इन्दिरालाई महासचिवले रोक्दा रोक्दै

इन्दिरालाई महासचिवले रोक्दा रोक्दै

उपसभामुख इन्दिरा रानामगरले संघीय संसद् सचिवालयका तत्कालीन महासचिव डा.भरतराज गौतमको रोकतोकका बाबजुद सरोकारविहीन पात्रहरूको भिसाका निम्ति अमेरिकी दूतावासलाई पत्र लेखेको खुलेको छ । महासचिवले ‘हुँदैन’ भन्दाभन्दै उनले आफैं तम्सिएर पत्र लेखेकी थिइन् । 

दुई हजारभन्दा बढी बालबालिकाको ‘आमा’ बताउने इन्दिराले दूतावासलाई लेखेको पत्र जनआस्थाले यसअघि नै प्रकाशित गरिसकेको छ । उनको गल्ती क्रमिक रूपमा बाहिर आइरहेको छ । 

सन् २०२३ मार्च ६ देखि १७ सम्म अमेरिकाको न्यूयोर्क सिटीमा संयुक्त राष्ट्रसंघले महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागिता जनाउनका लागि उनले आफ्नो नाम त सिफारिस गरिन् नै, सँगै पाँच जना गैरसांसदको नाम पनि पठाइन् । 

सो विषय एक वर्षपछि मात्र बाहिर आयो । उनले पत्रमार्फत पाँचै जनाको एकैपटक अन्तरवार्ता मिलाइदिन आग्रह गरेकी थिइन् । जसमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर, धनप्रसाद गुरुङ छन् । स्रोतका अनुसार उनले पत्र लेख्नका लागि सचिवालयका उपसचिव विमलराज जोशीलाई निर्देशन दिएकी थिइन् ।

अरुलाई नगन्ने स्वभावकी उनको निर्देशन विमलले मानेनन् । ‘आफूबाट सो काम नहुने’ भन्दै  त्यतिबेलै पन्छिए । तर, उपसभामुखले गर्नैपर्ने अडान कसेपछि इन्दिरालाई भरतराजकहाँ पुर्‍याइदिए । भरतराजले स्पष्ट रूपमा उनले भनेअनुसार हुन नसक्ने बताए । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो लेख्न कहाँ मिल्छ ? यो लेख्नुहुँदैन, कसैले पनि नलेख्नुस् है ।’ 

सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशव ढुङ्गेलले सो कुरा थाहा पाए । उनले पत्र लेख्नैपर्ने भन्दै इन्दिरालाई उकासेको स्रोतको भनाइ छ । त्यसपछि बल्ल इन्दिरा आफैं पत्र लेख्न तम्सिएकी हुन् । सो कार्यक्रममा सहभागिता जनाउने सबैको निम्तो इन्दिराले नै मगाएको स्रोतको दाबी छ । 

पत्रमा उनले ती व्यक्ति आफैंसँग जाने भनेर जिम्मा पनि लिएकी छन् । पत्र बाहिर आएपछि समाजसेवाको नाम निरन्तर लिइरहेकी छन् । विवादमा तानिएपछि स्पष्टीकरणसहितको विज्ञप्ति निकालेकी थिइन् । जसमा घटनाक्रमभन्दा पनि प्राप्त सम्मानबारे बढी व्याख्या गरिएको छ । आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको उनको दाबी छ । करुणाभावले गर्न खोजेको सहयोगलाई उल्टो अर्थ लगाएर आफूलाई विवादमा तान्न खोजेको भन्दै चित्त पनि दुखाएकी छन् । 

जानकार स्रोत भन्छ, ‘अहिलेको जमानामा अमेरिका लैजान उधारोमा चिठी काटिन्छ होला ? मान्छेले पत्याउने कुरा गरेको भए त हुने हो ।’ एक जनाबाट कसैले नौ लाख रूपैयाँ लिएर अमेरिका लैजान सिफारिस गरेको विषय पनि बाहिर आएको छ । 

यता, रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले यस प्रकरणको भण्डाफोर गरिदिएका छन् । वैशाख ४ गते पार्टी कार्यालयमा उजुरी परेको बताउँदै उनले पैसा लिएको बैंक स्टेटमेण्ट अझै पनि सुरक्षित रहेको उल्लेख गरेका छन् । सोबारे उपसभामुखसँग सोधपुछ पनि गरिएको उनको जिकिर छ । वर्षदिनदेखि लुकाइराखेको पत्र बाहिर ल्याउनमा उपसचिव विमलको हात रहेको आशंका उपसभामुखको छ । स्रोतका अनुसार उनले विमलमाथि पत्र ‘लिक’ गरिदिएको आरोप लगाउँदै कारबाहीस्वरूप विमललाई सचिवालयबाटै ‘आउट’ गरिसकिन् । 

‘गल्ती आफू गर्ने, दोष मलाई लाउने ?’

इन्दिराले असार १९ गतेबाट लागू हुनेगरी विमललाई सचिवालयबाट हटाएकी छन् । विमलका अनुसार उपसभामुखले उनलाई पत्र लेखिदिन भनेकी थिइन् । आफूबाट नहुने भएपछि तत्कालै महासचिव डा.गौतमलाई भेटाइदिएको उनको भनाइ छ । 
‘उपसभामुखले पत्र लेखिदिन भन्नुभएको थियो । मैले मबाट हुँदैन भनेँ । त्यसपछि डा.गौतमलाई भेटाइदिएँ । उहाँले स्पष्ट रूपमा त्यस्तो पत्र लेख्न नमिल्ने बताउनुभएको थियो । त्यसपछि उपसभामुख आफैंले पत्र लेखेर पठाउनुभएछ’, उनले भने । आफूमाथि आक्षेप लगाएमा कडा प्रतिरोध गर्ने उनले बताए । भन्छन्, ‘मैले कुनै पनि अवाञ्छित कार्य गरेको छैन । म सफा नियतले यहाँ बसेको हुँ । गल्ती आफू गर्ने अनि अरुलाई दोष लगाउने कार्य सह्य हुँदैन । उहाँले ममाथि कुनै पनि आक्षेप लगाउनुभयो भने सम्बन्धित ठाउँमा गएर त्यसको जवाफ दिन्छु ।’

घटनापछि मौन उपसभामुख 

उपसभामुख इन्दिरा सो घटनापछि चुपचाप छिन् । कार्यालय आए पनि पहिलेजस्तो भलाकुसारी गर्न छाडेको स्रोत बताउँछ । कार्यकक्षमा गएर चुपचाप बस्छिन् । स्रोत भन्छ, ‘अरुलाई प्याच्च भनिहाल्ने बानी छ । मैले समाजको लागि यो गरेँ, त्यो गरेँ भनेर सुनाइरहन्थिन् । सांसदहरूलाई हप्काइरहन्थिन् । अहिले मुसोजस्तै भएकी छन् । कार्यालय आउँछिन्, कार्यकक्षभित्रै बसिरहन्छिन् । पहिलेजस्तो गफिएर बस्दिनन् । उनी भए–नभएको थाहा नै हुँदैन ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू