जिबीलाई समात्ने पत्र फेरि गृहमा

बेचनलाइ भारतबाट समातेर भित्र्याउँदाकाे वृत्तान्त

जिबीलाई समात्ने पत्र फेरि गृहमा

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मीलगायत दर्जनौँ सहकारीको रकम हिनामिना गरी विदेश भागेका जिबी राईलाई समात्न प्रहरी फेरि तातेको छ । गृहको नेतृत्व फेरिएसँगै मलेसियामा रहेका जिबीलाई नेपाल ल्याउन सहजता महसुस गरेको प्रहरीले त्यसतर्फ तयारी थालेको हो ।  

नेपाल प्रहरीले यसअघिका गृहमन्त्री रवि लामिछानेलाई इन्टेलिजेन्सतर्फका २ जना अफिसरको मलेसिया जाने बजेटसहित प्रवन्ध मिलाइदिन आग्रह गरेको थियो । यसनिम्ति जेठ दोस्रो साता गृहलाई औपचारिक पत्रसमेत लेखिएको थियो । तर, आफू गृहमन्त्री भए २ दिनमा जिबीलाई समातेर नेपाल ल्याउने च्यालेञ्ज गरेका रविले उक्त पत्रको जवाफ दिएनन् । उल्टै २ महिनासम्म घर्रामा थन्क्याएर राखिदिए । 

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको मागसहित लगातार संसदमा आवाज उठाएका रमेश लेखक अहिले गृहमन्त्री छन् । उनकै निर्देशनमा गृहले सहकारी ठगेर विदेश फरार भएका १८ जना अभियुक्तलाई पक्राउ गर्ने तयारी थालेपछि प्रहरीले पुनः सोही व्यहोराको पत्र पठाएको छ । 

उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला रविले लुकाएको पत्रकै व्यहोरा उल्लेख गरी गृहलाई पठाइएको हो । पत्रमा ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जिबीलाई समात्न आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई जना प्रहरी कर्मचारीलाई मलेसिया जानको लागि स्वीकृतार्थ......’  भन्ने व्यहोरा छ । 

साथै, प्रहरीसँग यथेष्ट बजेट नभएकाले त्यसको समेत प्रबन्ध गरिदिन आग्रह गरिएको बताइएको छ । यसअघि गृहबाट पत्रको जवाफ नआएपछि मलेसिया जान रोकिएको प्रहरी टोली यसपटक भने त्यस्तो नहुनेमा विश्वस्त देखिन्छ । 

यता, संसदीय छानविन समितिले सहकारीको रकम हिनामिना गरी विदेश भागेका १८ अभियुक्तलाई पक्राउ गर्न गृहलाई निर्देशन दिएको छ । जसमा रवि लामिछानेका तत्कालीन व्यावसायिक साझेदार जिबीसहित १८ जनाको नाम किटान गरिएको छ ।

बेचनलाई भारतबाट समातेर भित्र्याउँदाको वृत्तान्त 

सत्ता राजनीतिलाई नै उथलपुथल पार्ने गरी गिरफ्तारीमा परेका बेचन झा कसरी प्रहरीको फन्दामा परे र उनलाई भारतबाट काठमाडौँसम्म ल्याउँदा के–कस्ता नयाँ–नयाँ विधि र प्रक्रिया अपनाइयो भन्ने विषय निकै रोचक छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झालाई काठमाडौँबाटै पक्राउ गरिएको भनिए पनि खासमा नयाँदिल्लीबाटै उठाइएको समाचार स्रोतले बताएको छ । २०७९ चैतमा शरणार्थी प्रकरणका आरोपीहरू पक्राउ पर्न थालेपछि फरार रहेका बेचन भारतले नेपाल प्रहरीलाई सिधै बुझाएको भने होइन । 

सुदूरपश्चिममा तैनाथ नेपाल प्रहरीका डिआइजीलाई समेत थाहै नदिई तत्कालीन गृहमन्त्री रवि लामिछाने र विशेष व्युरोका डा. मनोज केसीको पहलमा ल्याइएको स्रोतको दाबी छ । सिंहदरबार प्रहरीको हिरासतमा रहेका झाले अग्लो कदका ३ जना मानिसले उठाएको र नेपालको बोर्डरमा ल्याएर यताको सशस्त्र प्रहरीलाई बुझाएको बताउँदै आएका छन्् । उनी बस्दै आएको घरबाटै समातिएको भन्नेचाहिँ पक्का भएको छ । यस प्रकरणमा देखिएको सबैभन्दा ठूलो फरकचाहिँ के भने अहिलेसम्म कुनै पनि अपराधीलाई भारतबाट समातेर ल्याउनेले नै काठमाडौँसम्म पुर्‍याउने र जिम्मा दिने गर्दै आएका थिए । तर, बेचनलाई पक्राउ गर्नेले दिल्लीदेखि ७ सय किलोमिटर गाडीमा कुदाएर सीमाबाटै अर्कैलाई जिम्मा दिए । उताका प्रहरीले ल्याएर सशस्त्रलाई बुझाउने कुराको त कहिल्यै कल्पनासमेत गरिन्नथ्यो । यसरी ल्याइएका बेचनलाई भने पश्चिमको गड्डाचौकी सीमास्थित सशस्त्रको जिम्मा लगाइयो । सो चौकीका डिएसपी रामेश्वर श्रेष्ठले बुझेर गल्छीसम्म ल्याएका हुन् । 

यो क्रममा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेशका सशस्त्र डिआइजी दीपक अधिकारीलाई आदेश दिएपछि उनकै पहलमा सशस्त्रले बुझेको बताइन्छ । यदि, त्यसो नहुँदो हो त सशस्त्र प्रहरीले यसरी नेपाल प्रहरीले गर्दै आएको कामको जिम्मा लिँदैनथ्यो । यहाँ त उसले जिम्मा लिएको मात्र होइन कि धादिङको गल्छीसम्म ल्याएर डिएसपी दिपेश बस्यालको टोलीलाई जिम्मा लगाएको पाइयो । सो टोलीमा सई माधव थापासहित पाँच जना थिए । 

यी सबै विवरण हेर्दा बेचनलाई गृहमन्त्रीकै सक्रियतामा पक्राउ गरिएको बुझ्न गाह्रो छैन । यसमा विशेष ब्युरोका डिआइजी डा. मनोज केसी र भारतीय खुफिया एजेन्सी ‘रअ’को समेत सक्रियता आशंकित छ । यसका लागि मुकुल ढकालले भनेझैँ गृहमन्त्रीले गरेको भेटघाटमा दुवै पक्षले अफर मागेर लेनदेन गरेको आशंका गर्न थालिएको छ । त्यसबाहेक जिबी राईमा केन्द्रित राजनीतिलाई अर्कैतर्फ मोड्नुपर्ने बाध्यता पनि रविलाई थियो । कम्तीमा थप एक वर्ष प्रचण्ड – रविको सरकार चल्छ भन्ने विश्वासमा डिआइजी केसीले आँखा चिम्लिएर साथ दिएको चर्चा नेपाल प्रहरीको विशेष ब्युरोमा छ । अर्को चैतसम्म सिआइबीका हाकिम श्यामलाल ज्ञवालीलाई आइजी दिएर त्यसपछि सीधै उनको पदमा पुर्‍याउने भन्ने लोभ देखाएपछि केसी हौसिएको बताइन्छ । त्यसबेलाको योजनामा संलग्न एक पात्रका अनुसार बेचनबाट बयान लिएर सोही आधारमा नक्कली शरणार्थी प्रकरणमा देउवापत्नी आरजु राणालाई समेत पक्राउ गर्ने तयारी थियो ।

उता, ओलीलाई पनि साइजमा राख्न उनका पिए राजेश बज्राचार्यलाई समेत हिरासतसम्म पुर्‍याउने प्लान बनेको थियो । समाचार स्रोत भन्छ – त्योबेला रवि लामिछानेले नबुझेको कुरा के भयो भने नेपाल प्रहरीमा रास्वपाका होइन एमाले–कांग्रेसका कार्यकर्ता बढी छन् र उनीहरूले आफ्ना नेताको रक्षा वा स्वार्थ सिद्धलाई प्राथमिकतामा राख्ने गर्छन् । यसरी गृह मन्त्रालयको योजनामा प्रहरीका केही हाकिमले गरेको तयारीबारे पलपलको खबर बालकोट र बूढानीलकण्ठमा पुगिरहेको थियो । त्यसैले १३ गते बेचनलाई काठमाडौँ ल्याइएपछि १४ गते सबै योजना एमाले–कांग्रेसका शीर्ष नेताले थाहा पाएर असार १५ गते दहीच्युरा खान देउवाको जोडी नै बालकोट पुग्यो । त्यही साँझ नयाँ सहमति जुट्यो । जुन १७ गते नयाँ गठबन्धन निर्माणको सम्झौताका रूपमा प्रकट भयो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू