लमजुङमा वर्षाैंपछि कम्युनिष्टले खोलो फर्काए

लमजुङमा वर्षाैंपछि कम्युनिष्टले खोलो फर्काए

विद्युत् उपभोक्ता समितिमा होस् वा खानेपानीमै किन नहोस् लमजुङको सदरमुकाम बेंशीशहरस्थित एक मात्र मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अनेक प्रयत्न गर्दा पनि कांग्रेसको पञ्जाबाट कम्युनिष्टहरूले फर्काउन सकेका थिएनन् । लमजुङ रेडक्रसलाई एकै भ्रातृसंगठन भन्दा पनि हुन्छ । उद्योग वाणिज्य संघको कुरै नगरौँ । तिसौँ वर्षदेखि मस्र्याङ्दी क्याम्पसमा न क्याम्पस प्रमुख परिवर्तन हुन सकेको छ न त वामपन्थीहरूको नेतृत्वमा सञ्चालक समिति नै गठन भएको छ । ०५२ सालमा स्थापित र हजारौँ उपभोक्ता रहेको बेंसीशहर खानेपानी तथा सरसफाइ समिति बीचको झण्डै ३० वर्षपछि कांग्रेस पञ्जाबाट फुत्किएको छ । 

केन्द्रीय सरकार माओवादी–एमालेसहितको भए पनि खानेपानीमा माओवादीसँग तालमेल गर्ने कांग्रेस एक तहका नेताको छलफल चल्दै थियो । कांंग्रेससँगको गठबन्धनले माओवादीका देव गुरुङ पराजित हुनु र प्रदेशको दुवै क्षेत्रमा कांग्रेसी विजयी बन्नुले माओवादीको राम्रै होस खुलेको थियो । यसो त स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धन लमजुङमा खासै काम लागेन ।

कांग्रेसबाट गम्भीर धोका पाएको महसुस गरेका लमजुङका माओवादी, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा सहकार्य गर्ने कुरै भएन । लामो समयदेखि सो संस्थामा निर्वाचन नभएको मात्रै हैन करोडौं हिनामिना भएको आरोप लागिरहेका बेला तत्कालीन भुजुङ गाविसका उपाध्यक्ष रामबहादुर गुरुङले एमाले–माओवादी गठबन्धनका तर्फबाट चुनाव जिते । खानेपानी उपभोक्ता समितिको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनभन्दा कम देखिएन ।

माओवादी एमालेको प्रगतिशील गठबन्धनविरुद्ध कांग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धन बनेको थियो । लोकतान्त्रिक समूहबाट निवर्तमान उपाध्यक्ष लोकेन्द्र गुरुङ प्रत्यासी थिए । उनलाई प्रगतिशील समूहबाट ७० वर्ष काटेका रामबहादुर गुरुङले ५८ मतले पछाडि पार्दै विजयी भए । उपाध्यक्ष पदमा भने कांग्रेस समर्थित आशकुमारी गुरुङ ११२ मतले बिजयी बनिन् । 

अध्यक्षमा रामबहादुर गुरुङले ७३५ मत प्राप्त गरेका थिए भने, लोकेन्द्र गुरुङले ६७७ मत पाएका थिए । घण्टीवाला पनि स्वतन्त्र समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए । कांग्रेस एमाले गठबन्धनलाई चक्मा दिँदै त्यो पार्टीका विष्णु घिमिरेले ३१० मत ल्याएका थिए । रमाइलो त के थियो भने एमाले बेसीशहर नगर अधिवेशनमा अध्यक्षको प्रत्यासी बनेर पराजित भएका शरद बरालकी श्रीमती सविता अधिकारीले घण्टी पार्टीको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेर ३६७ मत ल्याएकी थिइन् । एक उपाध्यक्ष र एक सदस्यबाहेक सबै पदाधिकारी र सदस्य एमाले–माओवादीले जितेका छन् ।

सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्ष नन्दलाल श्रेष्ठ, महिला सदस्यमा युक्मी गुरुङ र सविना रिमाल विजयी भएका छन् । दलित सदस्यमा गोपाल परियार ८१५ सर्वाधिक मत ल्याई विजयी भए । खुला सदस्यमा राजन पौडेल, भीमसेन अधिकारी, विनोद तामाङ बिजयी बन्दै गर्दा अजितबहादुर अधिकारी राप्रपाले ५७६ मत पाएर जिते । ३ हजारभन्दा बढी मतदाता थिए तर मत भने १७ सय ९९ मात्र खस्यो । 

यता, वामपन्थी गठबन्धन बनाएर पत्रकार महासघको निर्वाचन लड्ने तयारीमा रहेका प्रेस चौतारी र प्रेस संगठनका पत्रकार केन्द्रीय सरकारमा आउन लागेको उथलपुथलले यहाँ जिल खाएका छन् । तर एक स्रोतका अनुसार केन्द्रमा जे भए पनि जिल्लामा भने माओवादी, एमाले, समाजवादीले नछुट्टिने संकेत देखाएका छन् ।

–अञ्जनकुमार

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू