छ- पार्टीभित्रको असन्तुष्टिलाई उचित समयमा व्यवस्थापन गर्न नसक्नु पनि प्रचण्डलाई सत्ताबाट हटाउने कारण बन्यो । आफू निकटलाई कर्नरमा पारिएको र भाइ राजकुमार शर्मालाई हटाउन कर्णालीको मुख्यमन्त्री एमालेलाई छोडेको गुनासो गर्दै आएका उपमहासचिव जनार्दन शर्मा पछिल्लो समय अध्यक्षसँग चर्कै असन्तुष्ट थिए । उनको आरजू राणासँग राम्रो सम्बन्ध छ भनिन्छ । आरजूका खास विश्वासपात्र पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित घरमा बस्ने जनार्दनले पार्टीभित्रका गुप्त कुरा त्यहाँ खोल्ने गरेको थाहा पाएपछि प्रचण्ड थप चिढिएको बताइन्छ । कांग्रेस र एमाले दुबैतिर सम्पर्कमा रहेका उनले सत्ता फेरबदलको चर्चा चलिरहेका बेला रमेश लेखकहरुसँग पटक-पटक भेटघाट गरेका थिए । 

यो पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्डले सुझबुझपूर्ण कदम चाल्नुपर्थ्यो । तर, 'केटौले पारा' का गृहमन्त्री रवि लामिछानेको 'लहैलहै' मा उहाँले कांग्रेस र एमाले दुबैलाई एकैचोटी चिढ्याउनु भयो । प्रचण्डले बुझ्न नसकेको वा बुझेर पनि वास्ता नगरेको अर्को तथ्य के हो भने, नेपालको कर्मचारीतन्त्रले अहिले पनि उहाँलाई भन्दा देउवा र ओलीलाई विश्वास गर्छ । सरकारका गोप्य सूचनाहरु सचिव,सहसचिवहरुले सजिलै बुढानिलकण्ठ र बालकोट पुर्याईदिन्छन् । जबकि त्यही तहमा प्रचण्ड र माओवादीका नेताहरुलाई उनीहरुले कुरा खोल्दैनन् । किनभने नेपालको कर्मचारीतन्त्रमा अहिले पनि कांग्रेस र एमालेकै हालीमुहाली छ । विद्यार्थीकालमा अखिल र नेविसंघको राजनीति गर्दै सुब्बा र खरदारबाट जागिर शुरु गरेकाहरु नै प्रशानिक नेतृत्वमा पुगेका कारण यस्तो स्थिति बनेको हो । देशको कार्यकारी प्रमुखले दुई दलका नेता मिलेर आफ्नो सरकार ढाल्दै गरेको सुइङ्कोसम्म नपाउनुले उक्त तथ्य प्रमाणित हुन्छ । 

यी र यस्ता यावत कारणले सम्भव तुलिएको कांग्रेस-एमाले सहकार्य लामो समय जानेमा भने शंका छ । सरकार संचालनमा एकलौटी गर्ने र विरोधीलाई दपेटने ओलीको कार्यशैली दुई पार्टीको सहकार्यमा बाधक हुने कांग्रेस नेताहरु बताउँछन् । त्यसो त, ओलीलाई बोकेर सत्तामा जाने कांग्रेसको संस्थागत धारणा पनि होइन । भुटानी काण्डसँग जोडिएर आइलागेको तत्कालको आपत र दक्षिणको छिमेकीप्रतिको आशंकाले देउवा एकाएक ओलीसँगदोस्ती कस्न पुगेको स्वयं कांग्रेसीहरु स्वीकार गर्छन् । पदाधिकारी तहका एकजना नेताले असार १७ गते मध्यरातको सम्झौतालाई 'दुई परिवारको सम्झौता' समेत भनिदिए । उनको बुझाई छ- देउवाले केपी ओलीलाई पत्याउन्जेल समीकरण अगाडि जान्छ, त्यसपछि भन्न सकिन्न । 

'सर्पले एकचोटी आँखाले देखेपछि आफ्नो शत्रुलाई डसेरै छोड्छ' भन्नेजस्तो प्रवृत्ति छ ओलीको । कुनै एउटा पिउनसँग रिस उठेको रैछ भने त्यसलाई पनि भस्म गर्नुपर्छ भन्ने प्रतिशोधपूर्ण भावना राख्ने उहाँले कांग्रेसलाई रिझाएर सरकार चलाउन सहज छैन । उहाँले सिध्याउन चाहनुभयो भने केसम्म गर्नुहुन्छ भन्ने जिउँदो उदाहरण त भीम रावल नै छन् । 

यस सम्बन्धमा एमालेनिकट स्रोतले एउटा सन्दर्भ सुनायो- माधव नेपाल प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका थिए सुरेन्द्र पाण्डे । अर्थमन्त्रालयका एकजना सामान्य तहको कर्मचारीलाई फोन गरेर ओलीले 'त्यो लन्ठुलाई पठाइदियो, एसएलसी पनि पास नगरेको त्यसले केही जानेको छैन, होस् गरेर काम गर्नु' भनेर भडास पोख्नुभएछ । अहिले उहाँसँगै यौटै कमिटीमा रहेका ति नेताप्रतिको त्यस्तो नकारात्मक धारणा त्यस्तै देखिन्छ ।  

'केपी ओलीको सत्तायात्राले कति जनालाई शहीद बनाउने हो थाहा छैन', उक्त स्रोत भन्छ, 'कतिपय व्यक्ति अनुभवले सुध्निन्छ भनिन्छ, तर उहाँमा त्यस्तो छाँट देखिंदैन, सायद अब सुध्रिनु हुन्न ।'

टिप्पणीहरू