प्रचण्डले त्यसदिन, त्यस्तो कुरा नपत्याएको भए !
आफ्नाकै भर नहुँदा अर्काको आश र विश्वास बोकेर राजनीतिमात्रै होइन, यो धर्तिका कुनै पनि चिज चल्दैनन् । यत्ति पनि सुझबुझ नराख्दा सत्ता राजनीतिमा चतुर खेलाडीको पहिचान बनाउनु भएका प्रचण्डले फेरि एकचोटि मार खानु परेको छ ।
असार १७ गते बिहानदेखि दिउँसोसम्म चार घण्टा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमै एकल वार्ता चल्यो । सरकारलाई आलोपालो गर्दै पाँचै वर्ष लैजाने, ०८४ पछि पार्टी एकता नै गरेर जाने, यो सरकारले गरेका कामलाई अझ प्रभावकारी बनाउनका निम्ति विभिन्न विज्ञसँग भोलिपल्टदेखि राय लिनेदेखि ‘स्वर्ग, नर्क जहाँ पुगे पनि सँगै जाने’ नै तहका सहमति भए । यति भएपछि प्रचण्ड खुशीले गदगद हुनुभयो । तर, त्यही दिन मध्यरात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच आगामी सरकार निर्माणका निम्ति सहमति भयो । दिउँसो ओलीसँगको संवादले प्रचण्डलाई यति धेरै विश्वास दिलाएको थियो कि, राति ‘यस्तो भएछ नि’ भन्नेहरुका खबर पत्याउने तहमा हुनुहुन्थेन । अन्ततः २०७९ मंसिर १ गतेदेखि ०८१ असार १७ गतेसम्म कहिले एमाले, कहिले कांग्रेसलाई खेलाई खेलाई चल्दै आएको सत्ता तासको घरझैं गल्र्यामगुर्लुम ढल्न पुग्यो ।
१७ गते ओलीसँग लामो बातचित चलेपछि सिंहदरबारमा भेट्न पुगेका पार्टीको पनि भित्री समूह (कोर टीम) का एक नेतासँग भन्दै हुनुहुन्थ्यो, ‘प्रभाकर (जनार्दन शर्मा) ले आरजुसँग मिलेर गडबड गर्न खोज्दैछन् ।’ संघीय सरकार बनाउनका निम्ति वर्षमान पुनसँग लपक्कै मिल्दा कर्णाली प्रदेशमा मुख्यमन्त्री रहेका जनार्दनका भाइ राजकुमारको समेत सत्ता ढल्यो । ‘आफू त शिकारमा परेँ–परेँ, भाइसम्मलाई बाँकी राखेनन्’ भन्ने जनार्दनलाई परिरहेको थियो । त्यसैले प्रचण्डको प्रतिकूल हुने गतिविधिमा उनी सक्रिय भएको सूचना उहाँले पाउनुभएको थियो । धनाढ्य शिक्षा व्यापारी तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सूत्रधार बनाउँदै जनार्दन आरजुसँग मिलेको सूचना प्रचण्डसँग थियो । उमेशसँग जनार्दन आफैं पनि निकट र कतिपय व्यवसायमा देखा–अन्देखा साझेदार रहेको चर्चा हुने गरेको छ । आरजु र उमेशबीच त यसै पनि लामो समयदेखि साझेदारी चल्दै आएकै छ । उनकै देनस्वरुप सांसद, मन्त्री, चुनावको टिकटदेखि अनेक कुरामा उमेश लाभान्वित हुँदै आएका छन् । उनकै सानेपास्थित घरमा बसेर जनार्दन र आरजुले सरकार ढाल्ने योजना बनाएको विश्वस्त सूचनाका कारण प्रचण्ड जनार्दनप्रति क्रुद्ध हुनुुहुन्थ्यो । ओलीलगत्तै प्रचण्डसँग भेट्दा उहाँबाट जनार्दनको खोइरो सुनेका ती नेताले जनआस्थासँग भने, ‘आफ्नै मान्छेले आफूलाई ढाल्न लागेको कुरा सुन्दासुन्दै तिनलाई मिलाउन नसक्नेले ओलीका कुरा सर्लक्कै पत्याएर बस्नु हुँदैन थियो ।’
