लघुवित्तले हप्काउन नपाउने, बैंकका ऋणीले कर्जा नपाउने

लघुवित्तले हप्काउन नपाउने, बैंकका ऋणीले कर्जा नपाउने
सुन्नुहोस्

लघुवित्त वित्तिय संस्थाले ऋण असुलीका क्रममा ऋणीलाई धम्क्याउने, हप्काउने तथा अपमानजनक व्यवहार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ ।

संशोधित निर्देशनमा लघुवित्त वित्तिय संस्थाले ऋण असुलीका लागि कुनै पनि किसिमको अपमानजनक एंव कठोर विधि अपनाउन नपाउने उल्लेख छ । त्यस्तै, कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्कबाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रुपमा राख्न नपाइने पनि बैंकले जनाएको छ । 

निर्देशनमा लघुवित्त संस्थाले सेवाशुल्क बढीमा एक दशमलब ३ प्रतिशतसम्म लिन पाउने तर थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा शून्य दशमलब ५० प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाइने जनाइएको छ । लघुवित्तले बचत लिँदा बचतको ब्याजदर समेत ग्राहकलाई लिखित रुपमा जानकारी गराउनुपर्ने र ग्राहकको सहमति नलिई निजको खाताबाट कुनै पनि रकम कट्टा गर्न नपाउने व्यवस्था गरिएको छ । 

अबदेखि एउटा व्यक्तिले दुई वटा लघुवित्त संस्थाबाट मात्र ऋण लिन पाउने प्रावधान समेत गरिएको छ । ‘बिनाधितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम दुई वटा लघुवित्त संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्,’ राष्ट्र बैंकद्वारा संशोधित निर्देशनमा भनिएको छ ।

सोही व्यवस्थाअन्तर्गत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिन योग्य नहुने जनाइएको छ । उक्त प्रयोजनका लागि अन्य बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तिय संस्थाबाट (लघुवित्त वित्तिय संस्थासमेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

टिप्पणीहरू