‘उपप्रधानमन्त्रीले भाषण हैन काम गरेर देखाउने’
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारसामू काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले सो धारणा राख्दै अब धेरै भाषण गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिनुभएको हो । उपप्रधानमन्त्री सिंहले सोहीअनुसार मौद्रिक नीति आएको दाबी गर्नुभयो ।
‘अहिलेको सरकारले अर्थतन्त्रलाई अलि अघि बढाउने, जीवन्तता ल्याउनका लागि भाषणहरु भन्दा पनि कामबाट देखाइरहेको छ’, उहाँले भन्नुभयो, ‘मौद्रिक नीति जुन ल्याएको छ, व्यापार गर्न सहज होस् भनेर सरकारले ल्याएको हो । त्यसलाई पनि त सबैले स्वीकार गर्नुपर्छ नि ! लामो र धेरै कुरा गर्नुभन्दा पनि हामीले काम गरेर देखाउनुपर्नेछ ।’
उपप्रधानमन्त्री सिंहले नीतिगत समस्या समाधानका लागि सरकारले गाँठो फुकाईदिने प्रतिवद्धता जनाउँदै आफ्नो तर्फबाट पनि सक्दो सहयोग हुने जानकारी दिनुभयो । ‘तपाईंहरुले काम गर्दाखेरी जुन नीतिगत तवरमा समस्या भोगिरहनुभएको छ, त्यसको लागि अलि खुकुलो पार्ने, व्यवस्थित गर्ने र सरलीकृत गर्ने भूमिका निर्वाह गर्नेछु’, अगाडि भन्नुभयो, ‘काम गर्दैगर्दा तपाईंहरुले भोग्दै आउनुभएका समस्याबारे सरकारलाई बारम्बार घच्घच्याइरहनु पर्छ । एउटा कार्यक्रममा भन्यो, त्यसपछि भइहाल्छ की भनेर बस्नुभयो भने त्यसमा गाम्भीर्यता हुँदैन । यसमा तपाईहरुले समय समयमा घच्घच्याइरहनु पर्छ ।’
टिप्पणीहरू