यति नमज्जा भयो गृहबाट कसै–कसैलाई

यति नमज्जा भयो गृहबाट कसै–कसैलाई

कोही मान्छेले कुनै कारणवश बधाई खान्छ, भोजभतेर चल्छ, कतिपय समुदायमा त यस्तो बेला शुभकार्य मानेर सगुनसमेत खुवाइन्छ । अन्ततः जे कारणका लागि त्यसो गरिन्छ, परिणाम शून्य हुँदा हालत कस्तो हुन्छ ? एआइजीमा सिफारिस भएर डिआइजीमै घर फर्किनुपरेका पोषराज पोखरेल यसका भुक्तभोगी हुन् ।

रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरीको सरुवा र बढुवा चलाउन एउटा टोली तयार भयो । रविका मुद्दा हेर्नेदेखि ‘मिलाउने’ सम्मका कामको जिम्मा लिएका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, उनका भाञ्जा तथा पूर्वएआइजी दिवेश लोहनीहरुको यो टोलीले गत वैशाख ३ गते भीम ढकाल र उमेशराज जोशीलाई एआइजी पदमा बढुवा सिफारिस गर्दैमा त्यही लटभित्र छिराउन खोजिएका व्यक्ति थिए, पोषराज । उनी दिवेशका साढु भाइ हुन् । उच्च राजनीतिक दबाबका बीच त्यसबेला पोषराजलाई छिराउनै सकिएन । एमालेको सिफारिसमा भीम अगाडि आएपछि उपाय निकालियो, असार १९ गते उमेरहदका कारण उमेश अवकाशमा जान्छन् ।

पोषराजको असार २१ गते ५६ वर्ष पुग्ने दिन । त्यसैले उमेश घर जानेबित्तिकै मन्त्रिपरिषद्बाट सिफारिस सदर गराउने योजनाअनुसार उमेश घर नजाँदै, अर्थात् दरबन्दी रिक्त नहुँदै असारको १० गते एकल बढुवा सिफारिस गरियो । २० गते बिहीबारको मन्त्रिपरिषद् बैठकले १० गतेको सिफारिसलाई सदर गरिदिएको भए उसै दिन फुली लगाएर भोलिपल्ट २१ गते अवकाश लिन पोषराज ठिक्क परेका थिए । २० गते मन्त्रिपरिषद् बैठक त बस्यो, तर प्रहरीको सिफारिसमाथि केही गरेन । फलतः २१ गते ५६ वर्षको उमेरहदले उनी घर गए । त्यसअघि एआइजी भएकोमा बधाई र त्यसबापतका विभिन्न भोज खाइसकेका थिए । आशीर्वाद दिनेहरुले टीका, माला, खादा लगाएका त कतिपयले सगुन खुवाएका थिए ।

तर, जे नाममा ती सबै भए, त्यो कामचाहिँ भएन । बरु, सिफारिसै नगरिदिएको भए डिआइजीबाटै घर गएको भन्न सकिन्थ्यो । गृहसचिव अमेरिका उड्नुअघि हतारहतार एआइजीमा बढुवा सिफारिस भइसकेर पनि डिआइजीमा घर जानुपर्ने कुरा पोषराजका निम्ति २९ वर्षे जागिरे जीवनको सबभन्दा पीडादायी घटना भइदिएको छ । उपत्यका ट्राफिक प्रमुखको जिम्मेवारीमा रहेका उनी जागिरभरि कुनै पनि विवादमा नआएका अफिसर हुन् । सप्तरी जिल्लाका बासिन्दा उनी यी सब प्रपञ्च नगरिएको पनि त्यही दिन घर जाने थिए, तर इज्जतका साथ ।  २० गते मन्त्रिपरिषद् बैठक बस्दा गृहमन्त्री रविले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिएनन्, आफैं पनि बैठकमै थिए । एउटा मान्छेलाई बढुवा गर्ने सिफारिस राजनीतिक क्षेत्र वा निर्वाचनमा असर पर्ने कुनै दीर्घकालीन विषय थिएन । तर, जम्मा एक दिन एआइजीको फुली लगाउने कुरामा पनि वास्ता नगरिँदा आफ्नो सिफारिस आफैंले कार्यान्वयन गर्न नसकेको नालायकीको टीको लगाएर गृहमन्त्रीबाट बहिर्गमित हुँदैछन् । 

उता प्रहरी अस्पतालका एसएसपीमाथि यस्तै घोर अन्याय भयो । पोषराजको हकमा एआइजीको दरबन्दी खाली नहुँदै बढुवाको सिफारिस गरियो । तर, प्रहरी अस्पतालमा ५० दिनदेखि दुई डिआइजीको दरबन्दी खालि हुँदा पनि सिफारिस नगरिँदा नेत्र रोग विशेषज्ञ डा. दीपक श्रेष्ठ र नाक, कान, घाँटीका विशेषज्ञ डा.सुवास आचार्यले एसएसपीबाटै असार १३ मा अवकाश पाए । न उमेर, न सेवा अवधी केही नपुग्दै एसएसपी दर्जाको ६ वर्षे अवधीका कारण उनीहरुको जागिर गएको हो । दुबैजना २०५५ सालमा प्राविधिक सेवामा भर्ना भएका हुन् । अहिले बढुवा भएको भए २०८५ सालसम्म जागिर रहन्थ्यो ।
 

टिप्पणीहरू