यो घटनाले भन्छ, आफ्नाहरु टाढिएको बेला अर्काले खेलाएर खत्तम पार्न कत्ति पनि बेर लाग्दैन । यसरी प्रचण्ड अति विश्वासको मारमा पर्नुभएको माओवादी नेताहरुको भनाइ छ । ०६३ सालको शान्तिप्रक्रियामार्फत् बाहिर आएदेखि, अर्थात् १८ वर्षअगाडि दोहोरो चिनजान भएदेखि प्रचण्डलाई ओलीले केटाकेटी खेलाएकै शैलीमा १७ गते खेलाइदिनुभयो । ५० वर्षदेखि चिनेको, एउटै पार्टी, आन्दोलन र अनेकन घामपानी व्यहोर्दै निरन्तर आफूभन्दा माथिल्लो पदमा रहँदै आउनुभएका माधव नेपालसम्मलाई उहाँले गत फागुनमा लट्टिपट्टी पार्नुभयो भने प्रचण्ड त ओलीका निम्ति त्यति ठूलो शिकार हुनुहुन्थेन । तर, यो कुरा नबुझ्दा प्रचण्डले मार खानुभएको छ । फागुनमा सरकारबाट कांग्रेसलाई हटाई एमालेले समर्थन गर्ने, तर एकीकृत समाजवादीबिना विश्वासको मतका लागि चाहिने संख्या नपुग्ने भएपछि ओली कोटेश्वरस्थित माधवको घरमै पुग्नुभएको थियो । उहाँले त्यसबेला ‘आखिर एक न एक दिन मिल्नै पर्ने हो, अहिल्यै त्यसको शुरुवात गरौं, चुनावमा पनि सँगै मिलेर जानुपर्छ’ भन्दा माधवको मन पग्लियो र पार्टीमा बैठकै नराखी दुई सांसदलाई मन्त्री हुन पठाउनुभयो । १० दिनपछि त फेरि ओली उही पुरानै लयमा फर्किनुभयो र भन्न थाल्नुभयो, ‘यो १० सीटेलाई संविधानले कहाँ चिन्छ ?’
प्रचण्डलाई अरुले हैन, आफ्नै पार्टीका उपाध्यक्ष र सरकारका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले १७ गते दिउँसो अढाइबजे भेटेर केही गडबड भइरहेको सूचना दिएका थिए । तर, एकछिनअघि ओलीका कुरा सुनेर मख्ख पर्नुभएका प्रचण्डले नारायणकाजीका कुरालाई पनि त्यसरी नै उडाइदिनुभयो । कतिसम्म भने, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले ओलीसँगको सत्ता सहयात्रा टुंग्याउन सुझाव दिएका थिए । त्यो कुरा प्रचण्डले आफ्नै परराष्ट्र मन्त्रीसमेतलाई सुनाउनु भएन । बरु, ‘स्वर्ग–नर्क’ सम्मै ओलीसँग जाने भइयो भन्नेमा ढुक्क हुनुभयो ।
प्रचण्डले ओलीबाट धोका पाउनुअघि शेरबहादुर देउवा र माधव नेपालको भेट भएको थियो । देउवाको भनाइ थियो, ‘प्रचण्डको तरिका ठीक भएन । मसँग यतै मिल्ने भनेको छ, ओलीजीसँग भेटे त्यतै मिल्छु भनेको छ । गर्नेचाहिँ के हो भन्या ?’ यसपछि माधवले प्रचण्डलाई सुझाव दिनुभयो, ‘देउवाजीसँग विश्वासको वातावरण बनाउनुपर्छ । ओलीको त भर छैन, भोलि कांग्रेससँग मिलेर अगाडि बढ्नुपर्ने भयो भने आजै अविश्वास गर्नु राम्रो हुँदैन ।’ यो कुरालाई प्रचण्डले आफ्नै ‘मौलिकताका आधारमा’ प्रयोग गर्नुभयो, यता ठिक्क, उता पनि ठिक्क ! अर्थात्, देउवाले उहाँलाई विश्वास गर्नुपर्ने ठाउँ भेट्नुभएको थिएन । प्रधानमन्त्री नै विश्वासिलो नभएको स्थितिमा प्रतिपक्षी दलकै नेताले ‘मिलेर जाऔं’ भन्दा देउवाले आनाकानी गर्नुपर्ने केही थिएन । उहाँलाई लाग्यो, प्रचण्डभन्दा ओली नै अलिक विश्वासिला हुन् । र, यस्तो पृष्ठभूमिका बीच प्रचण्डको सत्ता ओरालोतिर लाग्दै गयो ।
राजनीतिक यात्राको प्रारम्भदेखि नै प्रचण्ड तत्कालिन वस्तुस्थितिमा आधारित रणनीतिमा खेल्न प्रवृत्त हुँदै आउनुभएको छ । एकजना माओवादी नेता भन्छन्, ‘दूरगामी राजनीति हेर्ने भए ०६४ पछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रियसभामा थन्क्याएर राजनीतिको केन्द्रमा हावी हुने अनेकन बाटो थिए । तर, आइलागेका कुरातिर मात्रै अग्रसर हुनुभयो । फलतः एकदिन यस्तो हुन्छ भन्ने नै थियो, भयो पनि ।’
उहाँ स्वयंले महसूस गरेको अर्को विषय हो, ‘दिमागमा केही कुरा फु¥यो भने मनमा राख्न नसक्ने, प्याच्च भनिहाल्ने ।’ नरेन्द्र मोदीको शपथमा भाग लिनका लागि भारत पुगेर फर्किंदा यता एमालेसँगको साझेदारी सरकार थियो । उक्त सरकार ०८४ सम्म नै जाने भनेपछि भारतसँग केही कुरा मिलाएर आएको चस्का कांग्रेसमा पस्ने नै भयो । कर्मचारीतन्त्रले अहिले पनि देउवा र ओलीलाई विश्वास गर्छन्, प्रचण्डलाई हैन । उनीहरु गोप्य कुरा माओवादीलाई खोल्न चाहँदैनन् । अहिलेका सहसचिव, सचिवहरु तिनै व्यक्ति हुन्, जो हिजो अखिल र नेविसंघ थिए । सुब्बा, अधिकृतसम्म युनियनको चुनाव नै लडेकाहरु अहिले कर्मचारी बृत्तमा छन् ।
तर, माओवादीले त्यस्तो अभ्यास गर्न पाएन । ०६३ मा खुला राजनीतिमा आएपछि एकपछि अर्को गर्दै सत्ता राजनीतिमै केन्द्रित भयो । फलस्वरुप न कर्मचारीतन्त्रमा साथ मिल्यो, न त बुद्धिजीवी, पेशाकर्मीको क्षेत्रमै । राजदूत बनाउने मान्छे चाहियो भने अरु विचार वा समूहतिर आवद्ध भएकोलाई आफ्नो बनाएर पठाउनुपर्ने अवस्था यसैको उपज हो । प्रधानमन्त्री यस्तो स्थितिका, त्यसमाथि गृहमन्त्री पूरै उरन्ठेउलो, केटौले शैलीको । प्रधानमन्त्रीले भारतबाट फर्किएपछि म्याजिकल नम्बरका कुरा गर्न थाल्ने । एकातिर प्रधानमन्त्रीले सरकार ०८४ सम्म जान्छ भन्ने, गृहमन्त्री २५ वटा ठूला भ्रष्टाचारका फाइल खोल्छु भन्ने भएपछि शक्ति बाहिर बसेका मान्छेलाई शक्तिभित्र बसेका मान्छेले तर्साएको रुपमा बुझिने नै भयो । एमाले त यसै पनि प्रचण्डको सरकारमा सामेल हुँदैमा यो लामो समय जान्छ भन्ने विश्वास नै थिएन । किनभने, उसले पार्टीभित्र पनि ‘दोस्रो दर्जाका’ मन्त्री बन्न पठायो । ओली आफैँले यातायात मन्त्रीबाट हटाएर वसन्त नेम्वाङलाई ल्याएको घटना पुरानो होइन तर प्रचण्ड सरकारमा फेरि तिनै रघुवीरलाई किन टोली नेता बनाएर पठाइयो होला ? चलाख प्रचण्ड चुकेको यस्तै कुरामा हो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू