राजनीति न हो, यसरी पो रड्कियो

राजनीति न हो, यसरी पो रड्कियो

सबै काम गर्ने केपी ओली, हौसिएर बोलिदिँदा मारमा पर्ने प्रचण्ड ! यस्तो हुँदा अहिले प्रचण्ड र उपेन्द्र यादवबीच बोलचाल नै बन्दको स्थिति छ । 

आफू अमेरिकामा भएको बेला जसपा विभाजन गराउने काम ओलीको थियो भनेर उपेन्द्रले राम्रोसँग बुझेका छन् । शुरुमा त प्रचण्ड त्यस्तो कामको मोहोरा बन्नु भएन होला भन्ने लागेको थियो । तर, सिन्धुलीस्थित खुर्कोटको एक कार्यक्रममा पुगेर जसपा विभाजनको जिम्मा नै लिएजसरी भाषण गर्नुभयो । यसपछि उपेन्द्रलाई लाग्यो, प्रचण्ड ओलीको मोहोरामात्रै होइन, पिछलग्गु नै हुनुभयो । यसपछि कैयौंपटक जम्काभेट हुँदा पनि दुई जनाबीच बोलचाल भएन । अहिले अप्ठेरो परेको बेला जसपाका दुई खेमामध्ये दुबैले प्रचण्डको साथ छाडिदिए । अशोक राईहरूले त त्यसै पनि छाड्ने नै भए, किनभने त्यो पार्टी नै ओलीद्वारा जन्माइएको मिनी एमाले नै भयो । ओलीको मारमा परेर विभाजन सहनुपर्ने पीडामा प्रचण्डले मल्हम लगाइदिनुहोला भन्ने आशा गरेका उपेन्द्रको घाउमा प्रचण्डले उल्टै नुनचुक दलिदिनुभयो ।

त्यसअघि प्रचण्डले नै गौर घटना उल्ट्याउन खोज्नुभयो । राजनीतिमा व्यक्ति विशेषलाई लक्ष्यित गर्दै धम्क्याएर, अप्ठेरोमा पारेर अगाडि बढ्दा प्रचण्डका आफ्नै मान्छे पनि विभिन्न घटनाका ‘फाइल खुल्ने’ नाममा परे । गौर घटनामा माओवादीकै कार्यकर्ता मारिएका थिए । यदि प्रहरीलाई उक्त घटनाको अनुसन्धान अगाडि बढाउन लगाएको भए बढेको बढ्यै हुन्थ्यो र त्यसबाट उपेन्द्र यादवलाई सीधै मार पर्ने अवस्था थियो । 

यस्तो अवस्थाको बीचमा कांग्रेससँग उपेन्द्रको सहकार्य बढ्यो । देउवाले बेलाबेलामा बोलाएर विभाजनका विषयमा चासो राख्नुभएको थियो । त्यसैले एमाले भनेर हैन, कांग्रेसको मुख हेरेर प्रचण्डलाई उपेन्द्रले विश्वासको मत नदिएका हुन् । अब उपेन्द्रहरू सरकारमा नसमेटिनु भनेको प्रचण्डसँग मिल्नु हो । त्यो सहज नहुने कारण सत्तापक्षीय, तर मन्त्रीविहीन हुने स्थिति छ । 

अहिलेको सरकारमा सबै मन्त्रालय भरेर अशोक राई पक्षको जसपालाई दुईवटा सिट दिइएको छ । साना दलका नाममा ३ थान राज्यमन्त्री मात्रै खाली छन् । समर्थन गरे पनि उपेन्द्र यादवको पार्टीलाई वास्ता नगरिएको यसैबाट बुझिन्छ । दुई ठूला पार्टीले सरकार चलाएपछि साना दलले मन्त्रालय नै पाए पनि खासै काम गर्न सक्ने हैनन् । एमालेका निम्ति त अशोक राईहरू आफूले जन्माएको सन्तान भए, त्यसैले तिनको स्याहारसुसार गर्नैै पर्ने बाध्यता छ ।

पिएसको ठाकठुक

ओलीको प्रवृत्ति नै कस्तो भने, देखाउनका लागि पनि कतिपय काम गर्ने । जस्तो कि, ०७२ साल असोजमा प्रधानमन्त्री हुँदा सिपी मैनाली र चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री बनाउनुको कारण थियो, सिनियर नेतालाई आफूभन्दा मुनि राखेको स्वाद लिनु । अहिले पनि पार्टीभित्र शंकर पोख्रेलभन्दा फरक कित्ताका मानिने विष्णु पौडेल अर्थमन्त्री र पृथ्वीसुब्बा गुरुङलाई सञ्चार मन्त्रालय दिनुभएको छ । पृथ्वीसुब्बा (पिएस) ले त पदम गिरीलाई दोहोर्‍याउने र सुनीता बराललाई मन्त्री बनाउने कुरालाई लिएर मज्जैले चित्त दुखाए ।

उनले गण्डकी प्रदेशबाट कम्तीमा दुई मन्त्रीचाहिने र कोही पनि दोहोर्‍याउन नपाइने अडान लिए । ‘योे निजी पार्टी होइन, जे मन लाग्यो त्यही गर्नलाई’ भन्दै कराए, ‘को हो पदम गिरी, जसलाई एकपछि अर्को गर्दै मन्त्री बनाउनुपर्ने ? को हो सुनीता बराल, त्यत्रा दिग्गज महिलाहरू हुँदाहुँदै मन्त्री नै बनाइदिनुपर्ने ?’ यसपछि पदम र सुनीताको नाम काटियो । सुनीताको सट्टा विद्या भट्टराईको प्रस्ताव पिएसले गरे । योगेश भट्टराईलाई सञ्चार दिने कुरामा केपी आफैंले नाम काटेर पृथ्वीसुब्बाको नाम हाल्नुभयो । 

देवेन्द्र दाहाल र दामोदर भण्डारीलाई मन्त्री बनाउनु र दोहोर्‍याउनुपर्ने भएपछि छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम कट्यो । दामोदर यसअघि पनि सोही मन्त्री थिए । तर, सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ जितेका एकमात्र सांसद भएको कारण उनको नाममा कसैले पनि आपत्ति जनाएन । 

त्यस्तै, सरकारमा मधेसी देखाउन लोसपालाई राखियो । सिके राउतको जनमत पार्टीलाई मुख्यमन्त्रीमै सीमित गरियो । रेशम चौधरीको पार्टीका कोही पनि मन्त्री भएनन् । यसरी विपक्षीतर्फ माओवादी ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरेर ६३ एकातिर भइरहने भयो । 

उता, नेत्रविक्रम चन्द (विप्लव) ले चित्रबहादुरहरू समेतलाई मिलाएर समाजवादी मोर्चा बनाउने प्रयास गरिरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू