सत्तामा फेरियो लोली, फेरिएन सीताको चोली

सत्तामा फेरियो लोली, फेरिएन सीताको चोली

–  शिवकुमार काशी

८१ वर्षका सन्तबहादुर चेपाङ दुइटै कान सुन्दैनन्, आँखा पनि निकै कम देख्छन् । हावाहुरीले उडाएर छानो ह्वाङ्गै बनाएपछि पिँढीमा राखिएको जस्तापाता झिकेर घर छाउन मन त लाग्छ, तर सक्दैनन् । 

उनलाई साथ दिने जीवन संगिनी सीता चेपाङको अर्कै कथा छ । फाटेको चोली नफेरेको वर्षाैं भयो । धन्न, गाउँका सचेत महिला मिलेर सन्तबहादुरको नागरिकता गत वर्ष बनाइदिए र त सरकारले दिने मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ले गुजारा चलिरहेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–४ ठाडोखोला भन्ने गाउँमा चुरे जंगलनजिकै बसोबास गर्दै आइरहेको यो दम्पतीको दैनिकी देख्दा जोे–कोहीलार्ई दया जाग्न सक्छ । अझ उदेकलाग्दो कुरो त के भने श्रीमान् सन्तबहादुरको नागरिकता बने पनि सीताको अहिलेसम्म बन्न सकेन । कति सालमा जन्मिइन् ? कहाँ जन्मिइन् ? लिखित केही पनि प्रमाण छैन । चितवनतिर माइती छन् भन्ने सुनिन्छ । सोही वडामा सामाजिक कार्यकर्ताको रूपमा सक्रिय विष्णु तितुङ भन्छिन्– ‘आमाको पनि नागरिकता बनाउन सकिएको भए दुवै जनाको मासिक वृद्धभत्ता आउँथ्यो र घर चल्थ्यो ।’ तर, न जाने सुनेकाहरूले यो काम गरिदिए न त जनप्रतिनिधिले नै ! 

पिँढीमा रहेको जस्तापाता भूकम्प पीडितका निम्नि बनाइएको घर छाउनका लागि ल्याइएको रहेछ । गत वर्ष नै ठेकेदारले बनाएर हस्तान्तरण गरिदिनुपर्ने घर अझै सम्पन्न भएको छैन । जस्तापाता हाल्ने र झ्यालढोका हाल्ने काम थाती राखी सरकारबाट प्राप्त रकम सकाएर घर बनाउने ठेकेदार भागेको रहेछ । 

यस्तै–यस्तै दुःखको जीवन बिताइरहेका सन्तबहादुर र सीताहरू देशमा कति छन् ? जसको सहारा एउटा नागरिकता पनि हुन सकेको छैन । दिनहुँ संसद र सरकारमा सत्ताको छिनाझम्टी चलिरहँदा सरकारका मान्छेहरूलाई यी र यस्ता दम्पतीका चोली र कमिज फेरिदिनुपर्छ भन्ने पनि नलाग्नुले गणतन्त्रात्मक व्यवस्थालाई जिस्काइरहेको भान हुन्छ । सकी नसकी टाँकीको साग उमालिरहेकी सीताले डराउँदै र लाज मान्दै भनिन्, ‘पोहोर परारसम्म त खर काटेर घर छाउने व्यवस्था मिलाउन सक्थेँ, अहिले त ज्यानले सकेन ।’ 

सन्तबहादुर र सीताको यस्तो अवस्थाबारे मनहरी गाउँपालिका–४ का वडाध्यक्ष प्रकाश थापा अर्ध जानकार रहेछन् । उनले तत्कालै ठेकेदार सूर्य चेपाङलाई फोन गरेर घर बनाउन धम्कीपूर्ण आदेश दिए । भने, ‘यदि त्यो घर फाइनल भएन भने तिम्रो घर अघि थुपारिएको इँटा बेचेर भए पनि घर छाउने काम गर्छु ।’ त्यसपछि वडा सदस्य दिनेश चेपाङलाई बोलाएर भने, ‘ती आमाको नागरिकता बनाउनुपर्छ, जन्मदर्ताको अवस्था के कसो हो ? माइती पत्ता लगाएर आवश्यक काम गरौँ ।’ 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू