लुटबहादुर, ठगबहादुरपछि बिकाउकुमार

लुटबहादुर, ठगबहादुरपछि बिकाउकुमार
सुन्नुहोस्

त्यसो त, मान्छेको पहिचान उसको कामले गर्छ, नामले होइन । नाम जेसुकै भए पनि उसको कामलाई समाजले मान्यता दिन्छ । तर, कतिपय भने नामकै कारण विवादमा आउने या समस्यामा पर्ने गरेका छन् । भलै उनीहरू असल चरित्रका हुन्छन् । हाल एउटा नाम सामाजिक सञ्जालमा निकै भाइरल छ, बिकाउकुमार यादव । उनी उपसचिव हुन् । 

उनको नामलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । नामजस्तै काम पनि बिकाउ होला भनी मजाक उडाइएको छ । आफू इमान्दार भएपनि नामकै कारण हाँसोको पात्र बनाइएका छन् । यसअघि लुटबहादुर, ठगबहादुरलगायत नाम पनि चर्चामा थियो । सरकारी सेवामा लुटबहादुर नाम निकै प्रख्यात छ । सो नाम भएका दर्जनौं सरकारी सेवामा कार्यरत छन् । कर अधिकृत लुटबहादुर बुढाथोकी एकताका निकै चर्चामा थिए । 

बाँकेको कोहलपुर नगरपालिकाका पूर्वमेयरको नाम पनि लुटबहादुर नै हो । नाम लुटबहादुर राउत भएपनि उनले सरल र इमान्दार जनप्रतिनिधिको परिचय बनाएका थिए । राष्ट्रिय सभाका पूर्वसदस्य ठगिन्द्रप्रसाद पुरी र सर्वोच्च अदालतका सहसचिव ठगेन्द्र कट्टेल पनि नामकै कारण बेलाबखत भाइरल हुने गरेका छन् । छवि स्वच्छ भए पनि नामले गर्दा उनीहरू बेलाबखत अप्ठेरोमा पर्ने गरेका छन् । 

एकताका कुकुर कामी नामले मुलुकभर तरंग ल्याएको थियो । उनको नागरिकता सामाजिक सञ्जालमा भाइरल बनेपछि गृह मन्त्रालयले सच्याउन निर्देशन दिएबमोजिम दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नाम सच्चाएर कविराम कामी बनाइदिएका छन् । उता ठगे कामीको नाम सच्याएर नागरिकतामा कर्णबहादुर कामी बनाइएको छ ।

जस्तो नाम, उस्तै काम 

इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले नामजस्तो काम पनि त्यस्तै गरेका थिए । बुटवलमा कार्यरत रहँदा अख्तियारले उनको निवासबाट नगद र सुन बरामद गरेको थियो । 

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५, हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले सोबारे कार्यालयलाई जानकारी गराएका थिएनन् । पछि सुन फिर्ता लगेको कागज गर्न लगाएर फिर्ता नगरी आफैंसँग राखेका हुन् । त्यसक्रममा दुई जनासँग १८ लाख रूपैयाँ घुस लिएको पाइएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय तेजनारायणसिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले उनलाई दुई वर्ष कैद र साढे आठ लाख रूपैयाँ जरिवानाको फैसला गरेको छ । 

किन राखिन्छ असहज नाम ? 

सानो हुँदै बुवाआमाले सन्तानको नाम राख्छन् । त्यही नामले जिन्दगीभर बोलाइने हो । तर, सोचविचार नगरी नाम राख्दा जिन्दगीभर बद्नामी खेप्नुपर्ने हुन्छ । यता, बोलाउनेलाई पनि नाम लिन अप्ठेरो पर्छ । ‘ठग’ को अर्थ अरुलाई ठग्ने हुन्छ । त्यस्तै, ‘लुट’ भनेको अरुलाई लुट्नु हो । ‘बिकाउ’ को अर्थ बिक्ने हो । शब्दको अर्थ नै नहेरिकन नाम राख्ने चलन अहिले पनि छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू