नेपाल–थाइल्याण्डबीच व्यापार बढ्दो, एक वर्षमा १५ करोड डलरको कारोबार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
थाई ट्रेड सेन्टरकी निर्देशक एवम् वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग महासंघ सचिवालयमा भएको भेटमा उनले दुई देशबीच मित्रता र सहकार्यको लामो इतिहास रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्ने बताएका हुन्।
अध्यक्ष ढकाले नेपाल र थाइल्याण्डबीचको व्यापारमा समेत निरन्तर वृद्धि भइरहेको र सन् २०२३ मा द्विपक्षीय व्यापार झण्डै १५ करोड अमेरिकी डलर पुगेकोले दुवै राष्ट्रलाई सम्भावना र अवसरको संकेत गरेको बताए ।
उनले नेपालको चिया, कफी तथा जडीबुटी र थाइल्याण्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सकिने पनि बताए । दुवै देश आ–आफ्ना विविधता र पर्यटकीयस्थलले प्रख्यात रहेकोले संयुक्त बजारीकरण अभियान चलाएमा वा पर्यटन प्याकेजको विकास गर्न सकिए थप पर्यटन भित्र्याउन सकिने अध्यक्ष ढकालको भनाइ थियो ।
भेटमा निर्देशक पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् । यसका लागि महासंघले सहयोग गर्ने उनको अपेक्षा छ ।
टिप्पणीहरू