बंगलादेशमा राजनीतिक स्थिरताको संकेत, डा. यूनुसको नेतृत्वमा अन्तरिम सरकार
बंगलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दिनले संसद विघटनको घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिना हिजो राजीनामा दिएर भारत भागेपछि सेना प्रमुख वाकर–उज–जमानले देशबासीलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनबारे जानकारी गराएका थिए ।
आज राष्ट्रपतिले बंगलादेशको १२औं संसद विघटन गरेका हुन् । बंगलादेशको राष्ट्रपति निवास बंगाभवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति, सेना प्रमुख, विभिन्न राजनीतिक दल, नागरिक समाज र विद्यार्थी नेताहरुबीचको छलफलपछि संसद विघटनको निर्णय गरिएको छ ।’
यसबीच प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बिएनपी)की अध्यक्ष खलिदा जियालाई रिहा गरिएको छ । उनलाई हसिना नेतृत्वको सरकारले विभिन्न भ्रष्टाचारको मुद्दामा सन् २०१८ मा जेल चलान गरेको थियो ।
आन्दोलनरत विद्यार्थीहरुले अन्तरिम सरकारको नेतृत्व लिन नोबल शान्ति पुरस्कार विजेता एवम् चर्चित प्रा.डा. मोहम्मद यूनुसलाई प्रस्ताव गरेका छन् । डा. यूनुसले पनि उक्त प्रस्तावमा सहमति जनाएको बताइन्छ । उनी निवर्तमान प्रधानमन्त्री शेख हसिनाका कट्टर आलोचक हुन् ।
दुई साताअघि ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा अतिथि बनेर फ्रान्सको पेरिस पुगेका उनी विदेशमै छन् । यूनसको भनाई उदृत गर्दै दी डेलिस्टारले भनेको छ, ‘सुरुमा विद्यार्थीहरुले प्रस्ताव राख्दा म सहमत थिइन । मैले गर्नुपर्ने काम अरु नै छ भनेर पन्छाएको थिएँ । तर पटक पटक उनीहरुको आग्रह र देशको अवस्थालाई मध्यनजर गर्दै अन्ततः यसको लागि तयार भएको छु ।’
आन्दोलनकै क्रममा एक विद्यार्थी नेताले डा. यूनुसलाई यसअघि भनेका थिए, ‘आन्दोलनमा धेरैले ज्यान गुमाइसके । अब देशलाई उपयुक्त तरिकाले नेतृत्व गर्न तपाईंको खाँचो छ । तपाईंले नेतृत्व नलिँदासम्म यो आन्दोलनले कुनै सार्थकता पाउँदैन ।’
पछिल्लो राजनीतिक घटनाक्रमसँगै डा. यूनुस स्वदेश फर्कंदै छन् ।
टिप्पणीहरू