कमिसनको चक्कर : तौलिहवाको कार्यालयमा कोहलपुरको फर्निचर

कमिसनको चक्कर : तौलिहवाको कार्यालयमा कोहलपुरको फर्निचर

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख गौरब पाण्डे शंकास्पद आर्थिक कारोबारमा मुछिएका छन् । आफूलाई निवर्तमान ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको खास मान्छे दाबी गर्दै आएका आठौं तहका इन्जिनियर पाण्डेमाथि कार्यालयको फर्निचर खरिदमा अनेक आशंका गरिएको बताइन्छ ।

स्थायी घर कोहलपुर भएका पाण्डेले कार्यालयका लागि आवश्यक पर्ने फर्निचरहरु उतैको पसलबाट खरिद गरेका हुन् । उनले गत आव २०८०÷८१ को बजेटबाट तीन लाख भुक्तानी दिने चालु आव २०८१÷८२ बाट दुई लाख गरेर करिब पाँच लाखको फर्निचर खरिद गरेको कार्यालय सोतको दाबी छ । ती फर्निचरहरु हाल प्रयोगको सट्टा कार्यालय परिसरको नयाँ भवनभित्र राखिएको बताइन्छ । 

इन्जिनियर पाण्डेले त्यति टाढाबाट फर्निचर खरिद गर्नुलाई शंकाको दृष्टिकोणले हेरिएको छ । कोहलपुरको आदेश फर्निचर, स्वर्गद्वारी फर्निचर तथा एचएस सप्लायर्सबाट उनले कार्यालय प्रयोजनको निम्ति सामाग्री खरिद गरेका हुन् । त्यसमध्ये तीन लाख भुक्तानी भइसकेको छ भने अन्य बाँकी देखिन्छ । 

तौलिहवा सदरमुकाम र नजिकका विभिन्न बजारमा दर्जनौं फर्निचर सप्लायर्स हुदाँहुदै कोटेसन नलिई २०७ किमी टाढाको बजारबाट महँगोमा सामान खरिद गरेपछि अनियमितताको आशंकासहित आरोप लागेको हो ।

टेण्डरको काम सबै कोटेशनमा 

उक्त केन्द्रको नयाँ भवन निर्माणकै क्रममा ठेकेदारले ठेक्का तोडेपछि बाँकी कार्य सम्पन्न गर्न पुनः ठेक्का आह्वान गर्नुपर्नेमा पाण्डेले स्थानीय एक ठेकेदारलाई कोटेशनमा काम गराएको बताइन्छ । स्थानीय बुद्धिराम गोसाईलाई एक लाखभित्रका काम पाँच वटा कोटेसनमा गराएका हुन् ।

अत्यावश्यक नदेखिएको पर्खाल दुई लाखमा र गोसाईंको रबी निर्माण सेवा तथा गोसाइकै अन्य फर्मबाट नयाँ भवनको अधुरा कार्य भन्दै तीन लाख बढीको काम गराइएको छ । कोटेशनबाट काम गरिँदा सबैलाई पत्रम पुष्पम गर्नुपर्ने भएकाले खासै नाफा नभएको ठेकेदार गोसाइले कार्यालयका कर्मचारीसँग गुनासो गरेपछि ती कुरा बाहिर आएको हो ।

घरभन्दा पर्खाल प्राथमिकतामा 

कार्यालय प्रमुखको निवास भवन जीर्ण भएकाले मर्मत गर्नुपर्ने भन्दै कार्यालय देखि १५ किलोमिटर टाढाको ओदारीमा मासिक १५ हजार रुपैयाँमा भाडामा फ्ल्याट लिइएको छ । सोही भवनमा रहेका हाकिम पाण्डेले मर्मत सम्भार रकमले कार्यालयको निवास वरपरकोपर्खाल मर्मत गराएका हुन् । यसबाट घर मर्मत नभएको, भाडाको रकम खर्च भएको र टाढा बस्दा दिनहुँ आउजाउमा सवारी साधन खर्च भएको कर्मचारीहरुको भनाई छ ।

त्यसैगरी कार्यालय भवनको मर्मत सम्भार तथा बुशकटिङ्ग भुक्तानीमा पनि त्यहाँका कर्मचारीले आशंका गरेका छन् । कपिलवस्तु क्षेत्रको विद्युत आपूर्ति अत्यधिक अनियमित हुने गरेको छ ।

टिप्पणीहरू