देश छाड्नुअघि राजदूतहरूबीच दलाली

देश छाड्नुअघि राजदूतहरूबीच दलाली
सुन्नुहोस्

चार वर्षका लागि विदेशमा खटिएर जाने राजदूत भनेको आफ्नो देशको इज्जत, प्रतिष्ठालाई माथि उठाउनका निम्ति उस्तै परे सन्धि–सम्झौतासमेत गर्ने हैसियतको उच्च सम्मानित व्यक्ति हो । तर, तिनले सारा हैसियत बिर्सेर आफ्नै व्यापार–व्यवसायको सुके धन्दा चलाउन थाल्दा फेरि अर्का राजदूत विवादमा तानिएका छन् । बीचैमा एकतिर सत्ता समीकरण फेरिएकाले फर्काइन सक्ने डर, अर्काेतिर खाइखेली आएको पेशाबाट दानापानी छुट्ने सुर्ता ! प्रमाण र प्रसंग एकैछिनमा । त्यसभन्दा पहिले छेवैको एउटा ज्वलन्त उदाहरणः–  

यसअघि भारतका लागि रुक्मसमशेर राणाले दिल्लीमा कूटनीतिक तहमा सीमित हुनुको सट्टा आफ्नो व्यापार व्यवसाय बढाउन थालेको भन्दै २०७२ सालमा जिम्मेवारीबाट हटाइएका थिए । अहिले दक्षिण अफ्रिकामा तैनाथ दानबहादुर तामाङले आफ्ना म्यानपावर कम्पनीका निम्ति जापानमा कामदार पठाउने कोटा मागेको प्रमाण भेटिएको छ । केन्या र बोत्स्वाना पनि हेर्ने गरी ०७९ साउनमा राजदूत नियुक्त भएका उनी सन् १९९७ देखि म्यानपावर व्यवसायीका रुपमा सक्रिय र वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहिसकेका व्यक्ति हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चितवनमा उठेर हारेका थिए । ०७९ सालमा माओवादीकै कोटाबाट राजदूत बने ।

काठमाडौंस्थित कुलेश्वर, नयाँबस्तीमा रहेको आफ्नै म्यानपावर कम्पनी अराउण्ड दि वल्र्ड सर्भिसेज प्रा.लि. (एडब्ल्युएस) का निम्ति जापानमा कामदार पठाउने भिसा मिलाइदिन जापानका लागि नेपाली राजदूत दुर्गा सुवेदीसँग गत हप्ता आग्रह गरेका थिए । त्यही आग्रह व्यक्तिगत रुपमा गरेको भए कुरा गोप्य हुन्थ्यो होला । तर, नेपालबाट विभिन्न देशमा खटिएका ३२ जना राजदूतको ह्वाट्सएप गु्रपमा च्याट गर्दै दानबहादुरले आफ्नो कम्पनीका निम्ति कोटा मागेर दुर्गालाई म्यासेज लेखेका छन् । ‘...डिमाण्ड अप्रुभल गरिदिनुहोला’ उनले अझै अगाडि लेखे, ‘छिटो गरिदिनुभए आभारी हुने थिएँ ।’ जवाफमा दुर्गाले ‘आइ ह्याभ नोटेड, आई विल फलो इट अप हजुर’ भनेका छन् । यस्तो म्यासेज लेख्ने क्रमको शुरुमा तामाङले नेपालमा सरकार फेरिएको र आफूहरु सामान प्याक गर्न थालिसकेको भनी दुःख पोखेका थिए । ‘हामी त सामान प्याक गर्दैछौं, कतिबेला बोलाउँछ, थाहा छैन’ भनेर लेखेपछि आफेनो कम्पनीको नाममा आएको एउटा डिमाण्ड अप्रुभलका निम्ति आग्रह गरेका हुन् । 

यसअघि डाबर नेपालसँग सम्बन्धित कांग्रेस पृष्ठभूमिका रुक्मसमशेरलाई ०७२ मा केपी ओलीको सरकार गठन हुनासाथ फिर्ता बोलाइएको थियो । सलामी शेयर पाएर रुक्मसमशेरले डाबर चलाएका हुन् । डाबरका मुख्य मालिक एसके बर्मन र रुक्मसमशेरहरुको पहिला कलकत्तामा घर सँगै थियो । उनका बुबा सुवर्णसमशेर प्रायः त्यहीँ बस्थे । नक्सलवादी आन्दोलनमा बर्मनहरुलाई दुःख दिइएपछि रुक्मसमशेरहरुको घरमा उनी बास बस्थे । पछि त्यहाँबाट बर्मन परिवार दिल्ली सर्‍यो । त्यसपछि डाबरको व्यापार बढ्दै गयो । रुक्मसमशेरहरु ०४६–०४७ सालतिर नेपाल फर्किए । उनीहरुलाई बर्मन परिवारले सलामी शेयरबापत डाबर नेपालको दुई प्रतिशत अंशियारी (शेयर) दिएको थियो । राजदूत भएर भारत जाँदा त्यसैको व्यापार प्रवद्र्धनका काम गरेको आरोपमा उनी फिर्ता गरिएका हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू