रविका टाउकामा अजंगको तरबार

रविका टाउकामा अजंगको तरबार

मिडियातिर हाट्टहुट्ट गर्दागर्दै राजनीतिमा छिरेका रवि लामिछानेका निम्ति अबका दिन सकसपूर्ण हुने देखिँदैछ, विशेषतः प्रधानमन्त्री केपी ओलीले उनलाई राम्रो नजरले नहेर्नुका कारण ।

प्रचण्डको सरकार ढल्ने पक्कापक्की हुनुभन्दा केही दिन पहिलेसम्म उनी हरेक कामको ब्रिफिङ गर्न दिन बिराएर ओलीलाई भेट्थे । बरु, प्रचण्डलाई रवि र उनको मन्त्रालयका कतिपय कुरा थाहा हुँदैन थिए, ओलीले चाहिँ रविमार्फत एक–एक रिपोर्ट राख्नुहुन्थ्यो । अहिले दिन कस्तो आयो भने, हिजो माया गरेर मन्त्री बनाइएका कर्णबहादुर थापालाई आफैंले बर्खास्त गरी महेश बस्नेतलाई उद्योगधन्दा चलाउने मन्त्री बनाएजस्तो । अर्थात्, ओलीको निर्मम शिकार बन्ने स्थितिमा छन् रवि । ओलीले चाहिँदासम्म रविको काँधमा बन्दुक राखेर हान्नुभयो, पछिल्ला दिनमा रविले पनि ओलीलाई ‘बाँकी राख्दिन’ भन्न थालेका थिए । कसैलाई धेरै पुल्पुल्याइएपछि एकदिन ऊ आफैंविरुद्ध खनिन्छ भन्ने कुरा शुरुमा ओलीले बुझ्नु भएन । अनि, ओलीले मिल्न छाडेपछि र बदला लिनुपरेपछि केसम्म गर्नुहुन्छ भन्ने कुरा रविले शुरुमै ख्याल नगर्दा अब माथि उल्लेख भएको अवस्था नजिक–नजिक देखिन्छ । राहदानी मुद्दाको पेसी सारेर मंसिर १७ मा पु¥याइएको छ । सहकारी काण्ड टाउकोमा तरबार बनेर तेर्सिएकै छ । रविले हिजो ‘जिबी राईको लोकेशन पत्ता लाग्यो’ भनेर केटाकेटी पारामा बोलिदिए । उनी मन्त्री हुँदैमा भारतबाट बेचनलाई असार १४ गते काठमाडौं ल्याइयो, १५ गतेदेखि नै गडबडी शुरु भयो । त्यहाँसम्म रविले आफूलाई नै सर्वेसर्वा ठानिरहेका थिए । उनलाई ओलीले छोराभन्दा बढी माया गर्दागर्दै झ्याम्मै हान्नुभयो । यो कुरा समयमा बुझ्नै सकेनन् । 

आफैं जान्नेसुन्ने, अरुका कुरा नमान्ने रविको आदतले दुःख पाउने अवस्थामा पुगेका हुन् । उनले सल्लाह लिने मान्छे कोही छैनन् । सोधखोज गर्ने हो भने पार्टीभित्र र बाहिर पनि एकसे एक मानिस छन्, तर उनी नै सोधखोज गर्न चाहँदैनन् । तिनै उरन्ठेउला दिपक बोहोराहरू मात्रै हुन्, ‘यसो गरौं–उसो गरौं’ भन्ने । वरिष्ठ अधिवक्ता सुशील पन्तहरू त आफ्ना वकिल भन्नेमात्रै हो, रविले कुनै कुरामा सल्लाह माग्ने हैनन् । वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरे पनि ‘सल्लाह नै गर्दैन’ भन्दै साथीहरूसँग गुनासो गरिरहेका हुन्छन् ।

उनको यही स्वभावका कारण एआइजीमा बढुवा सिफारिसको निर्णय गराइसकेर पनि पोषराज पोखरेललाई डिआइजीबाटै घर पठाइयो । कि, सिफारिस नै गराउनुहुँदैन थियो । गराइसकेपछि २० गतेको क्याबिनेटबाट सिफारिस स्वीकृत गराउनुपथ्र्यो । दरबन्दी खालि भएको ५० दिनसम्म पनि प्रहरी अस्पतालका दुई एसएसपीको बढुवा गरेनन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनको संलग्नताबारे अनुसन्धान गर्ने सूर्यबहादुर रानादेखि पोखराको सूर्यदर्शन सहकारीको छानवीन गर्ने टोलीहरू ती–ती ठाउँबाट लखेटिए । 

अर्कातिर, अनुशासन समितिका प्रमुख डा.भरतमणि देवकोटाले बनस्थलीस्थित आफ्नै घरमा पार्टी कार्यालय चलाउन दिएका छन् । सरकार ढलेयता त्यहाँ सुनसान छाएको छ । तलब खाने पाँच–सात जना र स्वयंसेवकका रुपमा केही कार्यकर्ता नियमित जान्छन् । अरु, बाहिरबाहिरै विभिन्न खेलोफड्कोमा मग्न छन् । चितवनको पार्टी कार्यालय चलाउन महिनामा तीन–चार लाख खर्च हुन्छ । भरतपुर– ११, भोजाडस्थित कुमारीचोकमा उक्त कार्यालय छ । लामिछाने थरका एकजना गाडी व्यवसायीले महिनामा २५ हजार भाडा तिर्ने गरी उक्त घर भाडामा लगाएका हुन् । प्रतिसदस्य एक हजार रुपैयाँका दरले रकम संकलन गर्दा जम्मा भएको १५–२० करोड रुपैयाँ नेपाल बैंकमा खाता खोलेर राखिएको छ ।

अहिलेसम्म त्यही पैसाले कार्यालय चल्दै आएको छ । तर, त्यो खातामा पैसा थपिएको छैन, घटिरहेको मात्रै छ । रवि, उनकी पत्नी निकिता, पिए दिपक बोहोराहरूले जहाँ–जहाँबाट पैसा लिन्छन्, लगेर अन्यत्रै थन्क्याउने गरेका छन् भनिन्छ । आर्थिक व्यवस्थापनकै लागि कालोसूचीमा परेका एकजना म्यानपावर व्यवसायी उनको चार महिने कार्यकालमा तीन पटक सिंगापुर र बैंकक गएर आए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू