किन यस्तो हुन गयो कमरेड ?

किन यस्तो हुन गयो कमरेड ?

संघमा उपनेता नियुक्त नहुने, प्रदेशका नेता चिल्लै, उपनेताले ठूलो पद पाउने । एमालेमा मौलाएको व्यक्तिवाद कस्तो भने, राणाकालको हुकुम प्रमांगीझैं ! अघिल्लो दिन एउटालाई मुख्यमन्त्री बनाइयोस् भनेर दावी पेश हुन्छ, भोलिपल्ट अर्कै फुत्त ! लुम्बिनी प्रदेशमा एमालेले यस्तो नीति चलाएको हो । पार्टीको प्रदेश अधिवेशनमा भएको गुटबन्दीको बाछिटास्वरुप त्यसो भएको मानिन्छ । 

अहिले मुख्यमन्त्री बनेका चेतनारायण आचार्य तिनै व्यक्ति हुन्, जो प्रदेश अधिवेशनमा शंकर पोखरेल पक्षबाट अध्यक्षको उम्मेदवार बनाइएका प्युठानका हरि रिजालको पक्षमा थिए । तर, विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेलले रिजाललाई दुई मतले हराए । राधाकृष्णलाई जिताउनमा लीला गिरीको अगुवाई थियो । त्यही पक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुलसी चौधरीहरु पनि लागे । लीला शुरुदेखि नै केपीनिकट नेता हुन् । भुइँतहबाट उठेर पार्टी नेतृत्वमा स्थापित भएका उनी डा.विजय पौडेल पार्टीको जिल्ला सचिव हुँदा उपसचिव थिए । दुई–तीन कार्यकाल सचिव पनि भए । 

अहिले लीलालाई संसदीय दलको नेताबाट हटाइएको छैन बरु सीधै हुकुम प्रमांगीको शैलीमा उपनेता मुख्यमन्त्री बनाइएका छन् । मानौं कि, केन्द्रमा केपी ओली संसदीय दलको नेता, अनि प्रधानमन्त्रीचाहिँ पृथ्बीसुब्बा गुरुङ र विष्णु पौडेलहरु भएजस्तो । नेताहरु भन्छन्, ‘कि त चेतनारायणलाई मुख्यमन्त्री बनाउनुपर्ने असाधारण परिस्थिति आयो भन्नुपथ्र्यो ।’ हुन पनि यो घटना एमालेका निम्ति लुम्बिनी प्रदेशभरि अस्वाभाविक मानिँदैछ । 

अहिले चेतनारायण कोशीमा केदार कार्की एमालेसँग मिलेर मुख्यमन्त्री बनेजस्तो पनि होइन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची–१ बाट उठेका थिए । वामपन्थी मत विभाजन भएका कारण माओवादीका टोपबहादुर रायमाझीले हार्ने भए भनेर उनीसँग मिल्न गए । 

आइतबार लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीसँग कूल सदस्य संख्या २९ को दावी पेश गरिएको थियो, जसभित्र चेतनारायणको पनि हस्ताक्षर छ । त्यसमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीको पक्षमा २७ को संख्या पेश गर्दै एमालेका लीला गिरीलाई मुख्यमन्त्री बनाइयोस् भनिएको थियो । तर, एकाएक खेल परिवर्तन भयो । 

चेतनारायणलाई मुख्यमन्त्री बनाउन राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भूमिश्वर ढकालहरु कस्सिएर लागेका थिए । तर, अन्तिम अन्तिममा नसकेपछि लीला गिरीलाई नै बनाउनुपर्ने भयो भन्दै बाटो लागे । बीचमा शंकर पोखरेल कस्सिएपछि फ्याट्ट अध्यक्ष केपी ओलीको निर्देशन गयो । यो घटनाबाट प्रश्न उठेको छ– आफ्नै पार्टीको उपाध्यक्ष, आफ्नै सरकारको उपप्रधानमन्त्रीलाई समेत यस्तरी पेल्नेले कांग्रेससँग कस्तो व्यवहार गर्नुहोला ? भोलि खगराजको हकमा पनि यस्तो नहोला भन्न सकिन्न । लीला यसअघि पुस १० मा एमाले र माओवादीको गठबन्धन जति दिन टिक्यो, त्यति दिन मुख्यमन्त्री भएका थिए ।

 

टिप्पणीहरू