पेन्सन ? पैसाको झन् ठूलो टेन्सन

पेन्सन ? पैसाको झन् ठूलो टेन्सन
सुन्नुहोस्

अवकाशप्राप्त कर्मचारीलाई दिइँदै आएको निवृत्तिभरण (पेन्सन) सुविधा सरकारका लागि ‘टेन्सन’ को बिषय बन्न थालेको छ । तर, सरकार बनाउने र ढाल्ने खेलमा व्यस्त राजनीतिकर्मीहरूलाई यस्तो बिषयको ‘के मतलब’ ! नत्र त प्रत्येक वर्ष पेन्सन पाउने कर्मचारीको संख्या ३ देखि ८ प्रतिशतले बढ्दै र ३ अर्बभन्दा बढी व्ययभार थपिँदै जाँदा सरकारलाई टाउको दुख्नुपर्ने हो ।

अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष पेन्सन शीर्षक अन्तर्गत ७७ अर्ब ९० करोड खर्च भएको छ । निजामतीतर्फका ८८ हजार २९६, प्रहरी ६२ हजार १७६, शिक्षक ५५ हजार ७८३, नेपाली सेना १ लाख १ हजार ७६१ गरी कूल ३ लाख आठ हजार १९ अवकाश प्राप्त कर्मचारीका नाममा उक्त रकम विनियोजन भएको छ । आर्थिक वर्ष ७९/८० को तुलनामा गत वर्ष पेन्सनरको संख्या ३ दशमलव ९६ प्रतिशतले बढेको देखिन्छ । ७९÷८० मा निजामती ८३ हजार २४०, प्रहरी ५९हजार ६०३, शिक्षक ५४ हजार ३८२, नेपाली सेना ९९ हजार ४१ गरी जम्मा २ लाख ९६ हजार २ सय ६६ ले अवकाश प्राप्त गरेकोमा वर्ष दिनमै १२ हजार बढ्दा थप ३ अर्ब रकम बढाउनुपरेको अर्थ मन्त्रालयको दाबी छ । 

आर्थिक वर्ष ०७९/८० मा ७४ अर्ब ७९ करोड खर्च भएकोमा गत आर्थिक वर्ष ३ अर्ब बढाएर ७७ अर्ब ९० करोड निकासा गरिएको थियो । मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६७/६८ मा पेन्सनका नाममा ६ अर्ब ८२ करोड ४० लाख मात्र खर्च भयो । सो को १० वर्षपछि ०७७/७८ सम्म आइपुग्दा ९ गुणाले बढेर वार्षिक ५४ अर्ब ९८ करोड ५९ लाख खर्च गरेको छ, राज्यले । यही अनुपातमा पेन्सन खर्च गर्ने हो भने दश वर्षपछि वार्षिक १ खर्ब ४० अर्बभन्दा बढी निकासा गर्नुपर्ने अर्थका अधिकारीहरूको हिसाब किताब छ । पछिल्ला पाँच वर्षको तुलना गर्दा पेन्सन शीर्षकमा ४४ अर्ब थप निकासा गर्नुपरेको आँकडा छ । आर्थिक वर्ष ०७५/७६ मा ४३ अर्ब ५६ करोड ४४ हजार निकासा भएकोमा पाँच वर्षमै निवृत्तिभरण शीर्षकमा ४४ अर्ब थपेर ७७ अर्ब राज्यले खर्च गरेको हो । 

निजामती किताबखानाको तथ्यांकअनुसार अहिले ३ लाख ८ हजार १९ रिटायर्ड कर्मचारी, शिक्षक, सेना, प्रहरीले पेन्सन थाप्दै आएका छन् । जसमध्ये निजामती ८८ हजार २९६, प्रहरी ६२ हजार १७६, शिक्षक ५५ हजार ७८६, नेपाली सेना १ लाख १ हजार ७ सय ६१ पेन्सन ग्राही छन् । पाँच वर्षअघि यस्तो संख्या निजामती ६८ हजार ६४१, प्रहरीतर्फ ४६ हजार ६८९, शिक्षक ४० हजार७५९, नेपाली सेना ७५ हजार २२२ गरी २ लाख ३१ हजार ३११ जना रहेकोमा पाँच वर्षमा ७० हजार ५ सय आठ थियो । 

निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार औसतमा वर्षेनी १५ हजारभन्दा बढी रिटायर्ड हुन्छन् । निजामतीतर्फ मात्र यही आर्थिक वर्ष २ हजारभन्दा ३ सय बढी कर्मचारी अवकाशमा जाँदै छन् । जसमा कामु मुख्यसचिव, सञ्चार, गृह, अर्थ, स्वास्थ्यसहितका १८ सचिव कोही उमेर त कोही सेवा हद लागेर घर फर्कंदैछन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू