चीन घुम्दाघुम्दै त्यो खबरले सबै चकित

चीन घुम्दाघुम्दै त्यो खबरले सबै चकित

चार दिनसम्मको त्यो खुशी जब पाँचौं दिनदेखि निराशामा बदलियो, यसपछि एकले अर्कोलाई हेरेका हेर्‍यै भए । यस्तो नमज्जाका बीच एमालेको ३० सदस्यीय टोली चीनबाट फर्किएको छ ।

असार ११ गते राति उपमहासचिव विष्णु रिमालको नेतृत्वमा उडेको टोलीलाई १२ गते बिहानदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल हेर्ने डेस्कका प्रमुखसहितले सीधै आतिथ्यता दिइरहेका थिए । ११ दिनको उक्त भ्रमणमा शुरुका चार दिनसम्म त चिनियाँहरू नेपालमा कम्युनिष्ट मिलेका नाममा धेरै नै दंग थिए । विदेश विभागकी नेतृ सुन हाइयानले त भनिन् नै, ‘तपाईंहरूको देशमा वामपन्थी मिलेकामा हामी खुशी छौं । यसैलाई मिलाएर जानुस् ।’ तर, पाँचौं दिनमै नेपालको राजनीतिमा उथलपुथल भएको समाचार सुनेपछि उनीहरू निराशमात्रै भएनन्, चिन्ताका साथ एक–एक व्यक्तिसँग सोध्न थाले, ‘किन यस्तो भयो ? कसरी भयो ?’ 

टोलीमा पूर्व स्वास्थ्य र कानुन मन्त्री भानुभक्त ढकाल, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ, शंकर पोखरेलकी पत्नी सुजिता शाक्य, मधेस प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डल, मधेस प्रदेशकै आरती भण्डारी, राष्ट्रियसभाकी सदस्य इन्दिरादेवी गौतम, गतवर्ष माओवादीको दाङ इञ्चार्ज छोडेर एमाले भएका जीवन गौतम, बाजुराका पूर्वसांसद लालबहादुर थापा, किसान महासंघका अध्यक्ष प्रेम दंगाल, हुम्लाका नगेन्द्र शाही, जिफन्टकी पेम्बा लामा, कर्णालीकी प्रदेश सांसद बदामीकुमारी बोहोरा, रामेछापको खाँणादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, सम्पर्क समन्वयका नेता डा.भिष्मनाथ अधिकारी, चितवनका पूर्वसांसद तथा वकिल कृष्णभक्त पोखरेल, इलामबाट झलनाथलाई हराउने महेश बस्नेत, कोशी प्रदेशसभामा संखुवासभाकी सांसद सरस्वती सुब्बा, विदुरकुमार लिङथेप, बर्दियाकी शान्ति चौधरी, ओलीका पूर्वपिए इन्द्र भण्डारी, गुल्मीका पार्टी अध्यक्ष बालसिंह काउछा, म्याग्दीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना, युवा संघका उपाध्यक्ष अमित लामा, जिफन्टका किरण माली, स्याङ्जाको फेदीखोला गाउँँपालिका अध्यक्ष घनश्याम सुवेदी, वरिष्ठ अधिवक्ता लीलाधर उपाध्याय र झापाका अखिल अध्यक्ष मनोज ताम्ली थिए । 

चिनियाँहरू माओवादीले आफ्नो जनाधार गुमाइरहेको र केपी ओली दक्षिण एशियाकै लोकप्रिय कम्युनिष्ट नेता हुन् भन्दै अब नेपालको विकास र समृद्धिलाई तीव्रताका साथ अगाडि बढाउने सन्दर्भमा ओलीको भूमिका महत्वपूर्ण हुने कुरा गरिरहेका थिए । चार दिनसम्म यस्तै यस्तै कुरामा नेपाली र चिनियाँले घुमघाम र सघन वार्ता गरे । तर, नेपालमा असार १७ गतेबाट एकाएक बदलिएको राजनीतिक समीकरणपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू एकदमै चिन्तित भए । नेपाली टोली आफ्नो तर्फबाट केही नभन्ने भनेर चुपचाप रहे । तर, चिनियाँले एक–एक जनालाई छेउतिर लग्दै सोध्ने क्रम भने जारी राखे । त्यहाँ आइडी सिपिसीका केन्द्रीय सदस्य, त्यहीँका नेपाल हेर्ने प्रमुख र प्रदेशपिच्छेका सेक्रेटरीले टोलीलाई सत्कार गरेका थिए । 

नेपालको पछिल्लो राजनीतिक परिवर्तनको खेलाडी केपी ओली नै हुनुहुन्थ्यो । फागुनमा उहाँकै तत्परतामा भए जति सम्पूर्ण कम्युनिष्ट घटक मिलाएर बनेको सरकार चार महिनापछि उहाँले नै भत्काउनु र त्यसमा गैरकम्युनिष्ट दलमात्रै सामेल गराइनुबाट चिनियाँ कम्युनिष्ट पार्टीका नेता निराश भएका हुन् । त्यसमाथि नयाँ सरकार गठन नहुँदै कांग्रेसका नेताले चिनियाँ परियोजना बिआरआई स्वीकार गर्न नहुने भन्न थाले । ओलीले बनाएको नयाँ समीकरणमा सामेल भएका नेताले त्यस्तो कुरा गर्नुलाई चीनले अर्थपूर्ण रुपमा लिएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू