प्राधिकरणमा कुलमानका तीन वर्ष : यस्ता छन् प्रगति विवरण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
२०७८ साल साउन २५ गते कार्यकारी निर्देशक पदमा नियुक्त भएका उनले आज पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भए,गरेका कामको फेहरिस्त सार्वजनिक गरका हुन् । क्याविनेटको निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका लागि कार्यसम्पादन सम्झौता भएको र त्यसैमा रहेर आफूले काम गरेको घिसिङले बताए ।
कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको जानकारी दिँदै उनले गत आर्थिक वर्षको भने मूल्याङ्कनकै क्रममा रहेको सुनाए ।
आफ्नो दोस्रो कार्यकालमा प्राधिकरणको वित्तीय अवस्थामा थप सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिक घरमा बिजुली पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फको संरचना विस्तार एवं सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बढाउने तथा अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखेर काम गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए ।
.
उनले पत्रकार सम्मेलनका क्रममा देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना पनि सुनाएका छन् । आठ वर्षअघि २९ लाख ७० हजार रहेको विद्युत ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको र बिकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको पनि घिसिङले जानकारी दिए ।
प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको पनि उनले स्पष्टीकरण दिएका छन् । ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको उल्लेख गर्दै उनले कूल नाफा ८२ अर्ब पुगेको सुनाए । यो नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै नभएको उनको भनाई छ ।
घिसिङले महालेखाबाटै अडिट गरी आएको हिसाबअनुसार नाफाको विवरण आफूले भनेको पनि जानकारी दिए । 'तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि हामी नाफामा छौं’, उनले भने, ‘कुनै पनि उत्पादनमा यसरी मूल्य घटाउँदा नाफामा जाँदैन । तर प्राधिकरण नाफामा छ ।’
टिप्पणीहरू