ऋण नतिर्ने मन्त्री, जदौ गर्ने हाकिम

ऋण नतिर्ने मन्त्री, जदौ गर्ने हाकिम
सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिन्चाइ मन्त्रीमा नियुक्त संखुवासभाका दिपक खड्का शीतल निवासबाट पदभार ग्रहणका लागि दिउँसो मन्त्रालय पुग्दा मूल ढोकामा फूलमाला र खादा बोक्ने कर्मचारीको भीड थियो । उक्त भीडमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल पनि खादा बोकेर उभिएका थिए । सामान्यतया बैंक तथा अन्य असम्बन्धित निकायका कर्मचारीहरु मन्त्रीलाई स्वागत गर्न मन्त्रालयको ढोकामा खादा र माला बोकेर उभिने गर्दैनन् तर सिंहदरबारमा वाणिज्य बैंकका सिईओले स्वार्थ जोडिएका मन्त्रीलाई स्वागत गर्दा धेरैले अचम्म मानेका छन् ।

हुन तः खड्का पछिल्लो समय जलविद्युत र होटल लाइनमा ठूलै लगानीकर्ता मानिन्छन् । उनको धेरैजसो निर्माणाधीन जलविद्युत परियोजना र ठूला होटलमा राष्ट्रिय वाणिज्य बैंकको लगानी छ । यो हिसाबले हेर्दा राष्ट्रिय वाणिज्य बैंक ऋणदाता हो भने खड्का ऋणी ।  खड्का मन्छियाम हाइड्रोपावर र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष हुन् । मन्छियामले संखुवासभामा दुई वटा जलविद्युत उत्पादन गरिरहेको छ । ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ र ७.७० मेगावाटको तल्लो पिलुवा खोला १ मा विभिन्न बैंकले लगानी गरेका छन् । त्यसमध्ये वाणिज्य बैंक एक हो जसको लिड विनोद चौधरीको नबिल बैंकले गरेको अवस्था छ ।

यस्तै हालत रसुवाको लाङटाङ भोटेकोशी हाइड्रोपावरमा पनि छ । उक्त कम्पनीको ९० प्रतिशत सेयर खड्काले चिनियाँ कम्पनीलाई बिक्री गरिसकेका छन् । खड्काले काठमाडौंको बूढानीलकण्ठमा पाँचतारे होटल बनाइरहेका छन् । आगामी केही महिनाभित्र उद्घाटन हुने उक्त होटलमा डेढ अर्ब रुपैयाँ वाणिज्य बैंकको लगानी छ । धुलाबारीमा समेत उनको यस्तै होटल निर्माणाधीन छ । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का सल्लाहकार हुन् । सिइओ खनालले भने आफू वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सञ्चालक समिति सदस्यका हैसियतमा मन्त्रीको स्वागत गरेको बताए । जनआस्थासँगको कुराकानीमा भने, ‘ऊर्जामन्त्री उक्त केन्द्रको अध्यक्ष हुने व्यवस्था छ । म वित्तीय क्षेत्रको प्रतिनिधिको रुपमा सञ्चालक समिति सदस्य छु ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू