नहेप साथी, संसार सानो छ

नहेप साथी, संसार सानो छ

सुखको प्याला पिउन साथ दिने जीवनमा हजारौं साथी भेटिन्छन् तर आँशुको प्याला एक्लै, बिल्कुलै एक्लै घुट्क्याउनुपर्छ । हो, यस्तै लाग्छ आफ्नै जीवनका पाना पल्टाउँदा । राजधानीमै जन्मिएँ हुर्किएँ । परिवार मात्र सम्पन्न भएर के गर्नु ? मायाको खडेरी लागेपछि । जन्मिएको दुई वर्षपछाडि निकै ठूलो बिमारीले छोयो । शिक्षित र सम्पन्न परिवार डाक्टरको पछाडि लागेन । पाँच मिनेट मात्रको बाटो पार गरेको खण्डमा पुग्न सकिन्थ्यो पाटन अस्पताल । तर अस्पताल छाडेर गुभाजु, धामी झाँक्री र वैद्यको पछाडि लाग्दा दुवै खुट्टा नचल्ने भयो । एक महिनासम्म अचेत भएर लडेपछि बल्ल बुवाआमाको आँखा खुल्यो, अस्पताल पुर्‍याइयो । तर, निकै ढिलो भइसकेको थियो ।

संयुक्त परिवारमा जन्मिए, परिवारको पहिलो नाति । बुवा आमाले भन्दा पनि बढि माया गर्थे हजुरबुबा, हजुरआमाले । यसैलाई भनिएको होला साँवाको भन्दा बढी ब्याजको माया । तर, जब खुट्टा टेक्न नसक्ने, हिँडडुल गर्न नसक्ने भए अनि विस्तारै माया घट्दै गयो । भागमा पर्‍यो केवल घृणा र रिस अनि सदैव आँशु । काकाका छोराहरूलाई राम्रो खाना र लुगा दिइन्थ्यो । टुलुटुलु हेर्थे । तिनै भाइहरूले लगाएर थोत्रा भएका लुगा मात्र भागमा पथ्र्याे । संसारमा बुवाआमाको मायालाई निःस्वार्थी मानिन्छ तर यस्तो लाग्छ, अचेल कारणबिना बुवाआमाले पनि सन्तानलाई माया गर्दैनन् । साथीभाइ तथा काकाका छोराहरू उफ्रँदै हिँड्दा त्यस्तै गर्न मन लाग्थ्यो । तर कल्पनामै सीमित रहन्थ्यो ।

एक दिन आमालाई सोधें पनि ‘आमा, अब कहिल्यै यसरी हिँड्न सकिन्न ? त्यतिखेर आमाले दिएको जवाफ आज पनि दिमागमा घुमिरहेकै हुन्छ । खै, अघिल्लो जुनीमा कसको खुट्टा काटेर आयौ, त्यसको सजायँ भोग्दै छौ ।’ पाटन श्रीबहाल टोलको एउटा घरमा दयाको पात्र बनिरहे । आफन्तहरू बचनको तीरले हान्थे– तैँले जीवनमा केही पनि गर्न सक्दैनस्, परिवारको बोझ भइस् ।’ मान्छेलाई ठहरै पार्न गोली–बारुद नै ठोक्नुपर्छ र ? वचन नै काफी हुँदो रहेछ । यद्यपि, परिस्थिति जस्तोसुकै होस् मनस्थिति हार्नुहुँदैन ।

संसारको सबैभन्दा ठूलो शक्ति र बल आत्मबल बाँकी नै थियो । जो कसैले खोसेर लैजान सक्नेवाला थिएन । हिँड्न नसकेपछि प्रयास गरें घुँडाले टेकेर हिँड्न तर छर्छरी रगत आउँथ्यो । घुँडामा घाउ देख्दासमेत कसैको मन दुख्दैनथ्यो । आफैं रुँदै रगत पुछेर सम्हालिन्थे । भाइहरू स्कूल जान थाले, रहर त उनलाई पनि लाग्थ्यो पढ्न तर बुवाले मानेनन् । भन्छन् बालहठ, नारीहठ र राजहठको अगाडि कसैको केही लाग्दैन । उनको हठको अगाडि पिताजी हार्न बाध्य हुनुपर्‍यो । र, हारे । बुवाले हारेर छोराले जित्ने यो कस्तो नियति थियो ? हो, त्यही नियतिले आज जीवित छन् जस्तो लाग्छ । नभए त जिउँदो लाश भएर बाँचिरहेका हुन्थे । थाहा छैन, कसको जीवनको पासा कहाँनेर पुगेर पल्टन्छ । मात्र यात्रा गर्न छोड्न हुँदैन । उनको हकमा पनि यस्तै भयो ।

मान्छेलाई ठहरै पार्न गोली–बारुद नै ठोक्नुपर्छ र ? वचन नै काफी हुँदो रहेछ ।

कक्षा चारमा पढ्दै गर्दा एक शिक्षक भगवान बनेर उभिए । उनैले हो जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा लगेर भर्ना गरिदिएको । त्यो पल जीवनमा कहिल्यै बिर्सन सक्दैनन् । त्यहाँ पुगेपछि जीवनले काँचुली फेर्‍यो । खगेन्द्र नवजीवनमा भर्ना भएर पढ्न थालेपछि आत्मविश्वास बढ्न थाल्यो । सिलाइ सिके र बाँच्ने आधार पलाउँदै गयो । सम्झन्छन् ती दिनहरू जब उनी आफ्ना साथीहरूलाई सिलाई कटाई टेलर खोल्ने योजना सुनाउँथे । आफन्त र साथीले ‘पागल’को संज्ञा दिन्थे । कुनै समय ग्यालिलियो र न्युटनलाई पनि यो दुनियाँले पागल करार गरेकै हो । काम गर्छु भन्दा साथीहरूले बौलाइस् कि क्या हो भन्दै प्रश्न तेस्र्याए । तर, मनको एउटा कुनामा जीवनमा केही गरेर यो समाजलाई देखाउन सक्छु भन्ने आत्मविश्वास थियो । त्यो विश्वासलाई कसैले पनि डग्मगाउन सकेन । सीप सिके तर फेरि अर्काे अभावको जंगे पिलर अगाडि उभियो– मेसिन कसरी जोड्ने ? 

मेसिन जोडे र घरमै बसेर वरपरका छिमेकीको कपडा सिलाउन थाले । तर, सिलाइबापत दिनुपर्ने पैसा कसैले दिँदैनथे । मनमा दृढ इच्छा र चाहना थियो आफ्नै सिलाइ सिकाउने केन्द्र खोल्ने । बुवालाई आफ्नो इच्छा/योजना सुनाए, बदलामा गाली पाए । परिवारका अरु सदस्यले हाँसोमा उडाइदिए । अरुलाई पैसा दिए ब्याज आउँछ, तँलाई दिए त डुब्ने मात्र हो भन्ने आफन्त पनि थिए । मन चिरिए पनि जिद्दी गर्न छाडेनन् । र, घरकै पहिलो तलाको एउटा कोठा पाए । त्यही कोठामा एउटा मेसिन राखेर सिलाइ सिकाउन थाले । घरकै अन्य सदस्यले उल्टै कुरा काट्न थाले, काम गर्ला भनेको त केटीहरू जम्मा पारेर गफ गरेर बसिरहेको छ । आखिर खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् । जम्मा एउटा मात्र मेसिन थियो । त्यहीं एक मनकारी विद्यार्थी भेटिए, उनले किस्ताबन्दीमा पैसा तिर्नेगरी तीनवटा मेसिन थपिदिए । आज त्यही सिलाइ केन्द्रबाट १ लाखभन्दा बढीले तालिम लिएर काम गरिरहेका छन् । दैनिक तीन सय जनालाई सिलाइ बुनाइ सिकाइरहेका छन् । यति मात्र होइन, विदेशी प्रोजेक्टहरूले गाउँका मानिसलाई सिलाइ सिकाउनुप¥यो भने यहाँबाट कर्मचारी लिएर जान्छन् । पहिले समाजमा घृणा र अपमान थियो तर जब कमाउन थालें, अहिले सबै प्रशंसा गर्छन् र माया देखाउँछन् ।

दुई जना भाइ छन् सबलांग तर हिजो अपांग भनेर हेपिएका उनी परिवारको सबैभन्दा सम्पन्न बन्न सफल भएका छन् । बिहान ७ बजे कार्यालय खोल्ने, साँझ ७ बजेसम्म निरन्तर काममा खटिन्छन् । खर्च कटाएर मासिक डेढ लाखदेखि दुई लाख रूपैयाँसम्म आर्जन हुन्छ । लाग्छ, संसारको सबैभन्दा ठूलो कुरा श्रम र पैसा रहेछ । जब हातखुट्टा चल्छ, साथमा टन्न पैसा हुन्छ तब आफन्तको हाइहाइको पात्र बनिन्छ तर जब साथमा पैसा हुन्न र हातखुट्टा चल्दैन तब आफन्त त परकै कुरा आफ्नै बुवा आमाले पनि बोझ ठान्छन् । तर, आत्माले तैंले केही गर्नै पर्छ भनेर निरन्तर घच्घच्याइरह्यो । आत्मविश्वासलाई नजिकको साथी बनाए, त्यही आत्मविश्वासले सफलताको यो उचाइसम्म पुर्‍याएको हो । यस्तो प्रतिफल भाग्यले होइन, मिहिनेतले मिलेको हो । अहिले पनि दुवै खुट्टा लुला छन् । ह्विलचेयरको सहायताबिना हिँडडुल गर्न सक्दैनन् । एक सवलांग महिलासँग विवाह गरे । उनी पनि त्यहीं कपडामा बुट्टा भर्न सिक्दै थिइन् । सिक्ने सिकाउने क्रममै ती युवतीको मनमा मायाका बुट्टा पनि भरिदिए । प्रेम भयो । त्यो सम्बन्धमा जोडी खुशी भए पनि समाजले सजिलै पचाएन । धेरैले उडाए । तर,  श्रीमतीले कर्मशील जिन्दगीलाई प्रेम गरेकी थिइन् । जुन कसैको खिसिट्युरी र बहकाउले गल्ने खालको थिएन । त्यही प्रेमको सहाराले नै आज उनी सफल उद्यमीका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

– विनोद नकर्मी

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू