करणीको कानुन, नगर्ने पनि जानुन् !

करणीको कानुन, नगर्ने पनि जानुन् !
सुन्नुहोस्

नेपालको कानुन दैव नै जानुन् भन्ने कहावत त्यसै चलेको होइन, अहिलेनै चोरलाईभन्दा उसले बेचेको सामग्री किन्नेलाई बढी सजायँ हुने अवस्था देखिन्छ । चोरले सामग्री मैले चोरेर बेचेको भन्दैन र कतिपय अवस्थामा चोरेको सामान पत्ता लगाउन पनि सकिँदैन । त्यस्तो अवस्थामा साह्रोगाह्रो टार्न सहयोग गरौं भन्दै चोरेको सामग्री किन्ने दयालु पनि महाचोर सावित हुने अवस्था छ ।

जबर्जस्ती करणीमा त झनै बेहाल छ । कसैले मलाई जबर्जस्ती गर्‍यो भनेर उजुरी दिएकै भरमा जो कोहीले पनि जेल बस्नुपर्ने हुनसक्छ । यस्ता अमिल्दा कानुनी व्यवस्थामा संशोधन गर्न आवश्यक भैसकेको छ । अचेल त कुनै युवतीसँग फोनमा अचानक संवाद भएको अवस्थामा नियत बिग्रेको रहेछ भने मलाई फलानोले होटलमा बसौं भन्यो भनेर आशय करणीमा उजुरी दिनासाथ पक्राउ गर्नुपर्ने अवस्था छ ।

यस्तो उजुरीमा छानबिन गरी गिरफ्तार गर्नुभन्दा पहिले पक्राउ गरी छानबिन गर्ने चलन छ । त्यसैले न्याय दिने नाममा अन्यायसँगत देखिएका यस्ता कानुनी व्यवस्था र कमजोरीका प्रावधानलाई संशोधन गर्न छलफल शुरु भएको छ । तथ्य र प्रमाण नभए पनि कसैका सनक वा उक्साएको भरमै गरिने उजुरी तथा निवेदनले समाजका प्रतिष्ठित वा लब्धप्रतिष्ठित, सर्वसाधारण जो–कोही पक्राउ पर्ने गरेका छन् । 

अरु त अरु यस्तै कमजोर कानुनी व्यवस्थाका कारण सयौं प्रभावशाली नेता, प्रशासक, गुप्तचर, सेना र प्रहरीका हाकिमहरू शिकार भइरहेको अनुमान छ । यस्ता प्रभावशाली व्यक्तित्वलाई ब्ल्याकमेल गर्न सुन्दरीको पासो फ्याँकिएको अनुमान पनि लगाउन थालिएको छ । त्यसैले गत साता यसै विषयमा केन्द्रित रहेर राजधानीको हायात होटलमा एक छलफल शुरु भएको छ । सो कार्यक्रममा बलात्कारको आरोप र प्रकरणमा समाजसँग नमिल्ने र एकपक्षीय देखिने कानुन संशोधन गर्नुपर्ने माग गरिएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू