प्रहरीले यहाँ जे पनि गर्न पाउँछ ?

प्रहरीले यहाँ जे पनि गर्न पाउँछ ?

शक्तिमा हुँदा जे पनि गर्ने, अप्ठेरो परे ‘खोलो तर्ने’ प्रवृत्ति देखिन्छ, प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका हाकिम (एआइजी) श्यामलाल ज्ञवालीमा । करणी एउटाबाट भयो, दण्डको भय सिर्जना गरेर अर्कासँग कोशेली असुलियो । क्षेत्राधिकारभित्र पर्दैन, तर कोहीसँग रिस उठेकै नाममा जिल्ला र इलाका प्रहरीले चलाउने अभद्र व्यवहारको मुद्दा चलाइयो ।

रवि लामिछानेको बचावका लागि गरिएका विभिन्न गतिविधिदेखि आफ्नै पदोन्नतीको भूत सवार हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झामाथि गरिएको व्यवहार, आफ्नै संगठन प्रमुखविरुद्ध बोल्न लगाउने प्रयासका सन्दर्भ अलग्गै छन् । अब परिस्थिति फेरियो । न रवि शक्तिमा छन्, न त प्रचण्डकै सरकार छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजुलाई फसाउन सकिन्छ कि भनेर ‘बार्गेनिङ टुल्स’का रुपमा बेचन झालाई प्रयोग गर्न खोजिँदै थियो । आज डा.आरजु आफैं क्याबिनेट मन्त्री भइन् ।

यी तमाम झमेलाका बीच ‘खोलो तर्ने’ खेलो चलिरहेको प्रहरीस्रोतले जनाएको छ । अहिले एआइजी ज्ञवालीमाथि केन्द्रीय प्रहरी कार्यालयस्थित उजुरी छानबिनले पासपोर्टका आधारमा एउटा गम्भीर विषयमाथि अनुसन्धान गरिरहेको छ । विषय हो, उनीसँग अमेरिकाको आवासीय कागजात (ग्रीनकार्ड) सुरक्षित रहेको आशंका । चाहँदा कुनै पनि बेला सपरिवार अमेरिका जान सक्छन् । जागिर अझै एक महिनाभन्दा बढी बाँकी छ । जागिर हुँदैमा कतै, कुनै र केही विषयको झन्झटमा पर्छु भन्ने मनमा लागेको हुनसक्छ । यही सूचनाका आधारमा उजुरी छानवीनले उनीमाथि बुझ्ने काम थालेको हो ।   

गत असार २७ गते सिआइबीले रुपन्देहीको बुटवल– ५ स्थायी वतन भई हाल काठमाडौंको कुलेश्वर बस्ने मकबुल साहलाई पक्राउ पुर्जी काट्यो । त्यसविरुद्ध उनी अन्तरिम आदेश माग्दै उच्च अदालत पाटन गए । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बेञ्चबाट असार ३१ गते आदेश पनि पाए । मकबुललाई अनलाइन ठगी प्रकरणमा सिआइबीले कारवाही गर्न चाहेको थियो । उनले विभिन्न सहकारीका ठगी मामिलामा आफैं अनुसन्धानको काम गरेको आरोप सिआइबीसम्बद्ध प्रहरीको छ । तर, सिआइबीसँग उच्च महत्वका, संवेदनशील र अत्यधिक जनचासोका विषयमा अनुसन्धान गर्ने कार्यादेश छ । अभद्र व्यवहारजस्तो सामान्य मुद्दा जिल्ला, इलाका (उपत्यकामा बृत्त) हरुले चलाउने गर्दछन् । त्यसैले आर्थिक विषयसँग जोडिएका व्यक्ति भएका कारण श्यामलाल त्यतातिर लागे ।

  

यसअघि उनी उपत्यका प्रहरी प्रमुख रहँदा एउटा जबरजस्ती करणीको घटनामा करणी गर्नेलाई हैन, करणीको कारक स्थल मानिएका व्यक्तिसँग सौदाबाजीमा लागे । ठमेलस्थित क्लब एलओडीमा एकजना नावालिकालाई एक पुरुषले फकाईफुल्याई अन्यत्र लगे । ललितपुरको कुनै होटलमा लगेर करणी गरेको मामिला थियो । उक्त कार्यको सूत्रधारका रुपमा क्लब एलओडीका सञ्चालक माइला भनिने राजु सिंह र त्यसका व्यवस्थापक भूपेन भनिने भूपेन्द्रजंग कुँवरविरुद्ध जबरजस्ती करणीकै मुद्दामा पक्राउ पुर्जी जारी भयो । उनीहरु केही समय फरार भई पछि अदालतबाट सफाई पाएर काममा जान थाले । जबकि, क्लब एलओडीको हकमा उमेर नपुगेकी बालिकालाई प्रवेश गर्न दिइएको कसुरमात्रै आकर्षित हुन्थ्यो ।

न त्यहाँ करणी भएको हो, न त करणी गर्नका लागि उनीहरुले प्रेरित नै गरेका हुन् । यस्तो स्थितिमा बालबालिकासम्बन्धी ऐन २०७५ आकर्षित हुन्छ । त्यसमा एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । तर, ठूलो व्यवसायिक स्थल, त्यहाँबाट पैसा झर्नेजस्ता कुरा भएपछि राजु र भुपेन फरार रहेकै बेला श्यामले उपत्यका प्रहरी कार्यालयमा उनीहरुका कोही मान्छेलाई बोलाए, कुरा ‘मिलाए’ । प्रहरीभित्र चलेको चर्चाअनुसार, त्यस विषयमा २५ लाख रुपैयाँको चलखेल छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू