डेढ दशकअघिको महामारी पुनः दोहोरिनसक्ने चेतावनी
पछिल्लो एक सातामा मुलुकभरका तीन जिल्लामा हैजा पुष्टि भएको छ । ललितपुरको गोदावरी, कैलालीको धनगढी र काठमाडौंको कालीमाटीमा यो संक्रमण पुष्टि भएको छ । हैजा संक्रमण पुष्टि भएसँगै सर्वसाधारणमा त्रास देखिएको छ ।
यसले महामारीको रुप लिनसक्ने भन्दै जनमानसमा चिन्ता बढेको हो । हरेक वर्षको वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्ने गरेको छ । मनसुन सक्रिय भएसँगै झाडापखाला, आउँ, हैजा, टाइफाइडलगायत पानीजन्य रोगको संक्रमणबाट सर्वसाधारण पीडित हुने गरेका छन् । त्यसमध्येको एक संक्रामक रोग हैजा हो । यसबाट मानिसको ज्यानै जानसक्ने जोखिम उच्च हुन्छ ।
यसैले, यतिबेला सतर्कताको विशेष आवश्यकता रहेको विज्ञहरु बताउँछन् । हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो वा तीव्र रुपमा सर्ने र ज्यानै लिनसक्ने रोग भएकोले जनस्तरबाट सजक हुन चिकित्सकहरुले समेत आग्रह गरेका छन् ।
संक्रमित बढ्दै
ललितपुरको गोदावरीमा गत बुधबार चार जनामा हैजा पुष्टि भएको एक साता नबित्दै संक्रमितको संख्या एक दर्जन नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरे हालसम्म १३ जनामा हैजा संक्रमण पुष्टि भएको बताउँछन् ।
जसअनुसार ललितपुरमा सात, धनगढी र कालीमाटीमा तीन÷तीन जनामा हैजा पुष्टि भइसकेको छ । यसबाट बच्न व्यक्तिगत सरसफाई र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहने उनले बताए । ‘हैजाको सम्बन्ध सरसफाई र खानेपानीको स्रोत र आपूर्तिसँग जोडिएको हुन्छ । गोदावरी क्षेत्रका सात जनामा हैजा देखिएकाले प्रयोग गरेको इनारको पानी दूषित पाइयो,’ महाशाखाका प्रमुख घिमिरेले भने, ‘इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो ।’
बर्खायाममा इनारको पानीमा ढल मिसिन गएको हुनसक्ने भन्दै उनले शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ, त्यसले पनि भरपर्ने बताए । ‘सरसफाइमा विशेष ध्यान पुर्याएमा थप फैलिनबाट रोकिन्छ तर जथाभावी गरिएमा समुदायस्तरमै फैलिन पनि समय लाग्दैन,’ उनले भने ।
समयमै सावधानी नअपनाए महामारीको रुप लिनसक्ने चिन्ता
संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुन समयमै सावधानी नअपनाएमा हैजाले महामारीको रुप लिन सक्ने बताउँछन् । उनले भने, ‘उपत्यकामा हैजा प्रवेश भइसक्यो । यो विस्तारै फैलिँदैछ । अहिले हैजा देखिएका ठाउँमा सावधानी अपनाइएन भने यो आउटब्रेक हुनसक्छ । त्यतिबेला हैजाले कडा रुप लिएमा मृत्युदर समेत बढ्नेछ ।’
हैजालाई आउटब्रेक हुन नदिन अहिलेदेखि नै सम्बन्धित निकायले आवश्यक काम थाल्नुपर्ने उनको भनाइ छ । अन्यथा यसले महामारीको रुप लिनसक्ने उनको आशंका छ । हैजा फैलन नदिन खानेपानीको स्वच्छता कायम गर्नुपर्ने, पानी उमालेर मात्र पिउन र व्यक्तिगत सरसफाइमा ध्यान दिन सर्वसाधारणलाई सजग गराउनुपर्ने बताए ।
नागरिकले पनि सतर्कता अपनाउनुपर्यो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी हैजा संक्रमति क्षेत्रमा पानी शुद्धिकरण गर्ने, खाद्यपदार्थको अनुगमन, बिरामीको उपचार गर्नेजस्ता काम भइरहेको बताउँछन् ।
उनले भने, ‘हैजालाई थप फैलिन नदिन संक्रमति क्षेत्रमा पानीको शुद्धता परीक्षण गर्ने र उमालेर मात्र पानी पिउन जनचेतना फैलाइरहेका छौं ।’ बर्खायामको समय भएकोले पानी दूषित हुने र विभिन्न प्रकारका रोग निम्तिने हुँदा आम सर्वसाधारण पनि सजग हुन आवश्यक रहेको उनी बताउँछन् ।
‘जुनसुकै (धारा, इनार, जारलगायतको) पानी भएपनि शुद्धिकरण वा उमालेर मात्र प्रयोग गर्नुपर्यो । वर्षातको समयमा खानेपानीका मुहान दूषित हुने हुँदा नागरिक आफैं सचेत हुनुपर्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘हामीले त सजग मात्र गराउने हो । नागरिक आफैंले सर्तकता अपनाउन जरुरी छ ।’
उनले हैजा महामारीजन्य रोग भएकाले समय समयमा हात धुन, दिसापिसाब गर्दा अनिवार्य चर्पीको प्रयोग गर्न, तरकारी, फलफूलहरु शुद्धिकरण गरिएको पानीले राम्रोसँग पखालेर मात्र खान वा पानी पनि उमालेर मात्र पिउन आग्रह गरे ।
अहिले पुष्टि भएका हैजालाई आउटब्रेक हुन नदिन मन्त्रालयले सक्दो प्रयास र आवश्यक काम गरिरहेको बताउँदै उनले नागरिकले पनि सतर्कता नअपनाए यसले महामारीको रुप लिने जोखिम उच्च रहने उल्लेख गरे । ‘हैजालाई थप फैलिन नदिन हामीले सक्दो प्रयास गरिरहेका छौं । तर, नागरिकले पानीको स्वच्छता र सरसफाईमा हेलचेक्याई गरेमा जोखिम बढ्ने देखिन्छ,’ उनले भने ।
के हो हैजा ?
हैजा गम्भीर खालको झाडापखाला हो । यो भिब्रियो कोलेरी नामक ब्याक्टेरियाका कारण हुने संक्रामक रोग हो । हैजा भएपछि मानिसलाई तारन्तार दिसा लाग्छ भने वमन पनि रोकिँदैन । समयमै उपचार गरिएन भने बिरामीको केही घण्टामै ज्यान समेत जान सक्छ ।
हैजा लागेपछि निरन्तर पातलो, चौलानी पानीजस्तो दिसा लाग्ने, वान्ता वा वाकवाकी हुने तथा मासंपेशी बाउँडिनेजस्ता स्वास्थ्य समस्या देखिन्छन् । हैजाका कारण लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन (मानव शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति) तथा इलेक्ट्रोलाइट्सको असन्तुलन गराउँछ ।
कडा हैजापछि आँखा गाडिने, छाला चिसो हुने, मुख, जिब्रो र घाँटी सुख्खा हुने, तिर्खा तथा थकाई लाग्ने, मुटुको धड्कन अनियन्त्रित हुने, पिसाबको रंग पहेँलो हुने तथा पिसाब कम हुने, छाला सुख्खा तथा हातगोडा चाउरी परेर जानेजस्ता लक्षण देखिन्छन् ।
साथै, शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर पनि जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्म यस्ता लक्षणहरु देखिने गर्दछन् । यस्तो अवस्थामा बिरामीलाई तत्काल जतिसक्दो छिटो अस्पताल लैजानुपर्छ ।
हैजा भएका ८० प्रतिशत बिरामी जीवनजल पानीको सेवनबाट निको हुने गर्छन् । गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर ३० देखि ५० लाख मानिस हैजाबाट संक्रमित हुने गरेका छन् ।
त्यस्तै, वर्षेनी २१ हजारदेखि डेढ लाख मानिसको मृत्युको कारण हैजा हुने गरेको छ । डेढ दशकअघि नेपालमा समेत हैजाले महामारीको रुप लिएको थियो । सन् २००९ मा जाजरकोटमा हैजाको प्रकोपबाट ३० हजारभन्दा बढी मानिस प्रभावित हुँदा सयौंले ज्यान गुमाएका थिए ।
टिप्पणीहरू