माओवादीलाई सर्वोच्चको आस, एमालेले सम्झायो उदितनारायणको गीत

माओवादीलाई सर्वोच्चको आस, एमालेले सम्झायो उदितनारायणको गीत

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति गैरसंवैधानिक रहेको दावी गरेको छ । आज प्रतिनिधिसभा बैठकमा सांसद लेखनाथ दाहालले सर्वोच्च अदालतले उक्त नियुक्ति बदर गरिदिनेमा आफूहरु विश्वस्त रहेको बताए । 

संविधानको धारा ७६ (२) बमोजिम नियुक्त तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा (३) मा जानुपर्ने माओवादी केन्द्रलगायत एकथरी कानुनविद्धको मत रहँदै आएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले उपधारा २ अन्तर्गत  ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।  

माओवादी केन्द्रका सांसद दाहालले राष्ट्रपतिद्वारा गैरकानुनी ढंगले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको जिकिर गर्दै अदालतले उल्ट्याइदिने बताए । ‘संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) सक्रिय भई प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रपतिज्यूले गैरकानुनी प्रधानमन्त्री नियुक्त गर्नुभएको छ', उनले भने ।

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध गत असार ३१ गते सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटको पेशी गत साउन ६ गते तोकिए पनि न्यायाधीश बालकृष्ण ढकालको इजलासले संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । अब अर्को पेशी आगामी साउन ३० गतेलाई तोकिएको छ । 

सोही प्रंसग स्मरण गर्दै सांसद दाहालले सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका हुन् । कांग्रेस-एमाले गठबन्धन अस्वाभाविक, अपवित्र र बदनियतपूर्ण रहेको उनको तर्क छ । 

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले भने सांसद दाहालको अभिव्यक्तिको संसदबाटै खण्डन गरेका छन् । कुन-कुन दलले गठबन्धन गर्दा पवित्र हुन्छ ? प्रश्न गर्दै उनले सोथे, ‘सुनियो-यो अपवित्र भयो, कुन चाहीँ गहुँत छर्किएपछि पवित्र हुन्छ ? मैले बुझेको छैन, कहाँ कोसित मिल्न बाँकी छ र हामी पवित्रता र अपवित्रताको कुरा गर्छौं ?’

सांसद बाँस्कोटाले उदितनारायण झाको गीत स्मरण गर्दै माओवादीले सत्ताको लोभ देखाएको आरोप लगाए । ‘उदितनारायण झाले गाएको गीत थियो- कुन्नी कसको पछ्यौरीमा अल्झिएँ, कसको चौबन्दीमा अल्झिएँ, लोभ्याउने मायाको जालमा परेँ भनेको थियो, यहाँ पनि सत्ताको लोभ भयो’ उनले कटाक्ष गरे ।

टिप्पणीहरू