बेचनले यसरी बढाए प्रचण्ड र रविको व्यथा

क–कसले भारतबाट ल्याइपुर्‍याए काठमाडौँ ?

बेचनले यसरी बढाए प्रचण्ड र रविको व्यथा
सुन्नुहोस्

प्रचण्ड भारतबाट फर्केपछि उताको कुरा सुनेर यता समीकरण फेर्न चलखेल गरेबापत कांग्रेस र एमालेले काउण्टर दिएको भनिए पनि गुदी कुरा आइसकेको छैन । तर, हठात्को सत्ता फेरबदलमा बेचन झा पक्राउ प्रकरण जोडिएर आएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डको फाइल खुलेको एक वर्षपछि बूढानीलकण्ठ र बालकोट तर्सिने गरी उनलाई समातेर भारतले गुपचुप नेपाललाई बुझायो । कांग्रेस सभापति शेरबहादुर देउवाका दाहिना हात बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझीजस्ता ‘हाई प्रोफाइल’हरू समातिँदासमेत तरंगित नभएको सत्ता राजनीति बेचनको पक्राउलगत्तै किन ‘उथलपुथल’ भयो ? त्यसको डरलाग्दो अन्तरकथा फेला परेको छ । 

काठमाडौँको बौद्धबाट समातिएको भनिए पनि भारतमा पक्राउ परेका बेचनलाई असार १३ गते कञ्चनपुरको महेन्द्रनगरस्थित गड्डाचौकी नाकामा तैनाथ सशस्त्र प्रहरी प्रमुख डिएसपी रामेश्वर श्रेष्ठलाई बुझाइयो । त्यसक्षेत्रका डिआइजी दीपक अधिकारीबाट आदेश भएबमोजिम गृहमन्त्री रवि लामिछानेलाई मन नपर्ने आइजी वसन्त कुँवर अमेरिका भएका बेला यो खेल गुपचुप रुपमा चल्यो र भारतले एक वर्षसम्म जोगाएर राखेको बेचनलाई सशस्त्रको जिम्मा लगाइयो । 

यहाँबाट भागेर भारत पुगेका अभियुक्तलाई नेपाल प्रहरीको सिआइबी वा विशेष ब्यूरोको टोली उतै गएर ल्याउने चलन हो तर यो घटनामा त्यसो नगरी भारतीय प्रहरी आफैँले सशस्त्रलाई बुझायो । त्यसपछि १४ गते शुक्रबार बिहानै नेपाल प्रहरीको यौटा टोली तयार गरियो र तुरुन्त पृथ्वी राजमार्गको बाटो हुँदै सुदूरपश्चिमतर्फ जाँदै गर्नु, थप निर्देशन बाटैमा आउँछ भनेर अह्राइयो । सोहीबमोजिम गएको टोलीमा डिएसपी दिपेश बस्याल, इन्स्पेक्टर योगेश खत्री, बरिष्ठ सई विष्णु खतिवडा र सई माधव थापा थिए । उनीहरू धादिङको गल्छिनेर पुगेपछि उताबाट सशस्त्रका डिआइजीले समन्वय गरे, र डिएसपी रामेश्वरबाट यो टोलीले उनलाई बुझिलियो । त्यसबीच ’एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक र बेचन दुवै पक्राउ’ परेको हल्ला देशैभर फैलियो । 

काठमाडौँ ल्याइएका बेचन अहिले सिंहदरबारको प्रहरी हिरासतमा छन् । प्रतीकमाथि अनुसन्धान भैकन अदालतको आदेशले उनी पुर्पक्षका लागि थुनामा गैसके तर बेचनलाई भने जुन उद्देश्यले पक्राउ गरेको हो त्यसअनुसार केही पनि गरिएको छैन । म्याद थप्दै हिरासतमा राख्ने काम मात्रै भएको छ । यो क्रम ६० दिनसम्म चल्न सक्छ ।  

देउवापत्नी डा. आरजु राणाको निर्देशनमा त्यसबेला उपत्यका अपराध अनुसन्धानको महाशाखाको प्रमुख रहेका वसन्त कुँवरले बालकृष्ण खाँणसँग मिलेर भुटानी शरणार्थी प्रकरणका आरोपितलाई जोगाएको आरोप थियो । यो सबै यथार्थ बुझेका गृहमन्त्री रविको योजना थियो– आरजु, केपी ओलीको पिए राजेश बज्राचार्य र वसन्तको समेत नाम पोल्न लगाएर बेचनको बयान लिने र त्यही आधारमा समातेर तर्साउने । अनि कांग्रेस– एमालेलाई साइजमा राख्ने । कच्चा वैद्यले बढी दबाई खपत गर्छ सायद । यस्तै कुरालाई लिएर भनिएको हुनुपर्छ । पार्टीको नीति, निर्णय र नियुक्तिमा प्रायः सधैँ आरजुबाट प्रभावित हुने गरेको आरोप देउवामाथि लाग्दै आएको छ । यसका बाबजुद उनलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि बढाउने तयारीमा रहेका देउवा यो सबै खेलबाट तरंगित हुनु स्वाभाविकै थियो । तर, गृहमन्त्रीको चाहानाअनुसार घटनाक्रम अगाडि बढेन । बरु सत्ता राजनीतिले कोल्टे फेरेपछि उनी आफैँ पद गुमाउने अवस्थामा पुगे । भारतले बेचनलाई पक्राउ गरेर यहीबेला किन नेपाललाई दियो र समीकरण नै उथलपुथल हुनेगरी यताबाट प्रयोग गरियो ? यो आफैंमा आश्चर्यको कुरा त हो नै, खोज र अनुसन्धानको विषय पनि बनिरहेकै छ । 

भनिँदै छ– नेपाल र भारत दुबै देशको नागरिकता भएका बेचन बुढानिलकण्ठ र बालकोटसँग घनिष्ट सम्बन्ध भएका शक्तिशाली पात्र हुन् । नक्कली भुटानी प्रकरणमा आरजु र राजेश बज्राचार्य तानिनसक्ने थुप्रै प्रमाण उनीसँग हुनसक्ने अनुमान भैरहँदा एकाएकको सत्ता उलटफेरमा यो विषय निर्णायक बनेर आएको दाबी धेरैले गरिरहेकै छन् । १४ गते बेचन समातिनु, भोलिपल्टै आरजुलाई लिएर देउवा ओलीकहाँ पुग्नु र दुई दिनको गृहकार्यपछि १७ गते रातारात कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सम्झौता हुनु । प्रश्न उठ्छ– प्रतिस्पर्धी दुई दल मिलेर सरकार चलाउनुपर्ने त्यस्तो आपत के आइलाग्यो ? भनिएको छ – प्रधानमन्त्री प्रचण्डले दिल्लीको कुरा सुनेर काँध फेर्न खोजेपछि ’धोका खाएका’ हरू एक ठाउँमा उभिनुपरेको हो । 

तर, तथ्य केलाउँदा के देखिन्छ भने, प्रचण्ड दिल्ली जानुअघि नै यहाँ सरकार ढाल्ने खेल शुरु भैसकेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जुन ९ अर्थात् जेठ २७ गते दिल्ली गएका उनी भोलिपल्ट जुन १० अर्थात् जेठ २८ गते अपराह्न स्वदेश फर्किए र ओलीलाई भेटेर सबै परिस्थितिको ब्रिफिङ गरे । नेपाल उत्रनेबित्तिकै एयरपोर्टबाटै ‘यो सरकार पाँचै वर्ष जाने’ घोषणा गरिरहँदा त्यही दिन राति ओली र देउवाले अन्नपूर्णका मालिक रामेश्वर थापाको घरमा गुप्त छलफल गरेका थिए । त्यसपछि दुईचोटी त्यस्तै गोप्य भेट गरेका उनीहरूले बेचन समातिएको भोलिपल्ट देखिने गरी बालकोटमा छलफल गरेका हुन् ।

बयानमा आइजी बसन्त कुँवरलाई पोल्ने, त्यही बहानामा उनलाई निलम्बन गर्ने र हत्तपत्त श्याम ज्ञवालीलाई निमित्त आइजी बनाइहाल्ने योजना थियो, रवि लामिछानेको । यो काम १८ गतेभित्र भइसक्छ भनेर उनीहरु अगाडि बढेका थिए । तर, १७ गते नै सरकार धर्मरायो । १८ गते त ढल्ने कुरा निश्चित नै भयो । रविसँग नजिक रहेका एआइजी श्याम ज्ञवालीकै सिफारिसमा डा.मनोज केसीको पोष्टिङ विशेष व्युरोमा गराइएको हो । र, बेचनलाई भारतबाट ल्याउने समन्वयकर्ता पनि यही व्युरो हो । 

डिएसपी दिपेश बस्याल नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने गिरोहसम्बन्धी अनुसन्धान गरेको दोस्रो चरणदेखि त्यसमा संलग्न छन् । उक्त प्रकरणमा बयान कागज गराउने, उजुरकर्ता झिकाउने र खोजतलास गर्नेजस्ता काम उनैले गरेका हुन् । बेचनलाई ल्याएपछि सिंहदरबार प्रहरी बृत्तको एउटा कोठामा उनलाई राखिएको छ । प्रहरीकै ओछ्यानमा सुत्छन् । डिएसपीको मेसमा पाकेका खान्छन् । घरी कहाँको, घरी कहाँको प्रहरी टोली पुग्छ, सोध्छ र फर्किन्छ । औपचारिक बयान, अर्थात् कागजमा लेखेर सही गराउने काम भएको छैन । न त सरकारी वकिलसमक्ष बयान प्रमाणित गराएर मुद्दा नै अगाडि बढाइएको छ । यो कुरालाई कतिसम्म रहश्यमय बनाइएको छ भने, भारतबाट गड्डाचौकीसम्म कसले ल्यायो भन्ने कुरा नै खुल्न सकेको छैन । विशेष व्युरोले ल्याएको थियो भने किन सशस्त्रलाई जिम्मा दियो ? किनभने, प्रहरीको आफ्नै देशव्यापी संयन्त्र छ, जसले एक ठाउँमा पक्राउ परेको कसुरदारलाई अर्को ठाउँमा सजिलै पुर्‍याउन सक्छ । त्यसमाथि महेन्द्रनगर हुँदै काठमाडौं ल्याउँदा किन २४ घण्टा समय खर्चिंदै स्थलमार्ग प्रयोग गरियो ? धनगढीबाट जहाजमा ल्याएको भए जम्मा एक घण्टामा बेचन काठमाडौं पुग्थे । 

बेचनअघि सोही प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) का छोरा प्रतीकलाई लुकीछिपी समातियो र अब कोही पनि सुरक्षित छैनन् भनेर चारैतिर आतंक फैलाउने काम भयो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू