उपसभामुखको ‘करुणाभाव’ राज्य व्यवस्था र अख्तियारले जाँच्दै

उपसभामुखको ‘करुणाभाव’ राज्य व्यवस्था र अख्तियारले जाँच्दै
सुन्नुहोस्

उपसभामुख इन्दिरा रानामगरविरुद्ध परेको उजुरीउपर संसदको राज्य व्यवस्था समितिले आवश्यक निर्णय र सिफारिस गर्ने भएको छ । पदीय मर्यादाविपरित सर्वसाधारणलाई अमेरिका पुर्याउने उद्देश्यले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भीसाका निम्ति पत्र लेखेपछि उनको संवैधानिक हैसियतमाथि प्रश्नचिन्ह उठेको छ । 

समिति स्रोतले अमेरिकी भीसाकाण्डको पर्दाफास भएपछि उनी एक दिन पनि पदमा बस्न नसुहाउने बताएको छ । त्यति ठूलो काण्डमा संलग्नता हुँदाहुँदै रास्वपाले रानामगरको विगतको समाज सेवालाई नोबल पुरस्कार विजेताझैँ प्रचार गरेर घटनाक्रम सामसुम पार्न खोजेको भनी अर्थ्याइएको छ ।  

एक जना समिति सदस्य भन्छन्, ‘यतिखेर इन्दिराको ठाउँमा काँग्रेस वा एमालेका उपसभामुख थिए भने रास्वपाले के गर्थ्यो होला ?  सभापति रवि लामिछानेमाथि लागेको दोहोरो नागरिकता तथा राहदानीको आरोप अदालतमा छ । निलम्बित महामन्त्री मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्ले र भारतीयहरुबीच होटलमा भएको गम्भीर छलफलवारे छरपस्ट पारिसकेका छन् । सोही क्रममा इन्दिराले असम्बध्द मानिस अमेरिका लैजान पदीय मर्यादा विपरितको कार्य गरेको प्रमाण सार्वजनिक भइसकेको छ ।’

राज्यव्यवस्था समितिमा परेको रानामगरविरुद्धको उजुरीमाथि आवश्यक निर्णय गरेर छानबिनका लागि सिआइबीमा पठाउने तयारी शुरु भएको बुझिएको छ । पछिल्लो घटनाक्रमबाट रविहरुको ‘जान्नेलाई छान्ने नारामा कैफियत’देखिएको प्रष्ट छ । संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुखमा रास्वपाको छनौट र उनको पछिल्लो व्यवहारबाट राजनीतिमा नयाँ भनिएकाहरुको चालढाल प्रष्ट भएको छ ।

‘यतिखेर इन्दिराको ठाउँमा काँग्रेस वा एमालेका उपसभामुख थिए भने रास्वपाले के गर्थ्यो होला ?

संसद सचिवालय स्रोतका अनुसार विवाद उत्पन्न भएपछि उपसभामुखले अमेरिकाको जस्तै अर्को कार्यक्रम आगामी वर्ष बेलायतमा हुने जानकारी गराएकी थिइन् । त्यसअघि संसदका तत्कालीन महासचिव डा.भरतराज गौतमले हुँदैन भन्दाभन्दै उनले आफैं तम्सिएर अमेरिकी भीसाको निम्ति पत्र लेखेकी थिइन् । दुई हजारभन्दा बढी बालबालिकाको ‘आमा’ बताउँदै आएकी इन्दिराले सन् २०२३ मार्च ६ देखि १७ सम्म न्यूयोर्कमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रममा भाग लिन पाँच जना गैरसांसदको नाम पठाएकी हुन् ।

पाँचै जनाको एकैपटक अन्तरवार्ता मिलाइदिन दूतावासलाई आग्रह गरिएको पत्रमा उपेन्द्र गौतम,सुष्मा लामा,राजेश लामा तामाङ,सुजन घर्तीमगर,धनप्रसाद गुरुङ थिए । विवादमा तानिएपछि उनी र उनको पार्टीले भीसा काण्डबारे खासै उल्लेख नगरी यसअघि इन्दिराले प्राप्त गरेका सम्मानवारे चर्चा गर्दै आएको छ । करुणाभावले गर्न खोजिएको सहयोगलाई उल्टो अर्थ लगाएर आफूलाई विवादमा तान्न खोजेको भन्दै इन्दिराले पनि चित्त दुःखाएकी छन् । अहिले त्यही ‘करुणाभाव’ माथि छानबिन गर्न समितिले अख्तियारलाई औपचारिक रुपमा आग्रह गर्न लागेको बताइन्छ ।
 

टिप्पणीहरू