आमा भागेर भारत पलायन, छोराको अमेरिकाबाट हारगुहार

आमा भागेर भारत पलायन, छोराको अमेरिकाबाट हारगुहार

विरोध प्रदर्शन दबाउन सुरक्षा निकायको गलत प्रयोगबाट सयौं नागरिकको ज्यान गएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना भागेर भारतको पश्चिम बंगाल पुगेकी छन् । प्रदर्शनकारी र सुरक्षाकर्मी गरेर झण्डै चार सय जनाको ज्यान गएको छ भने सयौं घाइते छन् । 

तर, प्रधानमन्त्री हसिना प्रदर्शनकारीहरु आफ्नो निवासमा छिरेर तोडफोडमा उत्रिएपछि ज्यान जोगाउन भागेर भारत पलायन भएकी हुन् । विपक्षीहरुले उनीमाथि भारतपक्षधरको आरोप लगाउँदै आएका थिए । राजीनामा लगत्तै उनले  सेनाको हेलिकोप्टरमा कोलकाता पुगेर ज्यान बचाएकी हुन् । 

प्रधानमन्त्री भागेपछि सेना प्रमुख वाकर उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका नागरिकलाई मुलुकभित्र शान्ति कायमका लागि अनुरोध गरेका छन् । यसअघि हसिनाले गर्न खोजेको सम्बोधनलाई प्रदर्शनकारीहरुले उनको निवासभित्र पसेर रोकिदिएका थिए ।

बंगलादेशका निवर्तमान कानुनमन्त्रीले मुलुकको अवस्थाबारे चिन्ता व्यक्त गर्दै क्षणभरमा भइरहेको घटनाबारे आफू अनभिज्ञ रहेको बताएका छन् । उता आन्दोलनकारीहरु गृहमन्त्रीको घरमा पसेको बताइएको छ ।

राजीनामापछि कलकता पुगेकी प्रधानमन्त्री हसिनाका छोराले मुलुकका सुरक्षा निकायहरुलाई परिस्थितिलाई आफ्नो हातमा लिन आग्रह गरेका छन् । अमेरिकामा बस्दै आएका सजीब वाजेदले सामाजिक सञ्जालमा लेख्दै आफ्नी आमा नेतृत्वको निर्वाचित सरकारको विकल्पमा अरु गैर निर्वाचित सरकार हुन नसक्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू