राष्ट्र बैंकमा हाकिमहरुको म्युजिकल चेयर, त्रिनेत्रलाई डलर
नेपाल राष्ट्र बैंकमा तीन जना कार्यकारी निर्देशक सरुवा गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले आज अकस्मात तीन जनाको विभागीय जिम्मेवारी हेरफेर गराएका हुन् ।
दुई जनालाई अघिल्लो महिनामात्रै सरुवा गरिएको थियो भने एक जनाको गत मंसिरमा भएको बताइन्छ । भोलिदेखि लागु हुने सरुवामा बैंकको कर्मचारी प्रशासन सञ्चालन गर्ने मानव संशाधन व्यवस्थापन विभागका नरेश शाक्यलाई आन्तरिक लेखापरीक्षण विभाग पुर्याइएको छ । उनी अघिल्लो महिना सूचना प्रविधि विभागबाट सरुवा भएका थिए ।
गत मंसिरसम्म मानव संशाधनमा रहेका तुलसीप्रसाद घिमिरेलाई विदेशी विनिमय व्यवस्थापन विभाग लगिएको थियो । अहिले घिमिरेलाई नरेशको ठाउँमा ल्याइएको छ ।
कार्यकारी निर्देशक रेवती नेपाललाई आन्तरिक लेखापरीक्षण विभागबाट विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारीमा सारिएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति, त्यसको लगानी र कारोबारसँग सम्बन्धित सबै महत्वपूर्ण जिम्मेवारी रहेको विभागमा नेपाललाई लगेपछि बैंकका कर्मचारीले ‘बिरालोलाई कुँडे’ सुम्पेको अर्थ लगाएका छन् ।
नेपाल यसअघि लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागमा कार्यरत छँदा सर्वाधिक विवादमा परेका थिए । निरीक्षण रिपोर्टमा नानाथरी खोट देखाउने, त्यसको बदलामा गोप्य तालिम आयोजना गर्न लगाएर सम्बन्धित संस्थासँग कोशेली लिँदै स्रोत व्यक्तिको रुपमा प्रस्तुत भएपछि उनीविरुद्ध उजुरी परेको थियो । विगतमा उपनिर्देशकको भूमिकामा नियमन विभागमा छँदा बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र बनाउने नाममा खर्च उठाएको आरोपमा तत्कालीन बैंक व्यवस्थापनले रेवतीलाई चेतावनीसहित सरुवा गरेको थियो ।
त्यसैगरी मुद्रा व्यवस्थापन विभागमा छँदा ससुरालीतर्फका नातेदारसँग मिलेर बैंकहरुलाई नगद व्यवस्थापन तथा ढुकुटी सञ्चालनलगायत तालिम आयोजना गर्न बाध्य पारेको आरोप छ । त्यसबारेमा नेपालको सर्वाधिक आलोचना सुनेको उच्च व्यवस्थापनले अहिले सबैभन्दा जोखिमयुक्त विभागको जिम्मेवारी दिनुलाई रहस्यमय ठानिएको छ । उनीसँग निकट रहेर नियमन विभागमा काम गरेका एक जना अवकाशप्राप्त अधिकृत भन्छन्, ‘नियम,कानुन, नियमावली र निर्देशनको शब्द र अक्षरको अर्थमा काइते व्याख्या गर्ने खेलाडी हुन् । यस्तालाई डलरको खेतीपाती हुने ठाउँमा हली बनाएपछि अब फाँड्ने बाहेक के काम होला र !’
टिप्पणीहरू