भट्टी साहुमा भिड्दै डिएसपीको सरुवा

भट्टी साहुमा भिड्दै डिएसपीको सरुवा

– यदुनाथ बञ्जारा

पोखराको लेकसाइड देशकै चर्चित पर्यटकीय स्थल हो । यही महत्वलाई बुझेर सरकारले चैत ४ गतेदेखि लेकसाइड २४ सै घण्टा खुलाउने निर्णय असल नियतका साथ गरेको छ । रात्रि व्यवसायका कारण असुरक्षा बढेको कारण यसबीच लेकसाइड खुलाउने निर्णय पुनरवलोकन गर्नुपर्ने माग पोखराका पर्यटन व्यवसायी स्वयंले गर्न थालेका छन् ।

पर्यटन व्यवसाय शान्त हुनुपर्छ, रमाइलो गर्ने रोधी, दोहोरी ‘क्लब, डिस्को र बारहरू ध्वनि प्रदूषणमुक्त (नोइज प्रुफ) हुनुपर्छ । रमाइलो गर्नेले रमाइलो गर्न पाउनुपर्छ, शान्तपूर्वक आनन्द लिएर सुत्नेले सुत्न पाउनुपर्छ तर रातभरि डिस्को, बार खोलेर अशान्ति मच्चाउनेजस्ता कार्य हुँदै आएका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उब्जिएको छ ।

केही वर्षअघि लेकसाइडको एउटा क्लबका केटाहरुले कुटपिट भएको सूचना पाई छुट्ट्याउन गएका प्रहरीलाई रक्तमुछेल हुने गरी कुटेका थिए ।  फेरि यस्तै गुण्डागर्दीका घटना लेकसाइडमा दोहोरिएको छ । असार १३ गते १६ नम्बर गल्लीमा रहेको क्लब १६ का बाउन्सरहरूले क्लबको गेटैअगाडि एक युवकमाथि सांंघातिक आक्रमण गर्दा घाइतेकी आमाले उजुरी दिएपछि बैदाम प्रहरीले २ जनालाई समातेर अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

बैदाम प्रहरी इञ्चार्ज डिएसपी राजेन्द्र श्रेष्ठ र क्लब सिक्स्टिनका साहु राजु कार्कीबीच यो घटनाले दूरी बढाएको थियो । केही दिनअघि डिएसपीलाई काठमाडौँ तानियो । सामान्यतया १ वर्षमा सरुवा हुने इञ्चार्जको ९ महिनामै सरुवा भयो । अख्तियार, प्रहरी हेडक्वार्टर, गृह मन्त्रालयमा डिएसपीविरुद्ध बेनामी उजुरी पारेको बताइन्छ । क्लब सञ्चालकले यसअघि काठमाडौँका केही पत्रकारलाई प्रयोग गरेर ती डिएसपीको उछित्तो काढेका थिए ।

लेकसाइडमा क्रियाशील १ दर्जन बढी पर्यटन व्यवसायीको संस्थाले डिएसपी श्रेष्ठमाथि लगाइएको आरोपको खण्डन गरेको छ । बैदाम प्रहरीले कोही–कसैसँग पैसा मागेको, अनावश्यक दुःख हैरानी दिएको बारे केही गुनासो र जानकारीसमेत नपाएको भन्दै पर्यटन व्यवसायीको संस्थाले जिल्ला प्रशासन, जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ । क्लब १६ का सञ्चालकले नै डिएसपीविरुद्ध बेनामी उजुरी दिएको धेरैले ठम्म्याएका छन् । श्रेष्ठ मिडियामा आउन खासै रुचि नराखे पनि पुलिसिङमा भने प्रतिबद्ध मानिन्थे । 

तालुक निकायले बेनामी उजुरीलाई आधार मानेर छानबिन नै नगरी तान्नुले कतै प्रहरीमाथि अन्याय त भएको छैन भन्नेबारे सोचिनुपथ्र्याे । बेनामी उजुरी त आइजीमाथि पनि पर्ने गरेको छ, पूर्वगृहमन्त्री रवि लामिछानेमाथि दर्जनौं जाहेरी परेकै हो तर किन भएन कारबाही ? बैदाम प्रहरी इञ्चार्जमा सन्तोष निरौला आएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू