चलाख प्रचण्ड यसपटक कसरी चुके ?

चलाख प्रचण्ड यसपटक कसरी चुके ?

राजनीतिक क्षेत्रको अब्बल खेलाडी ठानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवर्तित राजनीतिक घटनाक्रममा भने निकै ‘लाटो’ सावित भएका छन् । आफ्ना गुप्तचर र सहयोगीहरूको अक्षमताका साथै एमाले अध्यक्ष केपी ओलीप्रतिको अति भरोसाका कारण दाहाल नराम्ररी पछारिन पुगेका हुन् । 

सूचना संयन्त्रहरू सबै बेकामे भएकाले कांग्रेस र एमालेबीचको ‘दहिचिउरा खाने’ भेटघाटभित्रको रहस्य बुझ्न नसक्नु र म हुञ्जेल उथलपुथल भइरहन्छ भन्ठान्नु आफैंमा ठूलो भ्रम हो । आफ्नो ओभर कन्फिडेन्स र प्रतिद्वन्द्वीको कुटिल रणनीतिको शिकार बनेकै कारण मन्त्रिपरिषद्बाट तत्काल कतिपय निर्णय भई कार्यान्वयन प्रक्रियामा गएका हुन् । १७ गतेको चार घण्टा लामो भेटमा ओलीले प्रचण्डलाई ‘कांग्रेसतिर नजानुहोस्, तपाईं पाँचै वर्ष प्रधानमन्त्री हुनुहोस्’ भन्ने व्यङ्ग्यात्मक भाषा ठम्याउन नसक्नुलाई सानो भूल मान्न सकिन्न । 

प्रचण्डलाई सत्ताबाट ओराल्न कांग्रेसले जुन सहमति गरेको छ त्यही सहमतिका कारण प्रधानमन्त्री हुने एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका लागि आउँदो दिनमा घाँडो हुने सम्भावना छ । उहाँले सहजै कांग्रेसलाई चुनावी सरकारको सत्ता सुम्पनुहुन्न भनी लख काट्नेभन्दा दावा नै गर्ने राजनीतिक विश्लेषकहरूको संख्या बढी देखिन्छ । किनभने अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले संसद विघटनका लागि गरेको दुई पटककै सिफारिस सही थियो भन्ने कुरा दोहो¥याउन थाल्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको संसदीय राजनीतिलाई अंक गणितसँग जोड्दै आफ्नो हितअनुकूल व्याख्या विश्लेषण गरे पनि दुई ठूला दलको सम्झौताले भने धारा ७६ (२) तिर नै तान्ने देखिन्छ । नयाँ समीकरणका दुई ठूला सहयात्रीमध्ये एमाले र कांग्रेस धारा ७६(३) मा जान चाहेको देखिँदैन । राजनीतिक विश्लेषकका अनुसार अहिलेको समीकरणका निम्ति ३ वटा कारणले मुख्य भूमिका निर्वाह गरेको छ । ती हुन्– टिकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायतमा कारवाही हुने अवस्थाबाट मुक्ति पाउनु, दोस्रो कारण संविधान संशोधनसहित मधेशी दलहरुलाई पनि एकजुट गराउनु र तेस्रो कारण भनेको माओवादीसहित साना दललाई छिन्नभिन्न र कमजोर पार्नु ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू