श्रीमानलाई ‘नैतिकता’ लाग्छ कि लाग्दैन ?

श्रीमानलाई  ‘नैतिकता’ लाग्छ कि लाग्दैन ?

भ्रष्टाचारमा कारबाही गरी सुशासनको जगेर्ना गर्न स्थापित विशेष अदालतका न्यायाधीश रामबहादुर थापा सहकारी हिनामिनाको आरोप लागेको ललितपुर कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीमा जोडिएका छन् ।

उक्त संस्थामाथि ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ४६९ रुपैयाँ ठगेको आरोप छ । सर्वसाधारणको रकम ठगेकोमा पक्राउ परेका अध्यक्षसहित ४ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । आठ जना फरार छन् । विशेष अदालतका न्यायाधीश (सदस्य) रामबहादुर थापा त्यहाँका संस्थापक अध्यक्ष हुन् ।

ललितपुर प्रहरी परिसरमा २०८० पुस १९ गते सो सहकारीका पदाधिकारीविरुद्ध जाहेरी दर्ता भएको थियो । त्यसअघि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेअनुरुप अनुसन्धान अघि बढेको थियो । तनहुँ जिल्ला व्यास नगरपालिका, ११ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने सहकारीका अध्यक्ष तेजविक्रम थापा, ललितपुर महानगरपालिका, १८ घर भई हाल गोकर्णेश्वर बस्ने सहकारी संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार, कीर्तिपुर नगरपालिका घर भएका भीमसेन महर्जन र काठमाडौं महानगर–६ चाबहिल घर भएका सञ्जय सापकोटामाथि ठगीको मुद्दा लगाइएको छ । 

मुद्दा चल्ने अध्यक्ष थापा र व्यवस्थापक एवं प्रशासन प्रमुख सजना राजकर्णिकार पति/पत्नी हुन् । तेजविक्रम न्यायाधीश थापाका भाइ हुन् । उनी २०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष पदमा थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत वर्षको माघ २६ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । अभियोगको सूची सर्सर्ती हेर्दा सहकारी सञ्चालकमा न्यायाधीशको परिवारका सदस्यको बाहुल्य देखिन्छ । 

प्रहरीले व्यवस्थापक रहेका तेज र सजनालाई पक्राउ गर्दा संस्थापक अध्यक्ष रहेका न्यायाधीश थापाको हैसियतमाथि प्रश्न उठेको छ । यद्यपि मुद्दामा न्यायाधीश थापा प्रतिवादी भने छैनन् । जाहेरी दर्ता रहेको ललितपुर प्रहरी परिसरको रेकर्डमा कुनै जाहेरी परेको अवस्था पनि छैन । तर परिवार नै घोटालामा मुछिँदा संस्थापक अध्यक्षलाई नैतिक दायित्वबाट उन्मुक्ति नहुने भनाइ सहकारी कानुनका जानकारहरू बताउँछन् ।

त्यसैमा पनि थापा भ्रष्टाचारमा ‘दूधको दूध, पानीको पानी’ खुट्याउने न्यायमूर्तिको आसनमा छन् । ‘परिवारका कुनै सदस्यलाई मुद्दा चल्दैमा न्यायाधीशले राजिनामै दिनुपर्छ भन्ने कानुन त छैन, तापनि यति ठूलो घोटाला प्रकरण जोडिएको सहकारीको संस्थापक अध्यक्षको जिम्मेदारीमा रहिसकेपछि न्यूनतम नैतिकताको प्रश्न त अवश्य उठ्छ, ’ भ्रष्टाचार मुद्दामा बहश गर्न विशेष अदालत पुगेका एक वरिष्ठ अधिवक्ता भन्छन्, ‘नैतिकता देखाउने चिज हो, देखाउनुपर्ने व्यक्तिले नै मैले देखाउन्न, तैंले के नाप्छस् भन्यो भने त सकियो ।’ 

न्यायाधीश थापा कानुन व्यवसायी हुँदा २०६० सालसम्म कृषि विकास बहुउद्देश्यीय सहकारीको अध्यक्ष थिए । उनी न्यायाधीशमा नियुक्त भएपछि भाइ तेजले सहकारी सम्हाले । उक्त सहकारीमा कूल २ अर्ब ८० करोड रकम बचत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

तेजको तेजरफ्तार 

न्यायाधीश थापाका भाइ तेज २०५६ सालमा लेखा प्रमुख र सञ्चालक समिति सदस्य भएर कृषि विकास सहकारीमा छिरे । त्यसपछि २०६६ सालदेखि शुरु गरिएको कृषि इन्भेष्टमेन्टमा अध्यक्ष बने । रफ्तार यतिमा मात्रै रोकिएन । २०७१ सालमा शुरु भएको कृषि टेलिभिजन र २०७३ सालमा थालिएको गोरखा टेलिभिजनको संस्थापक अध्यक्ष बने । २०७४ सालदेखि शुरु यति हर्ब्स प्रालिमा पनि अध्यक्ष बने । लगत्तै काठमाडौं उपत्यकाका विभिन्न १४ स्थानमा शाखा मार्ट रहेको कृषि फ्रेस प्रालिमा अध्यक्ष भए । यो कम्पनी २०७० सालदेखि सञ्चालित छ । त्यसपछि २०७६ देखि शुरु भएको यती टेक्निक प्रालिमा अध्यक्ष बने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू