तर कुरा बिग्रिसकेको रहेछ

तर कुरा बिग्रिसकेको रहेछ

‘भन्नुपर्ने र जनताले थाहा पाउनुपर्ने कुरा धेरै छन्, अहिल्यै सबै कुरा भनेर सकिँदैन’ विभिन्न राजनीतिक दलका नेतालाई बोलाएर प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बताउनुभयो, ‘ती कुरा म संसदमा रेकर्ड गराएरमात्रै छाड्छु, त्यसै छाड्दिनँ !’

बैठकमा पुगेका रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘सबै कुरा राम्रैसँग चलिरहेको थियो । एक्कासी बेचन झा समातियो, यससँगै बादलको छोरा कब्जामा आए, अनि रातारात हलचल मच्चियो ।’ प्रचण्डचाहिँ चार महिनाका बीचमा केपी ओलीले भनेका, गरेका र चाहेका कुराहरुको फेहरिस्त संसदमा पेश गर्ने तयारीमा हुनुहुन्छ । विभिन्न दलका नेता सहभागी उक्त बैठकमा उहाँको चाहना, दावी र अपेक्षा थियो, आफूले विश्वासको मत सामना गरेपछि अर्को सरकार गठन गर्नका निम्ति धारा ७६ को उपधारा ३ नै आकर्षित हुनुपर्ने । यदि राष्ट्रपतिले त्यसअनुसार सरकार गठनका निम्ति आह्वान गर्नुभएन भने सडकदेखि अदालतसम्म पुग्नुपर्ने उहाँको धारणा थियो । उपधारा ३ बाट नयाँ प्रधानमन्त्री बनाउनुपर्ने भयो भने ओलीको बाटो बन्द हुन्छ । उक्त उपधाराले संसदमा रहेको सबैभन्दा ठूलो दलले प्रधानमन्त्रीमा दावी गर्न पाउने व्यवस्था गरेको छ । त्यसअनुसार शेरबहादुर देउवाको मात्रै दावी पुग्छ ।

२० गते बिहीबार, अर्थात् एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन । बन्दसत्र सञ्चालनका निम्ति झलनाथ खनाललाई जिम्मा लगाई राजेन्द्र पाण्डेलाई साथमा लिएर माधव नेपाल बालुवाटार पुग्नुभयो । त्यहाँ नेताहरुबीच चर्चा हुँदै थियो, ‘ओलीलाई सत्ताको भोकले कतिसम्म गरेछ भने, भोलि हिँड्नुपर्ने बाटो आजै बन्द !’ अर्थात्, माओवादी र एकीकृत समाजवादीलाई एउटै निशानामा राखेर भोलि मिल्ने ठाउँसमेत उहाँले बन्द गर्नुभयो भन्ने नेताहरुको आशय थियो । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग माधव नेपालको भेट हुँदा प्रचण्डप्रति रिस देखिन्थ्यो ।

त्यही रिसले १४ गते बेचन झा र बादलका छोराको गिरफ्तारी कांग्रेस र एमालेलाई जोड्ने कडी बन्न पुग्यो । किनभने, प्रचण्ड भारतबाट फर्किएपछि बोलि फेरियो । त्यसैले असार १५ मा आरजु राणा दही च्युरा लिएर बालकोट पुगिन् । त्यसअघि जेठको २८ गतेबाटै रामेश्वर थापाको चपलीस्थित घरमा कांग्रेस–एमालेका नेताबीच कुराकानी बाक्लिइसकेको थियो । प्रचण्ड आइतबार भारतबाट फर्किएपछि सोमबार ओली र प्रचण्डबीच वार्ता भयो । यी सबै श्रृङ्खलाबारे गठबन्धनका नेताहरु सम्मिलित बैठकमा प्रचण्डले भन्नुभयो, ‘मसँग पाँचै वर्ष जाने, पार्टी एकतासम्मका कुरा गर्नुभयो, त्यही दिन उता सम्झौता भइसकेको रहेछ ।’ 

नेताहरु प्रचण्डलाई भन्दै थिए, ‘कतिपय कुरालाई तपाईंले बेलैमा बेवास्ता गर्दा यस्तो भएको हो ।’ एकजना नेताले भने, ‘ओलीले बजेटमा विरोध गर, पासचाहिँ गरिदिउँला भन्दा त्यहीँभित्र शंका गर्नुपर्दैन थियो ?’ प्रचण्डले भन्नुभयो, ‘आएर घण्टौं गोप्य कुरा गर्दा पत्याउँजस्तो लाग्यो, तर कुरा त बिग्रिसकेको रहेछ !’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू