हसिना सरकारको सयभन्दा बढी मुद्दा खेपेका युनुस सत्ताको बागडोर सम्हाल्दै
बंगलादेशमा प्राध्यापक डाक्टर मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिँदैछ । प्रोफेसर युनुसलाई सरकार प्रमुख बनाउने विद्यार्थी नेताहरुको हिजोको प्रस्तावमा राष्ट्रपति र सेनाप्रमुखले सहमति जनाएका थिए ।
दुई साताअघि ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन फ्रान्सको पेरिस पुगेका उनी स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको क्रममा त्यतै थिए । भोलि ढाका आइपुगेपछि उनको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी थालिएको छ ।
सन् १९४० जुन २८ का दिन बंगालको हाथाजरीमा जन्मिएका युनुस यतिखेर ८४ वर्षका भए । बंगलादेशको अर्थतन्त्र उकास्ने र अन्तर्राष्ट्रिय कूटनीतिमा उनको उल्लेखनीय योगदान छ । उनी उद्यमी, बैंकर, अर्थशास्त्री र नागरिक समाजका अगुवाका रुपमा परिचित छन् ।
युनुसले गाउँकै चटगाउँ कलेजिटियन स्कुलबाट विद्यालय शिक्षा पूरा गरे । ढाका युनिभर्सिटीबाट अर्थशास्त्रमा मास्टर्स पूरा गरेपछि उनले गाउँ फर्केर आफैंले पढेको कलेजमा चार वर्ष प्राध्यापन गरेका थिए ।
थप अध्ययनको निम्ति अमेरिका जाने उनको त्यसबेलाको चाहना आर्थिक अभावका कारण पूरा भएन । तर, पछि भ्यान्डरविल्ट विश्वविद्यालयमा पूर्ण छात्रवृति पाएपछि सन् १९६९ मा अर्थशास्त्रमा पिएचडी सकाए । दुई वर्ष अमेरिकाकै टेनेसी विश्वाविद्यालयमा प्राध्यापनमा संलग्न भए ।
स्वदेश फर्किएर चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख बने । त्यसक्रममा उनले देशको अर्थतन्त्रलाई गति दिन किसानलाई प्राथमिकता दिनुपर्ने विचार राख्न थाले ।
युनुसले गरिब, महिला र कृषक लक्षित ग्रामीण विकास बैंकको अवधारणा ल्याए । लघुवित्त कार्यान्वयनमा ल्याएपछि यसले बंगलादेशको अर्थतन्त्र सुधारमा ठूलो सहयोग पुग्यो । गरिबी हटाउन टेवा पुग्यो । यसबाट ग्रामीण महिलाहरूको अवस्थामा सुधार हुँदै गएपछि सन् २००६ मा नोबेल शान्ति पुरस्कार मिलेको हो ।
आलोचनात्मक टिप्पणी गरेकै कारण हसिना नेतृत्वको सरकारले सन् २००८ मा गरिब र महिलाहरुबाट जबर्जस्ती ऋण उठाएको भन्दै युनुस र उनको बैंकविरुद्ध पहिलो अनुसन्धान थालेको थियो । तर, प्रमाणित हुन सकेन । सन् २०११ मा पनि श्रम कानुन उल्लंघन गरेको, बैंक र दूरसञ्चार कम्पनीमा कार्यरत कर्मचारीको कल्याणकारी कोषबाट रकम हिनामिना गरेको, विदेशी मुद्रा अपचलनलगायत दर्जनौं आरोप लगाइयो । उनले ती सबै आरोपको खण्डन गरिरहे ।
उनको नेतृत्वले बंगलादेशमा रोजगारीका नयाँ ढोका खुल्ने, युवा जनशक्तिको विदेश पलायन रोकिने, जागिरमा भेदभाव नहुने अपेक्षा गरिएको छ । बंगलादेशको इतिहासमा पहिलो पटक उच्च वौद्धिक र व्यवहारिक पात्रले सरकारको नेतृत्व गर्न लागेको टिप्पणी गरिएको छ ।
टिप्पणीहरू