जम्मै सर्टिफिकेटको मूल्य ६२ लाख

जम्मै सर्टिफिकेटको मूल्य ६२ लाख
सुन्नुहोस्

सेना, प्रहरी र सशस्त्रतर्फ युद्धकला, व्यक्तिगतलगायत विभिन्न सुरक्षासम्बन्धी तालिमको प्रमाणपत्र लिएपछि बीचैमा जागिर छोडेर विदेश जाने क्रम बढेसँगै सशस्त्र प्रहरीले त्यस्ता सर्टिफिकेट वितरण रोकेको थियो ।

यसबीच आईजिपी राजु अर्यालले तालिमे सिपाहीसम्मलाई प्रमाणपत्र दिन लागेको बुझिएको छ । जागिर छोडेर जानेहरुले बेलैमा प्रमाणपत्र पाएका भए । त्यसैको आधारमा विदेशमा राम्रो जागिर पाउन सक्थे । दिनैपर्ने तर नदिएर राखिएको त्यस्तो प्रमाणपत्र एकमुष्ट छाप्दा अब करिब ६२ लाख रुपैयाँ लाग्ने देखिएको छ ।

त्यस्तो प्रमाणपत्र तालिमको अन्तिम दिन माथिल्लो अधिकृत वा समादेशकबाट वितरण गर्ने चलन भए पनि त्यस प्रचलनलाई सर्वेन्द्र खनाल आईजिपी हुँदा रोकिएको थियो । ती प्रमाणपत्रहरु पछि वितरण गरौंला भनेर रेकर्डमा मात्रै जनाउने गरिएको थियो । यसबीच १६ वर्षे पेन्सन अवधि बनाउन पर्ने आवाज उठाउनुको कारण यहाँको जागिरले घरपरिवारलाई भरथेग गर्न नपुग्नु हो भन्ने प्रष्टै छ । 

एउटा प्रमाणपत्र छाप्दा प्रतिगोटा ८५ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्छ भने केन्द्रबाट एक वर्षमा करिब करिब एक हजार जनाले तालिम लिने गरेका छन् । सशस्त्र प्रहरीमा त्यस्तो तालिम केन्द्र १२ वटा रहेको छ । प्रत्येक तालिम केन्द्रमा एक लाखको दरले छपाइ खर्च जोड्दा पनि वर्षेनी १२ लाख रुपैयाँ उठ्ने गर्छ । प्रमाणपत्र पाइने भनेपछि तालिमप्रति उत्साह बढ्नु मानवीय स्वभावै हो ।

विदेश जानु राम्रो अवसरको खोजी हो भन्ने कुरा त डिआइजी दुर्गा कुँवरले खाइपाएको जागिर छोडेबाटै काफी हुने बताइन्छ । डिभी परेर जानेहरुलाई कसले रोक्न सकेको छ ? त्यसमाथि नेपाल सरकारले नै दक्ष बनाएर विदेश पठाउँदा झनै राम्रो हुन्छ । त्यसैले तालिम गरेबापत पाउने प्रमाणपत्रहरु धमाधम बाँड्नुपर्ने राय बलियो बन्दै गएको देखिन्छ ।

अदक्ष हुनुभन्दा यो तालिम गरेको छु, दक्ष छु भन्दै सेक्युरिटीको जागिर मज्जाले पाउन सकिन्छ भने त्यस्तो अवस्थाबाट बञ्चित गर्नु किन ? एउटै तालिममा सहभागी भई उत्तीर्णमध्ये अधिकृत दर्जाकाले चैं तत्कालै प्रमाणपत्र पाउने, जवानहरुले नपाउने भएपछि स्वभाविक रुपमा अन्याय र पक्षपातपूर्ण व्यवहार भइरहेको प्रष्ट हुन्छ ।

यसबीच पूर्वी नाका काकरभिट्टामा तैनाथ सशस्त्र प्रहरीका केही अधिकृत तथा जवानहरु तस्करीमा संलग्न भएको रिपोर्ट राष्ट्रिय अनुसन्धानले पठाएपछि हेडक्वार्टरले तत्कालै छानबिन गर्न आदेश दिएको तर त्यो रिपोर्ट गलत भएको निश्कर्ष निस्किएको छ । उता, गत हप्ता रुपन्देहीबाट २४ घण्टे लागेर झापा पठाइएका डिएसपी तुल्सीराम पाण्डे चितवनको आँपटारी १७ नम्बर गणमा अड्किएका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू