हरियो तरकारी : गाउँमा कुहियो, शहरमा मूल्य चुलियो

हरियो तरकारी : गाउँमा कुहियो, शहरमा मूल्य चुलियो

पछिल्ला एक सातादेखि काठमाडौं उपत्यकामा तरकारीको मूल्य अकाशिएको छ । झरी, बाढी र पहिरोसँगै उकालो लागेको तरकारीको भाउ राजधानीमा छोइनसक्नु छ ।

काठमाडौंको मुख्य तरकारी बजार कालीमाटीमै तरकारीको मूल्य अप्रत्याशित रुपले बढेको छ । थोक बजारमै तरकारीको मूल्य निरन्तर उकालो लागेपछि खुद्रा बजारमा बढ्नु नौलो भएन ।  

तरकारीमा अचाक्ली मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सा पनि महँगो भएको छ । आलु, प्याज, बोडी, करेलाजस्ता तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । 

बिहान–बेलुकीको छाक टार्न समेत धौैधौ परिरहेको उनीहरुको गुनासो छ । तरकारीको बढ्दो मूल्यवृद्धिका किनेर खानै नसक्ने अवस्थामा आम नागरिक पुगेका हुन् ।

नयाँ बानेश्वर बस्दै आएकी सरिता कार्की भन्छिन्, ‘तरकारीको मूल्य हरेक दिन बढिरहेको छ । कुनै पनि तरकारी छोइसक्नु छैन । यसरी नै भाउ बढ्ने हो भने खानै छोड्नुपर्छ जस्तो छ ।’ भक्तपुरको सूर्यविनायक बस्ने भगवती चौधरी व्यापारीहरुले तरकारीमा मनलाग्दी मूल्यवृद्धि गरेको बताउँछिन् । उपभोक्ता ठगीरहँदा समेत सम्बन्धित निकायले अनुगमनमा चासो नदेखाएको उनको गुनासो छ । 

‘सबै तरकारीको अचाक्ली मूल्यवृद्धि भएको छ । व्यापारीहरुले तरकारीको आफुखुशी मनलाग्दी मूल्य तोकिरहेका छन् । तर, कुनै पनि निकायले बजार अनुगमन गरेको देखिँदैन,’ उनले भनिन् । यता, ललितपुरको पुल्चोक घर भएका गोपाल तिमल्सिना पनि तरकारीको बढ्दो मूल्यवृद्धिका कारण बिहान–बेलुकाको छाक टार्न समेत समस्या हुन थालेको बताउँछन् । 

एक छाक तरकारीको मूल्य सामान्य परिवारको निम्ति दुई सयमाथि पुगेको भन्दै उनी बताउँछिन, ‘सरकारले कि त उपभोक्तालाई राहत दिनुपर्छ कि किन र कसरी तरकारीको मूल्य बढ्यो भनेर स्पष्ट पार्नुपर्छ ।’ 

सयौं प्रतिशत मूल्यवृद्धि

पछिल्लो एक महिनामा तरकारीमा सयौं प्रतिशत मूल्यवृद्धि भएको छ । दैनिक रुपमा हरेकजसो भान्सामा पाक्ने आलु, प्याज, गोलभेंडा, हरियो खुर्सानीजस्ता तरकारीको मूल्य थोकमा नै ह्वात्तै बढेको छ । 

गोलभेंडा, बन्दा, भन्टा, घिउ सिमी, पुदिना, काँक्रो, भिण्डी, चिचिण्डो, घिरौला, फर्सी, साग, हरियो तथा भेडे खुर्सानी, हरियो लसुन, काउली, बोडी, तिते करेला, लौका, पिडाँलु, च्याउ, ब्रोकाउली, न्यूरो, मूलालगायत सबैजसो तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ । 

कालीमाटी तरकारी तथा फलफूल बजार समितिका अनुसार ठूलो गोलभेडा प्रतिकेजी एक सय ३० रुपैयाँ पुगेको छ । एक महिनाअघि प्रतिकेजी ५५ रुपैयाँ थियो । गत असार २ गतेसम्म १७ रुपैयाँ प्रतिकेजी रहेको सानो गोलभेंडा अहिले बढेर ५० रुपैयाँ पुगेको छ । एक महिनाअघि २५ रुपैयाँ रहेको बन्दाको भाउ अहिले प्रतिकिलो ५० रुपैयाँ छ ।  

त्यस्तै, काउली ३५ रुपैयाँबाट ७० रुपैयाँ, सेलो मूला २८ रुपैयाँबाट ५० रुपैयाँ, भान्टा लाम्चो ३५ रुपैयाँबाट ९० रुपैयाँ र डल्लो भान्टा ४५ रुपैयाँबाट एक सय रुपैयाँ प्रतिकिलो पुगेको छ । बोडी ४५ रुपैयाँबाट बढेर एक सय ३० रुपैयाँ, घिउ सिमी ५५ रुपैयाँबाट एक सय ८० रुपैयाँ, भटमासकोशा एक सय १० रुपैयाँबाट एक सय ५० रुपैयाँ, तितो करेला ४५ रुपैयाँबाट एक सय २० रुपैयाँ भन्न थालिएको छ ।

घिरौंला र लौका ४५ रुपैयाँबाट एक सय २० रुपैयाँ पुग्दा रायोको साग ४५ रुपैयाँबाट दुई सय रुपैयाँ प्रतिकेजी पुगेको छ । हरियो प्याज ८५ रुपैयाँबाट एक सय ५० रुपैयाँ, कन्य च्याउ एक सय ६५ रुपैयाँबाट एक सय ८० रुपैयाँ र डल्ले च्याउको निम्ति दुई सय ९० रुपैयाँबाट तीन सय ७० रुपैयाँसम्म तिर्न पर्छ ।

कुरिलो दुई सय २६ रुपैयाँबाट तीन सय रुपैयाँ पुगेको छ । निगुरो ७५ रुपैयाँबाट एक सय २० रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँबाट एक सय ५० रुपैयाँ पुगेको छ । 

यसकारण बढ्यो तरकारीको भाउ  

यतिबेला देशभर प्राकृतिक प्रकोप छ । बाढीपहिरोले गर्दा राष्ट्रिय राजमार्गसहित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । उपत्यकामा धेरै तरकारी भित्रिने चितवन, मकवानपुर, काभ्रे, रामेछाप, धादिङ, नुवाकोटलगायत जिल्लाको सडक अवरुद्ध हुँदा तरकारी संकलनमा असर परेको हो । 

बाटो अवरुद्ध हुँदा ढुवानीमा समस्या भई शहरी क्षेत्रमा अप्रत्याशित रुपमा तरकारीको मूल्यवृद्धि भएको सरोकारवालाहरु बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बाढीपहिरोका कारण बाटो अवरुद्ध हुनुका साथै वर्षातको समयमा तरकारीको उत्पादन घट्ने भएकोले मूल्यवृद्धि भएको बताए ।

तरकारीको माग उही रहेपनि उत्पादन र आपूर्ति घट्दा मूल्यवृद्धि भएको उनी बताउँछन् । ‘वर्षातको समयमा यसै पनि तरकारीको उत्पादन घट्ने गर्छ । त्यसमाथि उत्पादन भएको तरकारी पनि बाटो अवरुद्ध हुँदा बजारसम्म आउन नसकेकोले मूल्यवृद्धि भएको हो,’ उनले भने । 

सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले काठमाडौं उपत्यकामा भित्रिने तरकारीको आपूर्ति ४० देखि ५० प्रतिशतसम्म घटेको छ । सामान्यतया दैनिक छ सयदेखि सात सय टन तरकारी बजारमा भित्रिने गरेकोमा अहिले घटेर तीन सयदेखि पाँच सय टनमा झरेको उनले बताए । ‘तरकारीको माग बढ्दो छ तर आपूर्ति घट्दै गएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने । 

गाउँमा कुहियो, शहरमा अझै बढ्न सक्ने 

शहरी क्षेत्रमा तरकारीको अप्रत्याशित मूल्यवृद्धि भएको गुनासो आइरहँदा गाउँका किसानहरुको भने दुःखसो अर्को रहेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठ बताउँछन् । उनले भने, ‘उत्पादन भएको तरकारी पनि शहर पुर्याउन नसक्दा किसानहरु बारीमै तरकारी कुहिएको हेर्न बाध्य भएका छन् ।’

‘लगातारको वर्षाका कारण राजमार्गसहित ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका छन् । सञ्चालनमा रहेकामा पनि ठुला मालवाहक गाडी चल्न दिइएको छैन । सरकार मनसुनबाट हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि कहिल्यै पनि पहिला नै तयारी गर्दैन । यसको मार कृषक र उपभोक्ताले भोग्नुपर्छ । महिनौं दुःख गरेर उत्पादन गरेको वस्तु अहिले किसानले शहरसम्म ल्याउन सकेका छैनन् । उनीहरुको दुःख बेग्लै छ,’ अध्यक्ष श्रेष्ठले थपे, ‘तर, सरकार किसानको पीडा न देख्छ, न सुन्छ । 

हरेक वर्ष बर्खायाममा यस्तो समस्या निम्तिने गरेको भन्दै उनले पूर्वाधार विकासमा जोड दिन समेत सम्बन्धित निकायसँग आग्रह गरे । ग्रामीण सडकहरुको समयमै निर्माण र मर्मतमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले तरकारीको मूल्य अझै बढ्न सक्ने समेत बताए । उनले भने, ‘तरकारीको भाउ बढ्न शुरु मात्र भएको हो । अझै चर्को मूल्यवृद्धि हुनेछ । मनसुन निष्क्रिय नभएसँगै तरकारीको मूल्य घट्दैन ।’

टिप्पणीहरू