नख्खू जेलका कैदीबन्दी त्यत्तिकै मर्ने ?

नख्खू जेलका कैदीबन्दी त्यत्तिकै मर्ने ?
सुन्नुहोस्

ललितपुरको नख्खु कारागारस्थित ‘मनोसामाजिक अपांग बन्दी अस्पताल’ सरोकारवालाको बेवास्तामा पर्दा थुनुवाहरु मर्कामा परेका छन् । २०७३ सालमा स्थापित अस्पतालमा आवश्यक जनशक्ति र पर्याप्त उपकरणको अभावका कारण कैदीबन्दीलाई समस्या भएको छ । सो अस्पतालमा जम्मा २० जनाको जनशक्ति छ, जसमा एक मानसिक रोग विशेषज्ञसहित तीन जना चिकित्सक छन् ।

झण्डै एक हजार पाँच सय कैदीबन्दी रहेको कारागारमा चार सय मानसिक बिरामी छन् । उनीहरूलाई मासिक तीन पटक उपचार सेवा प्रदान गरिँदै आइएको छ । तर, उपकरणको अभाव हुँदा उपचारमा समस्या भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यता, दैनिक करिब एक सय जना अन्य रोगका बिरामी उपचार गराउन सो अस्पताल पुग्ने गरेका छन् । १५ शैयाको अस्पतालमा दिनहुँ त्यत्रा बिरामीलाई उपचार गर्न मुश्किल पर्ने स्वास्थ्यकर्मीहरूको गुनासो छ । 

सरकारसँग पटकपटक उपकरण तथा मेसिनका लागि माग गर्दा पनि सुनुवाई नभएको उनीहरूको भनाइ छ । अस्पताल बेहाल हुनुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोषी रहेको स्वास्थ्यकर्मीहरूको आरोप छ । मन्त्रालयले अवकाशमा जान लागेका चिकित्सक पठाउने थलो कारागारलाई बनाएको छ । जसका कारण अस्पतालको अवस्था नाजुक बन्दै गएको छ । जेल प्रशासन कार्यालयअन्तर्गत राखिएको पाँचौं र छैठौं तहका दुई चिकित्सक क्रमशः श्रीनारायण यादव र ज्याउल हकले कैदीबन्दीको उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरेका छन् । अस्पतालमा एमडी स्तरको चिकित्सक हुँदाहुँदै कम्पाउण्डभित्रको अस्पतालमा नपठाई अन्तै सिफारिस गर्ने कार्यको विरोध हुँदै आएको छ । 

त्यस्तै, उनीहरूमाथि एउटा रोग लागेको बिरामीलाई अर्को रोग लागेको भनी सिफारिस गर्ने गरेको आरोप पनि छ । ईंट्टाभट्टामा जिउँदै मान्छे पोलेको अभियोगमा दोषी ठहर भएका पूर्वमन्त्री मो. आफ्ताब आलमलाई हेरचाह गर्न हकलाई सो कारागारमा पठाइएको स्रोत बताउँछ । यादव भने पाँच वर्षदेखि सोही कारागारको जेल प्रशासनमा डेरा जमाएर बसेका छन् । 

मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम, निरीक्षणलगायतका नाममा उनीहरूले ‘फोगट्टे’ भत्ता बुझ्दै आएका छन् । यता, विभागका निर्देशक कमलप्रसाद पाण्डेले कारागारबाट माग आएपछि उपकरणको व्यवस्थापन गरिने बताए । ‘त्यो एउटा कारागारका कैदीबन्दीको मात्र नभई समग्र कारागारका मानसिक कैदीबन्दीको उपचार गराउने अस्पताल हो । त्यहाँ उपकरणको अभाव भएको भए, डिमाण्ड गर्नुपर्‍यो । बजेट दिन्छौं । नख्खु कारागारमा उपकरणको अभाव भएको गुनासो आएको मलाई थाहा भएन,’ उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू