वीर अस्पतालमा डरलाग्दो सेटिङ, नक्कली प्रमाणपत्रको आडमा मापदण्डको धज्जी
बिरामीहरु राम्रो उपचार र उचित स्याहारका लागि अस्पताल पुग्ने चाहना राख्छन् । तर अस्पतालमै बिरामी र तिनका कुरुवाहरुले अस्वस्थ र गुणस्तरहीन खाना खानुपर्ने अवस्था आइपर्यो भने के होला ?नेपालकै सबैभन्दा पूरानो र ठूलो वीर अस्पतालमा सीमित व्यक्तिको स्वार्थ र सेटिङमा त्यस्तै अवस्था सिर्जना गर्न लागिएको बताइन्छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले खाद्य स्वच्छताको न्यूनतम गुणस्तर मापदण्डसमेत पूरा नगरेको फर्मलाई अस्पतालमा क्यान्टिन (चमेना गृह) सञ्चालनको आशय पत्र दिएपछि उक्त आशंकामा बल मिलेको हो । प्रतिष्ठानले योजनाबद्ध रुपमा गुजेश्वरी होटल प्रा.लिलाई चमेना गृह सञ्चालनको आशय पत्र दिएपछि बोलपत्रमा प्रतिस्पर्धी फर्महरुले गम्भीर आपत्ति जनाएका छन् । एक प्रर्तिस्पर्धी फर्मका सञ्चालक भन्छन्, ‘पत्रिकामा सूचना निकालेर प्रतिष्ठानले नाटक मात्रै गर्यो, क्यान्टिन चलाउन कसलाई दिने भनेर पहिल्यै तय भइसकेको बुझिँदै छ ।’
प्रतिष्ठानले गत कात्तिक ९ गते १५ दिने सूचना जारी गर्दै चमेन गृह सञ्चालनको लागि बोलपत्र आह्वान गरेको थियो । उक्त आह्वानमा १२ फर्मले प्राविधिक तथा आर्थिक प्रस्ताव फारम खरिद गरेको अस्पतालको खरिद एकाइ स्रोतले जानकारी दिएको छ ।
महानराज वली, राजन फुयाँल र लिला राई सम्मिलित मूल्याङ्कन समितिले सबै फर्मको स्थलगत अध्ययन गरेपछि प्राप्त अंकभारको आधारमा सात वटा फर्म छनोट गरेको बताइयो । जसअनुसार पहिलो नम्बरमा जि एण्ड बि क्याफे, दोस्रोमा आर.एस. मल्टिप्रपोज प्रा.लि, तेस्रो नम्बरमा नारायणी चमेनागृह, चौथो नम्बरमा गुजेश्वरी होटल प्रा.लि र क्रमशः ग्रिनवर्डस बेकरी क्याफे, सुनिल क्यान्टिन र शिवांश फूड क्याटरिङ छन् । नियमसंगतले अंकभार अनुसार पहिलो नम्बरमा रहेको फर्मले आशयपत्र पाउनुपर्ने हो । तर चौथो नम्बरमा रहेको गुजेश्वरी होटल प्रा.लिलाई आशयपत्र दिएपछि विवाद उत्पन्न भएको बताइन्छ ।
आशयपत्र पाएको गुजेश्वरी होटल प्रा.लिले अस्पतालले तोकेका आधारभूत मापदण्डहरु नै पूरा गरेको देखिँदैन । तर त्यही फर्मलाई उत्कृष्ट भन्दै छनोट गरेपछि मूल्याङ्कन समितिमाथि गम्भीर प्रश्न उठेको छ । त्यसैगरी प्रतिष्ठानले पनि अंकभारमा अगाडि रहेको फर्मको सट्टा न्यूनतम मापदण्डसमेत पूरा नगरेको फर्मलाई ठेक्का दिन खोज्नुको कारणमाथि अनेक आशंका गरिएको छ ।
प्रतिष्ठानको कार्यविधि अनुसार फर्महरुले प्रस्ताव पेश गर्दा कर चुक्ताको प्रमाण पत्र, चालु आर्थिक वर्षमा खाद्य स्वच्छताको न्यूनतम गुणस्तर मापदण्ड पूरा गरेको प्रमाण पत्र तथा गुणस्तरीय सेवा रहेको निरीक्षण प्रतिवेदनको प्रमाणपत्र अनिवार्य समावेश गर्नुपर्ने हुन्छ । अस्पताल स्रोतका अनुसार गुजेश्वरी होटलले ती कागजात पेश गरेको देखिँदैन । उक्त फर्मले खाद्य परिकारहरुको दर रेट पनि आर्थिक प्रस्तावमा तोकिएकोभन्दा अस्वाभाविक निर्धारण गरेको पाइएको छ ।
त्यस्तै, फर्मले कुनै सरकारी वा नीजि क्षेत्रका कार्यालयमा चमेना गृह तथा फूडकोर्ट सेवा सञ्चालन गरेको वा नीजि होटल÷रेष्टुरेण्ट सञ्चालनको न्यूनतम सात वर्ष कार्य अनुभव भएको र हाल उक्त सेवा सञ्चालन गरिरहेको प्रमाण पेश गर्नुपर्ने कार्यविधिमा प्रष्टसँग उल्लेख छ । तर, गुजेश्वरीले भने ओम हस्पिटलमा सेवा सञ्चालन गरिरहेको फेक प्रमाण पत्र पेश गरेको पाइएको छ । जबकि, त्यहाँ लामो समयदेखि रमाइलो चौतारी नामक फर्मले चमेना गृह सञ्चालन गरिरहेको हस्पिटलका सहायक प्रशासन अधिकृत इन्द्र बस्नेतले पुष्टि गरे । उनले जनआस्थासँग भने, ‘हाम्रो हस्पिटलको सम्झौता रमाइलो चौतारीसँग भएको हो, अरु थाहा भएन ।’
यसरी फेक प्रमाण पत्र पेश गरेको र आधारभूत मापदण्डसमेत पूरा नगरेको फर्मलाई चमेना गृह सञ्चालनको आशयपत्र दिइयो ? भन्ने प्रश्नमा अस्पतालकै प्रशासन स्रोत भन्छ, ‘ठूलाबडा हामिकमहरुको योजनामा सबै खेलोफड्को भइरहेको छ जसलाई कार्यविधिका केही बुँदाहरुले पनि पुष्टि गरेका छन् ।’ उदाहरण दिँदै उनले भने, ‘बोलपत्रको एउटा बुँदामा कुनै कारण जनाई वा नजनाई प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा रद्ध गर्ने वा घटी वा बढी अंकको प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस प्रतिष्ठानमा सुरक्षित रहने भनेर लेखिएको छ । यो कस्तो व्यवस्था हो ? के का लागि यस्तो लेखियो ?’
उक्त बुँदा आफैं विरोधाभासपूर्ण देखिन्छ । अर्को बुँदामा ‘सम्झौतामा उल्लेखित शर्तसम्बन्धमा कुनै विवाद उठेमा प्रतिष्ठानको उपकुलपतिको निर्णय दुवै पक्षलाई मान्य र अन्तिम हुनेछ’ भनिएको छ । अर्थात, प्रतिष्ठानका उपकुलपतिले चाहेको फर्मले मात्र चमेना गृह सञ्चालन गर्न पाउने पहिल्यै तय भएको देखिन्छ ।
यसबारेमा जनआस्थाले जानकारी लिन खोज्दा प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेत र निर्देशक डा. सन्तोष पौडेल सम्पर्कमै आउन चाहेनन् ।
टिप्पणीहरू