‘उडानका लागि अनुपयुक्त विमान किन उडाइयो ?’

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धान गर्न गठित छानबिन आयोगको निष्पक्षतामाथि आशंका गरेका छन् । 

विमान दुर्घटनाका लागि जिम्मेवार ठानिएका व्यक्तिका आफन्तलाई आयोगको प्रमुख बनाइएको भन्दै उनले प्रश्न उठाएका हुन् । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै लिङ्गदेनले भने, ‘विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ । भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला ?’
 
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । तर, अनुसन्धानको दायरामा सबैभन्दा पहिलो नम्बरमा आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगको जिम्मा लगाइएकाले निष्पक्ष छानबिन हुनेमा विश्वास गर्न नसकिएको अध्यक्ष लिङदेनको जिकिर छ । 

सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि पटक–पटक छानबिनको जिम्मेवारी दिने गरेको भन्दै उनले आपत्तिसमेत जनाए । ‘एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक–पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ’, लिङ्गदेनले भने, ‘र, म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उडानका लागि उपयुक्त नरहेको सो विमान किन उडाइयो ? भन्दै उनले आक्रोश व्यक्त गरे ।

टिप्पणीहरू